
नियाग्रा, क्यानडा : क्यानडाको नियाग्रा क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै नियाग्रा क्षेत्रको पहिलो नेपाली संस्था नेप्लिज इन नियाग्राले क्यानडा रेभिन्यु एजेन्सी (सिआरए)को सामुदायिक स्वयंसेवा आयकर कार्यक्रम (सिभिआइटिपी ) अन्तर्गत निःशुल्क कर सेवा शिविर सम्पन्न गरेको छ । उक्त कार्यक्रममा करिब ८० जना सहभागीले लाभ लिएका छन् ।
उक्त शिविरमा पहिलो पटक कर भर्ने व्यक्तिहरू, विद्यार्थी, युवा, नवआगन्तुक तथा कम आय भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइएको थियो । सहभागीहरूले आफ्ना कर सम्बन्धी कागजातहरू ल्याएपछि अनुभवी स्वयंसेवकहरूले बिना शुल्क सम्पूर्ण प्रक्रिया पूरा गरिदिएका थिए ।

संस्थाका अध्यक्ष राज शर्मा र महासचिव विजय लम्सालले यस्ता पहलहरूले समुदायमा आर्थिक सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरूले नेपाली समुदायलाई सहज रूपमा करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्ने गरिएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने प्रतिबद्धता जनाए ।
कार्यक्रम संयोजक निरञ्जन थापाले कार्यक्रमको सफलतामा स्वयंसेवकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै छोटो समयमै धेरैलाई सेवा दिन सफल भएको बताए ।
कार्यक्रममा कर सेवा शिविरका प्रमुख सम्पर्क व्यक्ति डा. भरत शर्माले यस्ता शिविरहरुको आवश्यकता रहेको बताए । 'धेरै नेपाली समुदायका सदस्यहरूलाई कर प्रणालीबारे पूर्ण जानकारी नहुन सक्छ,' डा. शर्माले भने, 'यस्ता निःशुल्क सेवामार्फत हामीले उनीहरूलाई सहयोग गर्दै आर्थिक प्रणालीमा सहज पहुँच बनाउन मद्दत गरिरहेका छौं ।'

कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्याउने कर फाइलर तथा स्वयंसेवकहरू विद्याभुषण कार्की, इन्दिरा रिजाल, सुजन पन्त, उमेश श्रेष्ठ, सन्तोष न्यौपाने, रत्न तिम्सिना, केशव सिटौला, आरसी गिरी , सागर खड्का र ऋचा श्रेष्ठलगायतलाई विशेष धन्यवाद व्यक्त गरिएको थियो । साथै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने संस्थाका अन्य बोर्ड सदस्यहरूलाई पनि हार्दिक आभार व्यक्त गरिएको छ ।

त्यसैगरी, कर सेवा शिविर सञ्चालनका लागि स्थान उपलब्ध गराउनुका साथै स्वयंसेवकहरूलाई आतिथ्यता प्रदान गर्ने बाल्टी इन्डियन रेष्टुरेन्टका सञ्चालक टीकराम निउरेलाई पनि विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।
उक्त कार्यक्रमले नियाग्रा क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई प्रत्यक्ष लाभ पुर्याउँदै भविष्यमा पनि यस्ता सेवामूलक कार्यक्रमहरूको आवश्यकता अझ बढेको नेप्लिज इन नियाग्रका बोर्ड अफ डाइरेक्टर आरसी गिरीले मध्यान्हलाई बताए ।
उक्त शिविरका लागि गैरआवासीय नेपाली संघ क्यानडाले प्राविधिक सहयोग गरेको थियो ।
