
काठमाडौं : साउदी अरेबियाको ९६औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित साउदी दूतावासले बुधबार साँझ स्वागत समारोह आयोजना गरेको छ ।
सोल्टी होटलमा आयोजित समारोहमा नेपाल सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु, काठमाडौंस्थित बिभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरु, व्यवसायीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिनिख्रले साउदी अरबको राष्ट्रिय दिवसको ऐतिहासिक महत्वसँगै देशले पछिल्लो समय अघि बढाइरहेको आर्थिक तथा सामाजिक रूपान्तरणबारे धारणा राखे ।

साउदी अरबले हरेक वर्ष २३ सेप्टेम्बरमा राष्ट्रिय दिवस मनाउँदै आएको छ । सन् १९३२ मा राजा अब्दुलअजिज बिन अब्दुर्रहमान अल साउदको नेतृत्वमा विभिन्न क्षेत्रको एकीकरण गरी साउदी अरब राज्य स्थापना भएको घटनाको स्मरणमा राष्ट्रिय दिवस मनाइन्छ ।
यस वर्ष साउदी राष्ट्रिय दिवसको मूल सन्देश ‘आवर प्राइड इज इन आवर नेचर’ रहेको छ ।
सम्बोधनका क्रममा राजदूत फहद बिन मोहम्मद बिन मिनिख्रले नेपालको विकास, विपद् व्यवस्थापन र विशेष गरी हालैका प्राकृतिक प्रकोप (बाढी–पहिरो) पीडितहरूका लागि साउदी सरकारका तर्फबाट आवश्यक सहयोगलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा साउदी अरबको विकास यात्रा र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो ।
नेपाल र साउदीबीच श्रम सम्बन्ध छ । ठूलो संख्यामा नेपाली नागरिक रोजगारीका लागि साउदी अरब जाने गरेका छन् ।