
नेपालको खेलकुदसँग जापानको सम्बन्धका पछाडि मीठो संयोग जुरेको छ । नेपालले पहिलोपटक विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा पाइला टेक्दा जापानकै भूमि थियो । सन् १९६४ को टोकियो ओलम्पिकबाट नेपालले विश्वको सर्वोच्च खेलकुदमा डेब्यु गर्दै यात्रा आरम्भ गर्दा नेपाली टोलीमा बक्सिङका चार र म्याराथनका दुई खेलाडी सहभागी थिए । नेपालबाट जाने खेलाडीमा म्याराथन धावक भूपेन्द्र सिलवाल र गङ्गाबहादुर थापा मात्र थिए । बाँकी चार बक्सर हङकङबाट सोझै गएका ब्रिटिस सेनामा कार्यरत नेपाली थिए ।
तत्कालीन खेल अधिकारीहरूले ट्याक जुत्ता किनिदिने आश्वासन दिए पनि दौडिने दिनसम्म सिलवालले जुत्ता पाएका थिएनन् । बाध्य भएर उनी नाङ्गो गोडाले नै दौडिए । तातो पिचका कारण उनको गोडामा अलकत्रा टाँसियो । जापानी महिलाले गोडामा पानी हालिदिएको दृश्यले अलग्गै भावनात्मक सन्देश दिएको थियो । दौडिसकेपछि सियोले त्यो अलकत्रा निकाल्ने क्रममा गोडाको छाला नै उप्किएर रगताम्मे भएको उनले बताएका थिए । उनले पछि भनेका थिए, ‘यदि मैले जुत्ता पाएको भए देशका लागि पदक ल्याउन सक्थेँ ।’
त्यसैगरी जापानसँग म्याराथनको अर्को सम्बन्ध पनि जोडिएको छ । विश्व म्याराथनको आधिकारिक छाता संस्था एम्सको स्थापना भएको चार दशकसम्म नेपाल सदस्य थिएन । नेपालगञ्ज म्याराथनले २०२२ मा पहिलोपटक सदस्यता लिएपछि जापानको ओसाकामा भएको २३औँ एम्स वल्र्ड कंग्रेसमा भाग लिएर नेपालले एम्ससँग औपचारिक सम्बन्ध विस्तार गर्यो । जापानले जाइकामार्फत गरेको विकासको योगदान त छँदै छ ।
जापान विश्व खेलकुदको एक ‘पावर हाउस’ हो । ओलम्पिक र एसियाडजस्ता बृहत् खेलकुद आयोजना गर्ने सामथ्र्य जापानसँग छ । जापानको आइची नागोयामा एसियन गेम्सको उद्घाटन हुँदै छ । २०औँ एसियाली खेलकुदमा एसियाका ४५ देश तथा क्षेत्रका खेलाडीहरू आफ्नो देशको झण्डा बोकेर इतिहास लेख्ने तयारीमा छन् । करिब १७ हजार खेलाडी तथा पदाधिकारीको सहभागिता रहने यसपटकको एसियाडमा ४३ खेलका ४६९ पदकका लागि प्रतिस्पर्धा हुँदै छ ।
तर, यति ठूलो खेल महोत्सवको पूर्वसन्ध्यामा नेपालको खेल क्षेत्रमा भने फरक बहस सुरु भएको छ । खेलाडीहरू जापान पुगिसक्दा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता अन्तिम समयमा नजाने भएका छन् । अझ रोचक कुरा, उनीहरू नजाने विषय जापान उड्ने अन्तिम दिन अर्थात् ३१ भदौमा मात्र सार्वजनिक भयो । यति बृहत् विश्व खेलकुद महोत्सवमा देशको खेलकुद मन्त्रालयको राजनीतिक नेतृत्व र खेलकुदको कार्यकारी नेतृत्व दुवै नजाने निर्णय अन्तिम समयमा सार्वजनिक हुनु आफैँमा रहस्यमय छ ।
यसको वास्तविक कारण निकट भविष्यमा पक्कै उजागर होला । मन्त्री पोखरेलले देशमा आएको बाढीपहिरोका कारण यस्तो समयमा विदेश जान उचित नहुने संकेत गरेको बाहिर आएको छ । सदस्यसचिव मेहताले भने एसियाली खेलकुदमा जाँदा १०औँ राष्ट्रिय खेलकुदको तयारीमा असर पर्ने तर्क गरेका छन् । दुवै तर्क सुन्दा आ–आफ्नो ठाउँमा सही होलान् । तर, जेजस्ता कारण देखाए पनि एसियाडमा अनुपस्थित हुनु पक्कै राम्रो खबर होइन, किनभने एसियाड कुनै सामान्य विदेश भ्रमण होइन ।
एसियाली खेलकुदको जन्म नै खेलमार्फत एसियाली देशहरूबीच एकता, सम्बन्ध, मित्रता र शान्ति बलियो बनाउने उद्देश्यले भएको हो । पहिलो एसियाड सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको थियो । दोस्रो विश्वयुद्धले टुक्र्याएको एसियाली सम्बन्धलाई खेलमार्फत जोड्ने सोचबाट सुरु भएको यो अभियान आज एसियाकै सबैभन्दा ठूलो खेलकुद महोत्सव बनेको छ ।
जापान आफैँले पनि तेस्रोपटक एसियाड आयोजना गर्दै छ । टोकियोले १९५८ र हिरोसिमाले १९९४ मा एसियाड आयोजना गरेका थिए । हिरोसिमाको आयोजनापश्चात् ३२ वर्षपछि जापानमा फेरि एसियाको खेलकुद संसार जम्मा हुँदै छ । एसियाली खेलकुदजस्तो बृहत् महोत्सवमा खेलकुदमन्त्री जानु भनेको केवल उद्घाटन समारोहमा उपस्थित हुनु होइन । सदस्यसचिव जानु भनेको केवल सरकारी खर्चमा विदेश भ्रमण गर्नु पनि होइन । उनीहरू आफ्ना खेलाडीको अभिभावक, प्रतिनिधि र नेतृत्वका रूपमा उपस्थित हुने हो । खेलाडीको खेल हेर्नु, उनीहरूको समस्या बुझ्नु, अन्तर्राष्ट्रिय खेल पदाधिकारीसँग भेट्नु, भविष्यका सम्भावना खोज्नु र नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्नु पनि नेतृत्वको जिम्मेवारी हो । अहिलेको खेलकुद नेतृत्व नजाने निर्णय गरेर यसमा चुकेको छ ।
विशेष गरी सदस्यसचिवको भूमिका अझ संवेदनशील छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भनेको कार्यकारी नेतृत्व हो । सदस्यसचिव पद भनेको ‘शेफ द मिसन’ अर्थात् टोलीको नेतृत्व गर्ने व्यक्ति हो । मैदानमा खेलाडीले पदकका लागि भिडिरहेका बेला उसको नेतृत्व गर्ने व्यक्ति अन्य कामको बहानामा अनुपस्थित रहेको कल्पना गर्दा खेलाडीको मनोविज्ञानमा कस्तो असर पर्ला ?
खेलाडीको मनोविज्ञानलाई हल्का रूपमा लिइनु हुँदैन । पदक जित्ने खेलाडीका लागि कहिलेकाहीँ एउटा हात मिलाइ, एउटा शब्द र एउटा झण्डा नै ठूलो ऊर्जा बन्न सक्छ । नेपालले एसियाडमा लामो यात्रा तय गरेको छ । सन् १९५१ को पहिलो संस्करणदेखि नै नेपालले सहभागिता जनाउँदै आएको छ (यद्यपि १९५४ र १९६२ का संस्करणमा नेपाल सहभागी भएन) । लामो यात्राका क्रममा नेपालले थोरै भए पनि सम्झनलायक इतिहास बनाएको छ ।
सन् १९८६ को सियोल एसियाड नेपाली खेलकुदका लागि ऐतिहासिक रह्यो। तेक्वान्दोका विधान लामाले नेपाललाई पहिलो एसियाली पदक दिलाए । त्यसपछि तेक्वान्दो, बक्सिङ र करातेले नेपालको झण्डा पटक–पटक पदक मञ्चसम्म पुर्याए । सन् १९९८ को बैङ्कक एसियाडमा सबिता राजभण्डारीले रजत पदक जितिन् । दीपक बिष्टले एसियाडका दुई संस्करणमा कास्य पदक जिते । तर हाम्रो कथा पदकसँगै एउटा अर्को कठोर सत्यको कथा पनि हो । नेपालको एसियाड यात्रा लामो भयो, तर तयारीको संस्कृति निरन्तर हुन सकेन । २०१० मा बक्सिङका दीपक महर्जनले कास्य जिते। २०१४ मा बिमला तामाङले इन्चोन (कोरिया) एसियाडमा करातेमा कास्य जितिन् । त्यतिबेला राखेप र एनओसीले अलग–अलग खेलाडी लिएर पुगेका थिए। २०१८ मा प्याराग्लाइडिङको पुरुष टोलीले अनपेक्षित ऐतिहासिक रजत जित्यो ।
त्यसपछि हाङझाउमा २०२२ नाम दिइएको एसियाड जुन २०२३ मा भयो । त्यसमा एरिका गुरुङले करातेमा रजत जितिन् भने महिला कबड्डीले पहिलो सहभागितामै कास्य जितेर नयाँ सम्भावना देखायो । करातेकी एरिका र कबड्डी टोलीप्रति यसपटक पनि सबैको नजर छ ।
यी पदकहरू हेर्दा एउटा कुरा स्पष्ट हुन्छ– नेपालका खेलाडी कमजोर छैनन्, कमजोर त हाम्रो पद्धति र प्रणाली हो ।
हामी खेलाडीलाई ठूला खेल उत्सव आउनु केही महिनाअघि मात्र खोज्छौँ । तयारीका लागि बजेट छुट्याउँछौँ, प्रशिक्षण शिविर सञ्चालन गर्छौँ, आवश्यक ठाने छोटो वैदेशिक प्रशिक्षणमा पनि पठाउँछौँ । तर पदक आएन भने दोष जति खेलाडीलाई दिन्छौँ । एसियाड हरेक चार वर्षमा आउँछ । आज जापानमा खेलिरहेका खेलाडीको तयारी हिजोबाट सुरु भएको होइन । अर्को एसियाडको तयारी त अहिलेदेखि नै सुरु हुनुपर्छ ।
यसै सन्दर्भमा, १०औँ राष्ट्रिय खेलकुदको तयारीलाई देखाएर सदस्यसचिवजस्तो नेतृत्वदायी व्यक्ति एसियाडमा नजानु कति उपयुक्त हो भन्ने प्रश्न उठ्छ । राष्ट्रिय खेलकुदको तयारी महत्वपूर्ण छ, यसमा विवाद छैन । तर एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको टोलीको नेतृत्व गर्नु र अर्को राष्ट्रिय खेलकुदको तयारी गर्नुबीच सन्तुलन खोज्न नसक्ने हो भने समस्या व्यक्तिको इच्छामा होइन, प्रणालीमा छ ।
अर्को महत्वपूर्ण विषय नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बीचको सम्बन्ध हो । नेपाली खेलकुदमा यी दुई संस्थाबीच अधिकार, भूमिका र प्रभावलाई लिएर बेलाबेलामा तिक्तता देखिँदै आएको छ । यो नयाँ विषय होइन । तर हरेक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यही शक्ति संघर्षको छाया खेलाडीमाथि पर्नु हुँदैन । एसियाडमा खेलाडी पठाउने, उनीहरूको तयारी गर्ने, प्रशिक्षण, पूर्वाधार, खेल सामग्री, प्रशिक्षक र राष्ट्रिय खेलकुद प्रणालीको ठूलो जिम्मेवारी राज्य र राष्ट्रिय खेलकुद परिषद्को हो । नेपाल ओलम्पिक कमिटीको भूमिका अन्तर्राष्ट्रिय समन्वय, सहभागिता व्यवस्थापन र ओलम्पिक अभियानसँग सम्बन्धित पक्षमा महत्वपूर्ण हुन्छ ।
दुवै संस्थाले आ–आफ्नो भूमिकालाई सम्मान गर्ने हो भने खेलाडी केन्द्रमा आउँछन्, तर संस्था केन्द्रमा आयो भने खेलाडी फेरि छायामा पर्छन् ।
सरकार र खेलकुद नेतृत्वले एउटा कुरा बुझ्नैपर्छ– खेलाडी असफल हुँदा पदाधिकारी सफल हुँदैनन् र खेलाडी सफल हुँदा मात्र देशको खेलकुद नेतृत्व सफल हुन्छ । मन्त्री वा सदस्यसचिव नजाँदैमा नेपालले पदक जित्दैन भन्ने होइन । पदक त मैदानमा खेलाडीले नै जित्ने हो । तर नेतृत्वको उपस्थिति खेलाडीको मनोबल, अन्तर्राष्ट्रिय सम्बन्ध र संस्थागत उत्तरदायित्वको एउटा महत्त्वपूर्ण हिस्सा हो । तसर्थ यसलाई व्यक्तिको विदेश भ्रमणको विषय मात्र बनाइनु हुँदैन ।
एसियाडको मूल भावना नै ‘एक एसिया’ हो । जापानले यसपटकको खेलकुदलाई ‘एक एसियाको कल्पना’ भन्ने नारासहित आयोजना गर्दै छ । हामीले पनि एउटा कुरा कल्पना गर्नुपर्छ– ‘खेलकुदमा एउटै नेपाल’ । मन्त्री, सदस्यसचिव, ओलम्पिक कमिटी, संघ, प्रशिक्षक, खेलाडी र खेल पत्रकार सबै एउटै दिशामा उभिएको नेपाल । पदका लागि होइन, पदकका लागि । क्रेडिटका लागि होइन, खेलाडीका लागि । शक्ति प्रदर्शनका लागि होइन, नेपाली खेलकुदको भविष्यका लागि ।
खेलाडीहरू जापान जाँदा व्यक्तिगत सपना मात्र लिएर जाँदै छैनन्, उनीहरू नेपालको झण्डा बोकेर जाँदै छन् । उनीहरूलाई अहिले आश्वासन होइन, नेतृत्व चाहिएको छ । सबैभन्दा बढी चाहिएको कुरा एउटै हो– देश तिम्रो साथमा छ । त्यो अनुभूति दिलाउने जिम्मेवारी मैदानमा उत्रिने खेलाडीको मात्र होइन, मैदानबाहिर बसेर नेपाली खेलकुदको नेतृत्व गर्ने सबैको हो । एसियाड सकिएपछि पदकको हिसाब गरौँला । तर त्यसपछि हामीले एउटा हिसाब गर्नैपर्छ– हामीले आफ्ना खेलाडीका लागि कति इमानदारीपूर्वक तयारी गरेका थियौँ ?
(ठकुरी एम्सका सद्भावना दूत तथा नेपालन्ज म्याराथनका संस्थापक अध्यक्ष हुन् ।)