२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सरकारले असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला गर्ने

Nada
२०८३ असोज ७ गते १५:१९
Shares
सरकारले असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला गर्ने

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

ncell

सीप विकास तथा रोजगारी प्रवर्धनका लागि सीप तथा रोजगार मेला राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले बताए ।

मन्त्रालयले सातै प्रदेशलाई समेट्ने गरी सात चरणमा मेला आयोजना गर्ने तयारी उनको भनाइ छ । सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागेको उनले बताए ।

उनकाअनुसार सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने उद्देश्यले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ । सोही नीतिअनुसार मन्त्रालयले मेलामार्फत सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने तथा सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने गरि मेला आयोजना गरेको हो । मेलामा जब प्लेसमेन्ट तथा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान गर्ने व्यवस्था गर्ने उनले बताए ।

मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका विभिन्न १० विधामा जम्मा ६५ वटा स्टलहरु रहने छन् । मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । तीनै तहका सरकार, निजी क्षेत्र एवं विकास साझेदारको सहभागिता र सहकार्यमा कोशी प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम अगाडि बढाएको बताए ।
रोजगारदाता र श्रमिकलाई एउटै प्लेटफर्ममा जोड्ने गरी सरकारले ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको उनले बताए । चालु वर्ष एक लाख व्यक्तिलाई ‘जब म्याचिङ’मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।

मन्त्री यादवले विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित रहेको भएपनि अहिले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले नीतिगत तथा कार्यक्रमगत सुधार अघि बढाइएको उनको भनाइ छ ।

२०७१ सालमा राष्ट्रिय रोजगार नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण हुन नसकेको उनले बताए । सोही कारण आन्तरिक रोजगारीको क्षेत्रमा अपेक्षित काम हुन नसकेको उनको भनाइ छ ।

उनले आन्तरिक रोजगारीमा खासै हुन नसकेको बताए । आन्तरिक रोजगारी सिर्जनाको लागि मन्त्रालयले आवश्यक नीतिगत सुधारका योजना अघि बढाएको उनको भनाइ छ । राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदामा सबै सम्बन्धित मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकेको र अब मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय रोजगार ऐनसम्बन्धी प्रस्ताव पनि सहमतिका लागि मन्त्रिपरिषद्‍मा पठाउने उनले बताए । मन्त्रालयले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर