२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

भान्छामै विष !

Nada
सपना बोहरा
२०८२ पुष १३ गते ०६:३५
Shares
भान्छामै विष !

काठमाडौं : मौसमको साग भनेर खाएको रायोमा ९९ प्रतिशतसम्म विषादी होला भनेर कल्पनै नगरेको बताउँछिन् अनामनगरकी निर्मला केसी । ‘रायोको साग खाइरहेका छौं भनेको त विषादी पो खाइरहेका रहेछौं,’ केसीले भन्छिन्, ‘विषादी नै विषादी भएको सागले स्वास्थ्यमा कति असर गर्ने होला ?’ आफ्नो भान्छामा प्रायः साग पाक्ने गरेको उनी बताउँछिन् । 

ncell

मंगलबार कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा ९९ दशमलव ८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी गराएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गर्दा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ ।

त्यस्तै, केही महिना पहिले कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा पनि लगभग शतप्रतिशत मात्रामा विषादी भेटिएको थियो । काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो धनियाँमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोग अयोग्य रहेको प्रयोगशालाले जनाएको छ । 

साग र धनियाँमा मात्रै होइन काँक्रोमा पनि अत्यधिक विषादी भेटिएको छ । कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परीक्षणमा काँक्रो र हरियो धनियाँ र साग उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको जनाएको छ । 

सरकारले  अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

विषादी परीक्षण अवशेषको रिर्पोटअनुसार भक्तपुरका एक किसानले ल्याएको धनियाँमा अर्गानोफोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ । त्यसैगरी, नवलपरासीक किसानले बेच्न ल्याएको काँक्रोमा अर्गानोफोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको थियो । 

अर्गानोफोस्फेट र कार्बामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरकारी उपभोग योग्य मानिन्छ । ४५ प्रतिशत वा त्यभन्दा माथि विषादी भेटिएको हकमा उक्त तरकारी नष्ट गर्नुपर्ने प्रावधान छ । तर उच्च मात्रामा प्रयोग गरिएका विषादी तरकारी खुलेआम बेचिरहेका छन् । 

केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत द्रोणबहादुर बुढाथोकी तरकारीमा अन्धाधुन्ध विषदी प्रयोग भइरहेको बताउँछन् । ‘कृषकहरू तरकारीको विषादीको प्रयोगबारे कृषि प्राविधिसँग सल्लाह लिने चलन छैन,’ उनले भने, ‘भेटनरी कहाँ गएर मनपरी विषादी प्रयोग गर्छन् ।’ त्यति मात्रै होइन किसानहरूले विषादी प्रयोग गर्नेबित्तिकै तरकारी बेच्ने गरेको उनले बताए । 

‘तरकारीमा विषादी प्रयोग गरेको ६ घण्टादेखि २४ घण्टासम्म वेटिङ पिरियड हुन्छ,’ उनले भने, ‘तर साँझ विषादी छरेर बिहान तरकारी टिपेर बेच्ने गरेको पाइएको छ ।’

उनका अनुसार नेपालभरि विषादी परीक्षण गर्ने १२ वटा प्रयोगशाला छन् । हाल काठमाडौंको कालिमाटी, झापाको बिर्तामोड, सर्लाही, कास्की, बुटवल, नेपालगन्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुलीमा तरकारीको विषादी परीक्षण हुने गरेको छ । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार २०७१ असार ४ बाट यस्तो परीक्षण हुँदै आएको छ ।

काठमाडौंको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटीमा ल्याइने तरकारीमा प्रायः विषादी प्रयोग गरिएको पाइन्छ । सरकारले कृषिबालीमा प्रयोगका लागि १ सय ६४ वटा प्रकारका विषादी प्रयोग अनुमति दिएको छ । तर यसमध्ये कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्रै जाँच हुने गरेका छन् । यो समूहमा १२ वटा विषादी पर्ने केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । देशभरका खेतबारीमा प्रयोग भइरहेका १ सय ६४ प्रकारका विषादीमध्ये १ सय ५२ प्रकारका विषादीको जाँच नै हुन सकेको अवस्था छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले रातिको समयमा उपत्यकामा भित्राइने तरकारी तथा फलफूलको विशेष निगरानी गरेको बताउँछिन् । ‘राति ११ बजेदेखि बिहान ४ बजेसम्म काभ्रे, कालिमाटी, बल्खु, ग्वार्को, जडीबुटी, सूर्यविनायक, बानेश्वरलगायतका तरकारी बजारहरूमा अनुगमन गरेर नमुना संकलन गर्छौं,’ उनले भनिन्, ‘सङ्कलित सबै नमुनाहरूमा जीवनाशक विषादीको अवशेष स्वीकृत सीमाभित्र छन् वा छैनन् परीक्षण हुन्छ ।’ 

रायोको सागमा विषादी भेटिएका समाचार बाहिरिए पनि विभागमा रिर्पोट आइनसकेको उनले बताइन् । 

ताजा खबर

सम्बन्धित खबर