२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा पहिरो, बाढी र डुबानको जोखिम

Nada
सपना बोहरा
२०८३ असोज ७ गते ०६:२५
Shares
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा पहिरो, बाढी र डुबानको जोखिम

काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । बंगालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अन्डमान सागर र आसपास विकसित भएको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुनसक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको हो । 

ncell

विशेषगरी ९ देखि ११ असोजसम्म बंगालको खाडीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तरक्रिया हुने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा सुरु हुन सक्छ । ‘मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन ९ देखि ११ गतेसम्मका लागि जारी गरिनेछ,’ अर्यालले मध्यान्हसँग भने, ‘हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन । त्यसैले यसको नामकरण भएको छैन र न्यूनचापीय क्षेत्रकै रूपमा अघि बढिरहेको छ ।’ 

मौसमविद्का अनुसार यो प्रणाली न्यूनचापीय क्षेत्रबाट थप विकसित भई गहिरो मौसमी प्रणालीमा परिणत हुनसक्ने र दक्षिण ओडिसा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ पुग्न सक्ने प्रक्षेपण छ । 

नेपालमा बंगालको खाडीबाट आउने मौसमी प्रणाली नयाँ भने होइन । मनसुनका समयमा बंगालको खाडीमा बन्ने न्यूनचापीय क्षेत्र तथा डिप्रेसनले दक्षिण एसियाको ठुलो भूभागमा जलवाष्प बोकेर ल्याउने गर्छ । ‘बंगालको खाडीमा बनेको प्रणाली भारततर्फ कमजोर हुँदै गए पनि त्यसले बोकेको जलवाष्प र वायुमण्डलीय अवस्थाले नेपालमा लामो समयसम्म वर्षा गराउन सक्छ,’ अर्यालले भने । 

महाशाखाका अनुसार यसपटक लुम्बिनी र गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ । कोशी, बागमती र मधेश प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम तथा थोरै स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानमा हिमपातसमेत हुनसक्ने महाशाखाले जनाएको छ ।

मौसमविद् अर्यालका अनुसार मध्य–पूर्वी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र बिस्तारै पश्चिम र उत्तर–पश्चिमतर्फ सर्दै थप सशक्त भएर गहिरो मौसमी प्रणालीमा परिणत हुने देखिएको छ ।

महाशाखाले मौसम प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ । प्रणालीको अवस्था र प्रभावबारे आवश्यकताअनुसार थप सूचना तथा बुलेटिन जारी गरिने महाशाखाको भनाइ छ । पछिल्लो आधिकारिक मौसमसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट तथा सामाजिक सञ्जालबाट सूचना लिनसमेत आग्रह गरिएको छ ।

सतर्क रहन आग्रह

यसअघि परेको वर्षाका कारण माटो भिजेर कमजोर भएकाले आगामी वर्षाले पहाडी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम बढाउनसक्ने महाशाखाले जनाएको छ । पहिरोका कारण प्रमुख राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध हुनसक्ने भएकाले जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ । 

नदी तथा खोलाका तटीय क्षेत्रबाट टाढा रहन, कम उचाइ भएका डुबान सम्भावित क्षेत्र तथा पहिरोको जोखिममा रहेका कमजोर भिरालो जमिन आसपास बसोबास गर्नेले सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न महाशाखाले सुझाव दिएको छ । लामो दूरीको यात्रा वा पदयात्रामा निस्कनुअघि मौसम र सडकको पछिल्लो अवस्था बुझ्न पनि आग्रह गरिएको छ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुनसक्ने भएकाले विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न भनिएको छ ।

बाढीको चेतावनी तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा प्राप्त गर्न जल तथा मौसम विज्ञान विभागको वेबसाइट हेर्न वा विभागको मौसमसम्बन्धी हटलाइन ११५५ मा सम्पर्क गर्न सकिनेछ ।

यसैबीच, बंगालको खाडीमा विकसित वर्षा प्रणालीबाट नेपालमा पर्नसक्ने प्रभावबारे मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकसमेत बसेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार बसेको बैठकमा न्यूनचापीय क्षेत्रका कारण नेपालमा हुन सक्ने वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे छलफल भएको थियो । 

बैठकमा नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले मौसमी प्रणालीको अवस्था र नेपालमा पर्नसक्ने प्रभावबारे जानकारी गराएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबर