
काठमाडौं : लामो समयसम्म विवादित रहेको ‘भिजिट भिसा’ प्रकरणमाथिको अनुसन्धानले तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)को पछिल्लो अनुसन्धानले देखाएअनुसार विभिन्न ट्राभल एजेन्सीमार्फत भिजिट भिसामा विदेश गएका यात्रुहरूको खाली हुने टिकट एउटै प्यासेन्जरका नाममा रेकर्ड राखेर दुईवटा नम्बरको टिकट राखिएको समेत देखाएको छ ।
अख्तियारले अनुसन्धान प्रक्रियामा सक्रियता देखाएसँगै नयाँ–नयाँ रहस्य खुल्दै छन् । यसअन्तर्गत नै विभिन्न ट्राभल एजेन्सीमार्फत भिजिट भिसामा विदेश गएका यात्रुहरूको खाली हुने टिकट एउटै प्यासेन्जरका नाममा रेकर्ड राखेर दुईवटा नम्बरको टिकट राखिएको पाइएको हो ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारी भन्छन्, ‘यस्तो किसिमको टिकट (खाली हुने टिकट) हुँदाहुँदै अध्यागमन अधिकृतले विदेश प्रस्थानको अनुमति दिएको देखिन्छ ।’ उनका अनुसार ट्रान्सकिप्सन गर्ने निकाय तथा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संलग्न कर्मचारीहरूको बदनियत देखिएकाले छुट्टै अनुसन्धान गर्नुपरेको हो ।
नेपालको विमानस्थल प्रयोग गरी तेस्रो देश जाने भारतीय नागरिकहरूले भारतीय दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने व्यवस्था राखिएको थियो । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भारतीय नागरिकहरूलाई समेत बदनियतपूर्वक सेटिङ गरी नो अब्जेक्सन सर्टिफिकेटबिना भिजिट भिसामा पठाएको आयोगले जनाएको छ । त्यसबाट तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईलगायत अध्यागमन कार्यालयका कर्मचारीहरूले ठुलै रकम असुली गरेको आयोगको आरोप छ ।
अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालोसूचीमा रहेका मानिसले समेत प्रस्थान अनुमति दिएर विदेश यात्रा गरेको पाइएको आयोगले जनाएको छ ।
‘वर्किङ भिसामा लिएका नेपाली नागरिकहरू पनि भिजिट भिसामा विदेश गएको देखिएको छ,’ अधिकारीले भने, ‘त्यस्ता नेपाली नागरिकहरूलाई भिजिट भिसामा विदेश पठाउँदा भिजिट भिसामा लिने रकमभन्दा बढी रकमको चलखेल गरी विदेश पठाएका छन् ।’
मोबाइल नम्बरले खोल्यो अपराधको जालो
काठमाडौंको सामाखुशीमा सञ्चालित नवदुर्गा गेस्ट हाउस बर्दियाकी होटल सञ्चालिका लिला तिमिल्सेनाको मोबाइल नम्बर राखी १ सय ४९ जनासम्मको राहदानी बनाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
भट्टराईको साथबाट प्राप्त डायरी तथा नेपाल टेलिकमबाट प्राप्त भएको कल रेकर्ड डाटाको विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको छ ।
भट्टराईको तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने भन्दै बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरूको संलग्नता सम्वन्धमा पनि अनुसन्धान भइरहेका अख्तियारले जनाएको छ ।
अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमसमेत सजाय हुन माग दाबी गरिएको सहायक प्रवक्ता अधिकारीले बताए ।
विमानस्थलको प्रमुख अध्यागमन अधिकृतका रूपमा तीर्थराज भट्टराईले २०८१ साल असोज ६ गतेदेखि २०८२ जेठ ७ गतेसम्म कार्यकाल सम्मालेका थिए । त्यही क्रममा उनी भिजिट भिसा प्रकरणमा मुछिएपछि गृह मन्त्रालयमा तानिएका थिए ।
भिजिट भिसा प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
शुक्रबार विशेष अदालते उनलाई २५ लाख धरौटीबराबरको बैंक जमानत लिएर तारेखमा राख्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले धरौटीको आदेश जारी गरेको हो । गत मंसिर २५ गते अध्यागमन तत्कालीन प्रमुख भट्टराईसमेत सात जनासहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको थियो ।
डेढ लाख बढीले लिएका थिए भिसा
१ लाख ५३ हजार ९ सय ६४ जनालाई भिजिट भिसामार्फत विभिन्न देशहरूमा पठाएको आयोगले जनाएको छ । सो प्रकरणमा अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मुख्य दोषी ठहर गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान अध्यागमन कार्यालयको विवरणअनुसार ४२ हजार ३ सय ५७ जना श्रमका हिसाबले जोखिमपूर्ण देशहरूमा, २३ हजार ३ सय ४९ जना यूएई, ७ हजार १ सय ६१ जना ओमन, २ हजार ७ सय १९ जनालाई कतारमा भिजिट भिसामार्फत पठाइएको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएअनुसार ३३ हजार २ सय २९ जना व्यक्तिमध्ये १६ हजार ७ सय ६९ जना महिला छन् । भिजिट भिसामा विदेश गएको लामो अवधि पुग्दा पनि उनीहरू हालसम्म स्वदेश नफर्किएको आयोगले जनाएको छ ।
‘उनीहरू कहाँ कस्तो अवस्थामा छन् ? कसरी गए ? कोमार्फत गए ? भिजिटमा गएर हालसम्म किन फर्किएनन् ? लगायतको विषयमा समेत आयोगले अनुसन्धान गर्यो,’ उनले भने ।