
मानिस जन्मन्छ, बाँच्छ र एकदिन यो संसारबाट बिदा लिन्छ । मृत्यु सत्य छ । तर मृत्यु पछि बाँच्नेहरू महान् व्यक्ति हुन् । केही व्यक्तिहरू शरीरले संसार छाडेर गए पनि आफ्ना, विचार, कर्म तथा समाजलाई दिएको योगदानका कारण स्मरणमा बाँचिरहन्छन् । उनीहरूको योगदान विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यपुस्तकमा लेखिन्छन् । स्मारकहरू बन्छन् । उनीहरूको नाममा संघ, संस्था, अस्पताल, राजमार्ग निर्माण हुन्छन् । प्रतिष्ठान खोलिन्छ । उनीहरूको योगदानको अध्ययनले नयाँ पुस्ता प्रेरित हुन्छ । यस कोणबाट हेर्दा जीवन मृत्युपछि पनि नसकिने अस्तित्व रहेको पुष्टि हुन्छ ।
जीवनको मूल्य केवल आपूmले व्यक्तिगत फाइदाका लागि कति उपलब्धि हासिल गरेँ भन्ने होइन, आपूmले अरूलाइ कति दिन सकेँ भन्ने विषयले मापन हुन्छ । कुनै पनि मानिसको मृत्युपछाडि उसको सम्पत्ति, पद, प्रतिष्ठा, वा भौतिक उपलब्धिको स्मरण दीर्घकालीन हुँदैन । पद र पैसा क्षणिक हुन्छन् । उसले समाजका लागि दिएको योगदानका आधारमा समाजले स्मरण गर्दछ । यो जगत्मा कसैले ज्ञान दिएर अमर भए भने कसैले समाजको लागि ज्यान दिएर । कसैले सेवा दिएर योगदान दिएको पाइन्छ भने कसैले नयाँ विचार । यसरी हेर्दा आप्mनो अनुपस्थितिमा समाजमा प्रतिविम्बित रहिरहने कर्म र योगदान नै साँचो स्मरण हो । सुनाम हो ।
अमेरिकी धार्मिक नेता कार्ल डब्ल्यु बएनरले भनेका छन्, ‘मानिसले तिमीले के भन्यौ भन्ने बिर्सन सक्छन्, तर तिमीले उनीहरूलाई कस्तो अनुभूति गरायौ भन्ने कहिल्यै बिर्संदैनन् भनेका थिए ।’ मानिसको मृत्युपश्चात् शरीर माटोमा विलीन हुन्छ । तर उसले जीवनकालमा समाजका लागि गरेको असल कर्म उदाहरण बनेर पुस्तौंपुस्तासम्म रहिरहन्छ । सुनाम त्यो हो, जसले पदमा रहुन्जेल मात्र नभएर उसले गरेको कामले समाज, राष्ट्र र सिंगो देशको भाग्य र भविष्यमा ठुलो योगदान पुर्याएको हुन्छ ।
समाजको स्मरणमा जीवन्त रहने राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति एवं व्यक्तित्वहरू धेरै छन् । राजनीतिको क्षेत्रमा स्मरण गर्न लायक व्यक्तिमध्ये दक्षिण अफ्रिकाका राजनेता नेल्सन मन्डेला, भारतका महात्मा गान्धी, सिंगापुरका लि क्वान युलगायतका राजनेताहरूको आफ्नो देशमा मात्र नभएर विश्व समुदायमा समेत स्मरण भइरहन्छ । समाज नतमस्तक हुन्छ । उनीहरूको बायोग्राफी अध्यय नगर्दा पाठकहरूले ऊर्जा प्राप्त गर्दछन् ।
बेन्जामिन डे«सेलीको भनाइमा, ‘महान् व्यक्तिको साँचो विरासत उसको महान् नामको स्मृति र उसले छाडेको महान् उदाहरण हो, भन्ने छ । डे«सेलीको भनाइलाई आधार मानेर हेर्दा मानिसको सच्चा कर्म भनेको उसले जीवनकालमा समाजलाई दिएको उदाहरणीय कार्य हो । मानिसको जीवनको स्थायी सम्पत्ति पनि सामाजिक स्मरण नै हो । परन्तु मरणपछाडि बाँकी रहने स्मरण भने संयोगले मिल्दैन । त्यो त व्यक्तिले बाँचुन्जेल गरेको सत्कर्मको परिणाम हो ।
त्यसो त हरेक मानिसलाई सामाजिक इज्जत, प्रतिष्ठा, मान सम्मान प्रिय हुन्छ । परन्तु यो कमाइको लागि त्याग, तपस्या, समर्पण, दृष्टिकोण, बलिदान, परोपकारको भावनाजस्ता गुणहरूको आवश्यकता पर्छ । गौतम बुद्ध, राजा जनक, सीता, भृकटीहरूले समाजलाई छाडेको स्मरण होस् कि राजनीतिक क्षेत्रमा देशको इतिहासलाई गर्व गर्नलायक बनाउन सफल राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, भीमसेन थापा, भक्ति थापा, अमरसिंङ थापाहरूको काम होस् । उनीको योगदानलाई आजको पुस्ताले मात्र होइन, भोलिको पुस्ताले समेत स्मरण गर्नेछ । उनीहरूको योगदानबाट पे्ररणा लिनेछ ।
नेपाली समाजको स्मरणमा डेरा जमाएर बस्न सफल व्यक्ति एवं व्यक्तित्वहरूलाई नेपाल आमाले जन्म दिएकी छिन् । प्रजातन्त्रका लागि प्राण त्याग गर्ने सहिदहरू, प्रजातन्त्रका सेनानी विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारीलगायत नेतागणले पनि इतिहासको कालखण्डमा समाज र देशको लागि योगदान दिए । समाजले बिर्सिन नसक्ने काम गरेर गए । समाजमा स्मरणमा रहन सफल भए ।
मानिसले मृत्युलाई जन्मसँगै लिएर आएको हुन्छ । मृत्युबाट कोही पनि उम्कन सक्दैन । तर सामाजिक स्मृतिबाट बाँच्ने बाटो भने हरेक मानिससँग हुन्छ । त्यो बाटो भनेको असल कर्मको बाटो हो । जीवनको मूल्यांकन मानिसले व्यक्तिगत रूपमा के कति कमायो, कुन पदमा छ भन्नेसँग हुँदैन । पद अस्थायी हुन्छ । तर असल काम स्थायी हुन्छ । हाम्रो देशको सन्दर्भमा वर्तमान राजनीतिक अभ्यासलाई हेर्दा उच्च पदले सुनामभन्दा कुनाम कमाएको अवस्था छ । पद र अधिकारसँग भ्रष्ट आचार, लोभ, लालचको विकास भएको देखिन्छ । स्वार्थ र छलछामले काम गरेको देखिन्छ ।
जीवनमा परिश्रम गरेर कमाउनु महानता हो । मिहिनेत गरेर कमाउनुको मजा छुट्टै छ । इज्जत बेग्लै छ । सन्तोष फरक छ । परन्तु अहिले समाजमा धन आर्जनको लागि अनैतिक काम गर्ने, कालोबजारी, तस्करी, ठगी, चोरी, चकारी गरी सम्पति कमाउने क्लेप्टामेनियाँका रोगीहरू बढ्दै गएको देखिन्छ । राजनीति, प्रशासन, व्यापार लगायत क्षेत्रहरू सेवामुखी बन्न सकेका छैनन् । पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरूका बीचमा घात, अन्तरघात, प्रतिघातसँगै राजनीतिक अस्थिरता बढ्दै छ । देशमा पटक–पटक भएका राजनीतिक परिवर्तनहरू संस्थागत हुन नसक्नुका पछाडि पनि राजनीति क्षेत्रमा विकसित लोभ, लालसा तथा आत्मकेन्द्रित आडम्बरले भूमिका खेलेको पाइन्छ ।
त्यसो त सत्यको बाटो सजिलो हुँदैन । परन्तु अन्त्यमा ढिलो भए पनि सत्यको नै जित हुन्छ । लोभ, घमण्ड र स्वार्थले क्षणिक फइदा दिए तापनि मानिसका यस्ता गुणहरू पतनका मार्ग हुन् । सुनामको लागि स्मरण योग्य काम नै गर्नुपर्दछ । त्यसो त इतिहासका कालखण्डहरूमा कुनामका पछाडि जोडिएका नामहरू सुन्ने गरिन्छ । महाभारतको युद्धमा धृतराष्ट्र र दुर्योधनले कुनाम कमाए । उनीहरूबाट समाजले राम्रो काम सिक्ने ठाउँ भएन । अर्जुन र विदुरले सुनाम कमाए । पाण्डवहरूले सत्यको बाटोमा लागेको हुनाले सुनाम कमाउन सफल भए । राम र रावणको बीचमा भएको युद्घमा गलत बाटोमा लागेकाले रावणले बदनाम कमाए । रावणका आप्mनै भाइ विभीषणले सत्यको पक्ष लिएकोले सुनाम कमाए । सत्यमेव जयते भनिन्छ । सत्य तितो हुन्छ । तर अन्त्यमा सत्यको जित हुन्छ । सत्यसँग स्मरण जोडिएको हुन्छ ।
मानिसको जीवन अन्त्य अकाट्य छ । तर उसले बाँचुन्जेल गरेको कर्म, दिएको योगदान र समाजमा छाडेको प्रभावले उसलाइ अमर बनाउँछ । धन, वैभव, पद, प्रतिष्ठा समयक्रमसँगै हराएर जान्छन् । परन्तु असल कर्मले छोएको मन, बाँडेको ज्ञान, दिएको योगदान र प्रेरणा समाजको स्मृतिमा लामो समयसम्म रहिरहन्छन् । यस कोणबाट जीवनलाइ हेर्दा कुनै पनि पद, पैसा वा स्थानको रवाफ खहरेखोलाजस्तो हो । यसको स्थायित्व हुँदैन । जुन चिजको स्थायित्व हुँदैन, त्यसमा बुद्धिमान् मानिसले जोड दिनु हुँदैन । भ्रमित हुनु हुँदैन ।
अन्त्यमा, माहुरी भएर उँड्न सकियो भने पूmलमा गएर बस्न सकिन्छ । सुगन्धित रसपान गर्न सकिन्छ । झिंगा भएर उडियो भने उसको गन्तन्व्य फोहोर हो । ऊ फोहोरमा गएर बस्छ । त्यो फोहोर आपूmले मात्र उपयोग गर्दैन, अरूलाई समेत रोग सार्दछ । एउटा झिँगाबाट सरेको रोगले समाज महामारी फैलिन सक्दछ । त्यसैले हामीले अरूको कुभलो होइन, भलो हुने काम गर्नुपर्दछ । बदनामदेखि डराउनुपर्दछ । बदनामदेखि तर्सनुपर्दछ । सुनाम आर्जन गर्ने बाटोमा लाग्नुपर्दछ । जीवनको सबैभन्दा ठुलो उपलब्धि आप्mनो मरणपछि पनि सम्झन लायक भएर बाँच्नु हो । मृत्युले जीवनको यात्राको अन्त्य गरे तापनि बाँचुन्जेल समाजका लागि गरेका असल कर्मले मानिसलाई अमर बनाउँछ । त्यसैले जीवनमा असल कर्म गरौं ।