२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुदूरपश्चिम श्रमाधान रोजगार मेलाको तयारी पूरा

Nada
सुनिल आउजी
२०८१ जेठ २५ गते २२:१९
Shares
सुदूरपश्चिम श्रमाधान रोजगार मेलाको तयारी पूरा

धनगढी : सुदूरपश्चिममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय मेलाको तयारी पूरा भएको हो । 

ncell

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सघंसस्थांहरुको संयोजनमा आइतबारदेखि कैलालीको धनगढीस्थित ओम प्यालेसमा मेला आयोजना हुन लागेको हो ।

मेलाको विषयमा जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव बसन्त बोहराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । ‘मेलाले रोजगारीका अवसरहरु सिर्जना गर्ने, सीप विकास प्रवद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने । 

त्यस्तै नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए । 

‘वर्षौंदेखि हामी हरेक कुराका लागि अन्य मुलुक र भारतमा भर पर्नुपर्ने अवस्था छ । तर अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पाठकले दुई हजारभन्दा बढीलाई रोजगारी अवसर प्रदान गरिने बताए । श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले मेलाको तयारी पूरा भएको बताए । हालसम्म मेलामा ३५ वटा निजी क्षेत्रका स्टलहरु रहेका छन् । 

मेलाका लागि ३५ स्टलहरु बुक भइसकेको र थप स्टलहरु बुक हुने क्रममा रहेको उनले बताए । मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर