२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

रोमानियामा मनाइयो सोनाम ल्होछार

Nada
तिलु शर्मा पौडेल
२०८२ माघ १४ गते १७:०१
Shares
रोमानियामा मनाइयो सोनाम ल्होछार

दोहा, कतार : युरोपियन मुलुक रोमानियामा मञ्जुश्री संवत्  २८६२औं ता-ल्हो/घोडा वर्गको अवसरमा आयोजित चौथो संस्करणको बृहत् सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम-२०२६ (सोनाम ल्होछार) सम्पन्न भएको छ । रोमनियाको राजधानी बुच्रेस्टमा अवस्थित डाइमन्ड इभेन्टस-२ को सभा हलमा नेपाल तामाङ घेदुङ रोमनियाका अध्यक्ष फुर्साङ लामा तामाङको सभा अध्यक्षता, खेन्पो लामा मिग्मार ड्राकपो रेपाको प्रमुख आतिथ्यता तथा रोमनियाका धार्मिक मन्त्रालयका संस्कृति निर्देशक मिहाइ मिरोनको विशिष्ट आतिथ्यतामा ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।

ncell

रोमानियामा रहेर नेपालीहरूले स्थापना गरेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली चर्चका प्रतिनिधिहरूसहित रोमानियन नागरिक तथा झन्डै हजारौंको संख्यामा नेपाली नागरिकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथि वक्ताहरूले आफ्नो मन्तव्य राख्ने क्रममा घेदुङले स्थापना भएको छोटो अवधिमा आयोजित विभिन्न कार्यक्रमहरू सफल भएको साथै हरेक सामाजिक कार्यमा अतुलनीय योगदान रहेको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले रोमानियामा स्थापित विभिन्न संघ संस्थाहरूबीचमा भाइचाराको सद्भाव एकताबद्ध रहेको सन्देश दिएको बताएका थिए  ।

घेदुङमा आबद्ध कलाकारहरूसहित रोमानियामा रहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिए । यहाँको चिसो मौसमलाई विभिन्न कलाकारका प्रस्तुतिले तताएको थियो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मिग्मारले प्रवाससम्म नेपाली मौलिकता झल्काएकोमा आयोजकलाई धन्यवाद दिए ।  विधिवत् रूपमा लामा धर्मगुरुहरूद्वारा पूजापाठ गरी दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा संस्थाका प्रवक्ता मानबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । सुरेन्द्र लामा र सुनिता लामाले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष फुर्साङले संस्थाको निमन्त्रणा लाई सहर्ष स्वीकार गरी बृहत् उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै २८६२औं त-ल्हो वर्गको सोनाम ल्होछार सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

uae

सम्बन्धित खबर