२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

मलेसियामा नेपाली समुदायको आयोजनामा ‘एन पेनाङ गोल्डकप’ हुँदै

Nada
तिलोचन गौतम
२०८२ चैत २ गते १२:४४
Shares
मलेसियामा नेपाली समुदायको आयोजनामा ‘एन पेनाङ गोल्डकप’ हुँदै

क्वालालम्पुर : मलेसियाको पेनाङ राज्यमा रहेका नेपाली समुदायको सक्रियतामा ‘एन पेनाङ मलेसिया’ ले हरिराय पर्वको अवसर पारेर ‘एन पेनाङ गोल्ड कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही मार्च २१ र २२ मा पेनाङस्थित स्टेडियम मिनी पर्माताङ रावा मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

ncell

आइतबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार प्रतियोगितामा १६ वटा टोली सहभागी हुनेछन् । प्रारम्भिक चरणका खेलहरू मार्च २१ मा सञ्चालन गरिनेछन् भने सेमिफाइनल र फाइनल खेल मार्च २२ मा हुनेछन् । प्रतियोगिताको फाइनल खेल २२ मार्च बेलुका ८ बजे सुरु हुने आयोजक समितिले जानकारी दिएको छ ।

प्रतियोगितामा एन पेनाङ एफसी, ब्रदर एफसी, मुनाल एफसी, युनाइटेड एफसी, टीआरसी एफसी, आरटी एफसी, सोल्टी गाइज एफसी, हिमालयन एफसी, मनकामना एफसी, डीबीआर एफसी, अटो सिटी एफसी, नोमो बुद्ध एफसी, टेस्को एफसी, एमएम एफसी, लभ लेन एफसी र मकालु एफसी सहभागी हुने भएका छन् ।

खेल तालिका सार्वजनिक कार्यक्रममा बोल्दै फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्टले प्रतियोगिताले मलेसियामा रहेका नेपाली युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गराउने र नेपाली समुदायबीच आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले मलेसियामा फुटबल गतिविधिलाई व्यवस्थित र सशक्त बनाउन एसोसिएसनले गरिरहेको प्रयासबारे जानकारी दिँदै यसको विधान निर्माण तथा संस्थागत विकासका लागि सबैको सहयोग आवश्यक रहेको पनि बताए ।

प्रतियोगितालाई अझ रोचक बनाउन आयोजकले दर्शकका लागि विशेष ‘लक्की ड्र’ कार्यक्रमसमेत राखेको छ । जसअन्तर्गत ‘एन पेनाङ एफसी’ को लोगो अंकित टी–सर्ट उपहार प्रदान गरिनेछ । साथै कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट आउने लोकप्रिय गायिका याङिन दोङ तथा खेलाडी एरोन थापा र ड्रोना थापाको उपस्थितिसमेत रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एनपिएल स्पोर्ट्स मुख्य प्रायोजकका रूपमा रहेको छ भने एमटी एरिना लगायत अन्य संस्थाहरूको समेत सहयोग रहनेछ । कार्यक्रमको ट्राभल पार्टनर एतिवक ट्राभल एण्ड टुर रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले मलेसियन रिंगेट ३३ हजार १ (करिब १२ लाख ४० हजार नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १७ हजार १ रिंगेट (करिब ६ लाख ४० हजार रुपैयाँ) पुरस्कार पाउनेछ । त्यसैगरी प्रतियोगिताको ‘बेस्ट प्लेयर’ लाई आइफोन १७ प्रदान गरिनेछ । बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट स्कोरर र बेस्ट मिडफिल्डरलाई जनही ५०० मलेसियन रिंगेट (करिब १९ हजार नेपाली रुपैयाँ) पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरूलाई हौसला दिन तथा सांगीतिक कार्यक्रमसहितको उक्त प्रतियोगितालाई सफल बनाउन सहभागी हुन आग्रह गरेको छ ।

uae

सम्बन्धित खबर