२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

इरानले कतारको सबै भूभागलाई निशाना बनाएको आरोप, हमाद विमानस्थल आक्रमण प्रयास असफल

Nada
तिलु शर्मा पौडेल
२०८२ फागुन १९ गते २१:२८
Shares
इरानले कतारको सबै भूभागलाई निशाना बनाएको आरोप, हमाद विमानस्थल आक्रमण प्रयास असफल

दोहा, कतार : कतार सरकारले इरानी क्षेप्यास्त्र र ड्रोन हमलाको कडा शब्दमा निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्राचार गरेको छ । इरानको आक्रमणलाई “क्षेत्रीय शान्ति र सुरक्षा माथिको ठुलो खतरा” को रूपमा वर्णन गर्दै कतारले संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेस र अध्यक्ष लाई पत्र पठाएको हो ।

ncell

पत्रमा इरानले कतारको भूभाग र अन्य गल्फ देशहरूमा मिसाइल तथा ड्रोन हमला गरेकोमा कडाइका साथ निन्दा गरिएको जनाइएको छ । कतारले यस किसिमका हमलालाई "क्षेत्रीय स्थिरता भंग गर्ने र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन" मान्ने गरेको स्पष्ट पारिएको छ । कतारले यस घटनालाई आफ्नो सार्वभौमिकता र सुरक्षामा प्रत्यक्ष आक्रमणको रूपमा व्याख्या गर्दै, आफ्नो अधिकार अनुरूप उचित र कानुनी जवाफ दिइने  अधिकार सुरक्षित राखेको उल्लेख गरेको छ ।

इरानले सैन्य संरचना मात्र नभई देशको सम्पूर्ण भूभागलाई नै निशाना बनाउने प्रयास गरेको कतारले आरोप लगाएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले पत्रकार सम्मेलनमा बोल्दै इरानले “सीमित सैन्य क्षेत्रमा मात्र नभई कतारको सबै भूभाग”लाई निशाना बनाएको दाबी गरेका हुन् । 

इरानले दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने प्रयास गरेको पुष्टि कतारले गरेको छ । तर उक्त प्रयास असफल भएको र कुनै क्षति नभएको बताउँदै अन्सारीले सोमबार इरानी लडाकु विमानहरू दोहातर्फ अघि बढिरहेका बेला निष्क्रिय पारी खसालिएको बताए । हाल ती विमानका चालक दलको खोजी भइरहेको सम्मेलनमा जानकारी दिइयो ।

इरानले सम्भावित मिसाइल आक्रमणबारे कतारलाई कुनै पूर्व जानकारी नदिएको दाबी गरेको छ। साथै हाल इरानसँग कुनै प्रकारको  संवाद नभएको पनि स्पष्ट पारेको छ । प्रवक्ताले कतारमाथि दबाब सिर्जना गरेर वार्तामा फर्काउन सकिन्छ कि भन्ने इरानको दाबी गलत रहेको बताए। आक्रमणको जोखिमबारे प्रश्न उठेपछि कतारले आफ्नो अवरोधक (इन्टरसेप्टर) मिसाइल भण्डार पर्याप्त रहेको जनाएको छ। जस्तोसुकै खतराको सामना गर्न आफूहरू तयार रहेको स्पष्ट पारे । 

सुरक्षा अवस्थाका कारण कतारको हवाई क्षेत्र शनिवार देखी अझै बन्द छ। बन्दका कारण करिब ८ हजार ट्रान्जिट यात्रुहरू देशभित्रै विभिन्न स्थानमा अलपत्र परेका छन्। उनीहरूको व्यवस्थापनका लागि सम्बन्धित निकायहरूले काम गरिरहेको पनी सम्मेलनमा जानकारी दिइयो । कतारले देशभित्र मोसादसँग सम्बन्धित कुनै समूह सक्रिय रहेको जानकारी नरहेको जनाएको छ। अमेरिकी सञ्चारकर्मी टकर कार्लसनले कतार र साउदी अरबले मोसादसँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरेको दाबी गरेपछि यसबारे प्रश्न उठेको थियो तर कतारी अधिकारीहरूले त्यस्तो कुनै पुष्टि नभएको बताएका छन् ।

पत्रकार सम्मेलनको अन्त्यमा प्रवक्ता अल–अन्सारीले कतारलाई धम्की दिन नसक्ने स्पष्ट पारे। देश पूर्ण रूपमा तयारी अवस्थामा रहेको र यस्ता आक्रमणहरूलाई कडा रूपमा जवाफ दिइने चेतावनी पनि उनले दिएका छन्। यो घटनाक्रमले कतार र इरान तनाव थप चर्किएको संकेत गरेको छ। यता कतारसँग वायु रक्षा प्रणालीमा प्रयोग हुने क्षेप्यास्त्रहरू सकिएको भन्ने खबरको खण्डन गर्दै देशको सुरक्षाका लागि पर्याप्त भण्डार रहेको कतारले स्पष्ट पारेको छ। ब्लुमबर्गले कतारको ‘पेट्रियट इन्टरसेप्टर’ क्षेप्यास्त्रको मौज्दात रित्तिँदै गएको भनी समाचार प्रकाशित गरेपछि कतारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त दाबीलाई ‘झुटो’ बताएको छ ।

रक्षा मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा इरानको आक्रमण सुरु भएदेखि हालसम्म जम्मा ३ वटा क्रुज मिसाइल, १०१ वटा ब्यालिस्टिक मिसाइल, ३९ वटा ड्रोन र २ वटा लडाकु विमानहरूले आक्रमण गरिए पनी ३ वटा क्रुज मिसाइल, ९८ वटा ब्यालिस्टिक मिसाइल, २४ वटा ड्रोन र २ वटा लडाकु विमानलाई आकाशमै निष्क्रिय पारि खसालिएको जनाइएको छ ।

uae

सम्बन्धित खबर