
रौतहट : जिल्लाको परोहा नगरपालिका–८ मोतिपुरस्थित पटेल चौकबाट बुधबार दिउँसो ३ बजे एक थान अवैध कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण (मोतिहारी) जिल्ला सन्तपुर निवासी गम्हीरा दासका ३५ वर्षीय छोरा गोविन्दा दास रहेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा हुन सक्ने संदिग्ध गतिविधि र गैरकानुनी ओसारपसारलाई नियन्त्रण गर्न खटिएको प्रहरी चौकी मोतिपुर तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाको संयुक्त सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा उक्त क्षेत्रमा उच्च सतर्कता अपनाई निगरानी तथा चेकजाँच गर्ने क्रममा शङ्कास्पद अवस्थामा फेला परेका दासको खानतलासी गर्दा उनको साथबाट नलकटुवा पेस्तोल बरामद भएको थियो ।
नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै अवैध हतियार भित्र्याइएको हुनसक्ने भन्दै जिल्लास्थित सुरक्षा निकायले यस घटनालाई गम्भीर रूपमा लिएका छन् । सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्न थप सतर्कता र चेकजाँच कडा पारिएको सुरक्षा अधिकारीहरूले बताए ।
पक्राउ परेका दासलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा आवश्यक थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि नेपाल प्रहरीको हिरासतमा राखिएको छ । उक्त हतियार कुन प्रयोजनका लागि ल्याइएको हो यसको मुख्य स्रोत के हो र यसमा अन्य कुनै आपराधिक समूह वा व्यक्तिको संलग्नता छ/छैन भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।