
दोहा कतार : कतारमा समानान्तर रूपमा क्रियाशील दुई एनआरएनए एनसिसीबीच एकता भएको छ । गत वर्षको जुलाईमा विविध कारण देखाउँदै समानान्तर बनेका एनसिसीबीच गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का अध्यक्ष हेमराज शर्माको रोहबरमा सोमबार राति पद बाँडफाँड सहित एकता भएको हो । एकतापछि एनसिसीको नेतृत्वमा कृष्ण पन्थी रहनेछन् भने अर्का एनसिसीका अध्यक्ष पदम गिरीलाई निवर्तमान अध्यक्षको रूपमा राख्दै आइसिसीको सचिवालयमा पदोन्नति गर्ने सहमति गरिएको छ ।

सोमबार राति एकता हुनु पूर्व कतारमा रहेका दुई वटा एनसिसीले आइसिसीका अध्यक्ष शर्मासँग मुन्तजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा स्वागत, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरे । उक्त कार्यक्रममा गिरीले सभाध्यक्षता गरे भने पन्थीले स्वागत मन्तव्य राखे । निकै शालीन शान्त र अर्थपूर्ण रूपमा रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले खाडीका मुद्दामा आइसिसीले काम गरिरहेको र सरकार सँग पनि समन्वय गरिरहेको बताए । उपस्थित केही व्यक्तिहरूले एनआरएनएका बारेमा आफ्ना विचार राखे । हलमा उपस्थित मध्य सीमित व्यक्तिहरूले मन्तव्य राखेका थिए । मन्तव्य राख्ने वक्ताहरूले एनसिसीमा मिल्नुको विकल्प नभएको विचार राखेका थिए ।

उक्त कार्यक्रमको सभाध्यक्ष गिरीले समापन गरेलगत्तै सहमतिका लागि आइसिसीका अध्यक्ष सहितको टोली थप छलफलका लागि अर्को होटेल पुगेका थिए । निकै लामो छलफल पछि सोमबार राति मङ्गलवार बिहानै सहमतिको खाका तयार पार्दै एकता भएको घोषणा स्वयम अध्यक्ष शर्माले सामाजिक सञ्जालबाट गरेका थिए । दुई एनसिसीबीच एकता हुँदा बाझिने केही पदमा सहमति गरिसकिएको छ । जसमध्ये एकीकृत एनसिसीमा शिव भुजेललाई महासचिव र प्रेम कुमार बस्नेतलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । यसअघि महासचिव रहेका विवेक पुलामी मगरलाई उपाध्यक्ष र कोषाध्यक्ष कवीन्द्र कँडेललाई सचिव पदमा पदोन्नति गर्दै समायोजन गर्ने सहमति भएको महासचिव भुजेलले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

यसअघि अप्रिल १० मा मध्यपूर्व उप–संयोजक करिम बक्स मियाको संयोजकत्वमा सम्पन्न बैठकका निर्णयहरूलाई पनि आधिकारिकता दिँदै एनसीसी कतारले स्वामित्व लिने भएको छ। सदस्यता व्यवस्थापनतर्फ एमआईएस प्रणालीबाट बनेका सदस्यहरूको जिम्मेवारी पदम गिरीलाई र अन्य पोर्टलमार्फत बनेका सदस्यहरूको शुल्कको जिम्मेवारी कृष्ण पन्थीलाई दिइएको छ । एकताको सन्देश समुदायमा प्रवाह गर्न दुवै पक्षका अध्यक्षहरूले अन्तिम पटक संयुक्त हस्ताक्षरसहित सार्वजनिक अपिल जारी गरिएको छ। अन्तिम सहमतिमा भएका सबै बुँदाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । दुई वटा एनसिसीका बाँकी पद तथा व्यक्तिहरूलाई सोही पद अनुरूप एकीकृत एनसिसीमा समेट्ने सहमति भएको छ ।

यो सहमतिसँगै कतारस्थित नेपाली समुदायमा लामो समयदेखि रहेको अन्योल अन्त्य भएको र एनआरएनए थप बलियो बन्ने विश्वास अध्यक्ष पन्थीले व्यक्त गरेका छन् । पन्थीले छिट्टै एक कार्यक्रमको आयोजना गरी नयाँ पूर्ण कार्यसमिति घोषणा गरिने स्पष्ट पारेका छन् । सहमतिका लागि छलफलमा आइसिसीका भूतपूर्व अध्यक्ष आरके शर्मा, उपमहासचिव मोहमद मुक्तदा मुसलमान, सचिव रमेश भट्ट, सह-कोषाध्यक्ष विमल सुबेदी लगायतका व्यक्तिहरू रहेका थिए ।




