
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर क्षेत्रमा प्रहरीले ठुलो परिमाणमा ल्यापटपको डिस्प्ले प्यानलसहित भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ । बरामद सामग्रीको कुल अनुमानित मूल्य १८ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान कृष्णनगर नगरपालिका–१२, हरिदवातर्फ गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा बेवारिसे अवस्थामा २४० थान ल्यापटप डिस्प्ले प्यानल फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको टोलीले बरामद गरेको डिस्प्लेको प्रतिथान अनुमानित मूल्य ७ हजार रुपैयाँका दरले १६ लाख ८० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार घटनास्थलबाट युपी ५५ एडी ५६२१ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
बरामद डिस्प्ले प्यानल र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याइएको थियो । अनुसन्धानपछि बुधबार दिउँसो ३ः४० बजे आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्ति भने सामान र मोटरसाइकल छाडेर फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।