
काठमाडौं : केही दशकअघिसम्म वन्यजन्तु सिकार कूटनीतिक सम्बन्ध बिस्तारको राम्रो माध्यम थियो । बेलायतकी महारानी एलिजाबेथ द्वितीय र उनका पति प्रिन्स फिलिपले सन् १९६१ मा गरेको नेपालको राजकीय भ्रमणका क्रममा भएको सिकारको अहिले पनि चर्चा हुन्छ । राजा महेन्द्रले उनीहरूलाई चितवनमा सिकार खेल्ने व्यवस्थासहितको आतिथ्यता दिएका थिए । तर समय फेरिएको छ । सिकार होइन, वन्यजन्तु उपहारको कूटनीति सुरु भएको छ ।
अहिले चर्चा छ, रुद्रकली र खगेन्द्रप्रसाद नामका दुई हात्तीको । गत पुस २ गते यी दुईलाई नेपाल सरकारले उपहारस्वरूप कतार पठाएको थियो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो । सोहीअनुरूप ७ वर्षीय रुद्रकली र ६ वर्षको खगेन्द्र कतारलाई उपहार दिइएको थियो । यी दुवै खोरसोर प्रजनन केन्द्रमा जन्मिएका हुन् । रुद्रकली तीन महिनाको हुँदा नै आमा पूजाकलीको मृत्यु भएको थियो । रुद्रकली र खगेन्द्रप्रसाद जंगली हात्ती ‘रोनाल्डो’का सन्तान मानिन्छन् ।
चितवनको हात्तीसारमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली कतारको अलखोर पार्कस्थित चिडियाघरमा रमाइरहेका भिडियोहरू सार्वजनिक भएका छन् । अत्याधुनिक र प्रविधिमैत्री बासस्थानमा हात्तीहरूलाई देख्न सकिन्छ । मरुभूमिको देश कतारमा खगेन्द्र र रुद्रकलीलाई हरियाली जंगलमा सिमसार बनाएर रखिएको छ । ती जोडी हात्तीले त्यहाँ प्रजनन गरेर सन्तान बढाउनेछन् । उनीहरूले चिडियाखाना अवलोकनका लागि पर्यटक मनोरञ्जन दिनेछन्, साथै नेपालको पहिचान पनि । यसले नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर बनाउनेछन् । अलखोर पार्कस्थित चिडियाघरमा हाल ४९ प्रजातिका ३ सय १५ जीवजन्तु रहेका छन् । चिडियाखानाका रुद्रकली र खगेन्द्रप्रसाद नयाँ सदस्य पर्यटकको आकर्षण बन्नेछन् ।
यसअघि पनि नेपालले विभिन्न प्रजातिका वन्यजन्तु अन्य मुलुकलाई उपहारस्वरूप पठाइसकेको छ । कूटनीतिक सम्बन्ध भएका देशहरूबीच आफ्नो राष्ट्रमा नभएका विभिन्न वन्यजन्तु उपहार दिने प्रचलन रहेको छ । त्यसभन्दा पहिले छिमेकी देश चीनलाई मित्रताको चिनोस्वरूप दुई जोडी भालेपोथी एक सिंगे गैंडा नेपाल सरकारले उपहार पठाएको थियो । त्यसमध्ये एउटा भाले गैंडा बिरामी भएर मृत्यु भएको थियो । दुई चरणमा गरी भद्र, रूपसी, सोल्टी र मितिनी नामका गैंडा उपहार दिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगायत देशलाई २६ गैंडा उपहार दिइसकेको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सरकारका तर्फबाट ब्वाँसो, चितुवा, घडियाल गोहीदेखि त्यसको अण्डासम्म उपहार दिएको छ । यसबाहेक नेपालले विभिन्न देशलाई वन्यजन्तुको अखेटोपहार पनि दिएको छ ।
यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैंडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको विभागको तथ्यांकमा छ । सन् १९८५ मा पहिलोपटक छिमेकी मुलुक भारतको दुधवा राष्ट्रिय निकुञ्जका लागि नेपाल सरकारले दुई जोडी गैंडा उपहार दिएको थियो । त्यसपछि मात्र तेस्रो मुलुकमा वन्यजन्तु उपहार दिने चलन बसेको हो । तर विभिन्न देशले हालसम्म नेपाललाई उपहार दिइएका वन्यजन्तुको यकिन तथ्यांक भने छैन ।
नेपाल सरकारले सन् १९९० वाट वन्यजन्तु उपहारका लागि विभिन्न देशहरूमा पठाउने गरेको छ । नेपाल सरकारले दुईवटा घडियाल गोही जर्मनीमा उपहार स्वरूप पठाएको थियो ।
नेपालबाट सबैभन्दा बढी ६ वटा एकसिङे गैंडा लग्ने देश अमेरिका नै हो । सन् १९९० मा अमेरिकाको फेर्टवर्ज जुओलोजिकल एसोसिएसनलाई फेरि भाले र पोथी दुई बच्चा गैंडा थप दिइएको थियो । जसअनुसार सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई नेपालका तर्फबाट दुई गैंडा उपहार दिइएको थियो । त्यही दिन अमेरिकाकै नेसनल जुओलोजिकल पार्कका लागि थप दुईवटा गैंडा उपहार दिइएको थियो ।
त्यस्तै, सन् १९९० जनवरी १७ मा म्युनिख जु जर्मनीका लागि संरक्षण शिक्षाका लागि भनेर एक गैंडा उपहार दिइएको थियो । सोही वर्ष सिंगापुरलाई पनि एक जोडी गैंडा उपहार पठाइएको थियो । त्यसपछि सन् १९९३ मा विलहेल्मा जु जर्मनीका लागि थप एक पोथी गैंडा उपहार दिइएको थियो । त्यही वर्ष मिरपुर नेसनल जु ढाका बंगलादेशलाई दुई गैंडा उपहार दिइएको थियो ।
नेपाल सरकारका तर्फबाट सन् १९९८ मा जुओलोजिकल सोसाइटी अफ लन्डनका लागि दुईवटा पोथी गैंडा उपहार दिइएको थियो । सन् २००२ मा तामा जुओलोजिकल पार्क जापानलाई एक जोडी गैंडा उपहार दिइएको थियो । सन् २००६ फेबु्रअरीमा अस्ट्रियाको ‘भियना जु’का लागि दुई गैंडा उपहार पठाइएको थियो ।
यीबाहेक सन् १९९२ मा जापानलाई एउटा हिमाली ब्वाँसो उपहार दिइएको थियो । जर्मनीलाई सन् १९९० मा दुईवटा घडियाल गोही, सन् १९९४ र ९५ मा गरी जापानलाई ६० घडियाल र ६० मगर गोहीका अण्डा र सन् १९८७ मा एउटा घडियाल गोही उपहार पठाइएको थियो । त्यस्तै, सन् २००० मा फ्रान्सलाई ६ वटा घडियाल गोही र भारतलाई चितुवा उपहार दिइएको थियो । सन् २००४ मा भुटानलाई दुई वटा घडियाल गोही उपहार दिइएको थियो । सन् १९९८ मा साउदी अरेबियालाई एउटा पाटेबाघ, एउटा चितुवा, गौरी गाई एउटा जरायो, एउटा काठेभालु र एउटा खरमजुर नेपालले उपहार दिएको थियो ।
नेपालले वन्यजन्तु उपहार दिने मात्र नभएर विदेशबाट लिने पनि गरेको छ । २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । ६१ वटालाई तालिम दिइएको केन्द्रले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ । यसरी नै वन्यजन्तुहरू उपहारका रूपमा लिनेदिने गरिन्छ ।
यसरी उपहार दिइएका वन्यजन्तुको अभिलेखीकरण गर्न थप खोजी भइरहेको विभागले जनाएको छ । वन्यजन्तु उपहार दिने चलनले दुई देशबीचको कूटनीतिक थप प्रगाढ बनाउन वन्यजन्तु उपहार दिइँदै आएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक बेदकुमार ढकाल बताउँछन् । हात्ती दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)अनुसार ओसारपसारका लागि सम्झौता र साइटिस अनुमतिको प्रक्रिया पूरा गरेर उपहार पठाउने गरेको उनले बताए । ‘यसले दीर्घकालीन रूपमा दुई देशको सम्बन्ध सुमधर राख्न सघाउनेछ,’ उनले भने, ‘यो परम्परागत अभ्यास पहिलेदेखि नै रहिआएको छ ।’