२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

रौतहटमा मनाइयो उद्योग दिवस : औद्योगिक वातावरण सुधारमा जोड

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर ९ गते १२:०८
Shares
रौतहटमा मनाइयो उद्योग दिवस : औद्योगिक वातावरण सुधारमा जोड

रौतहट : रौतहटको गौरस्थित घरेलु तथा साना उद्योग कार्यालयले यस वर्षको ११औं उद्योग दिवस 'औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार' भन्ने नाराका साथ मनाएको छ । जिल्ला सदरमुकाम गौरमा मंगलबार आयोजित कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रमा सक्रिय स्थानीय उद्योगी–उद्यमीको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष रविन्द्रनाथ गोपाली रहेका थिए । सहभागीहरूले उद्योग तथा व्यापार प्रवर्धन, लगानीमैत्री नीतिको आवश्यकता, कच्चा पदार्थको अभाव र साना–मझौला उद्योगका चुनौती जस्ता विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । उद्योग अधिकृत रिंकी जयसवालका अनुसार जिल्लामा उत्पादनमुखी उद्योग स्थापना तथा विस्तारका लागि प्रोत्साहन र स्पष्ट नीति–समर्थन आवश्यक रहेको आवाज व्यापक रूपमा उठेको थियो ।

प्रमुख अतिथि गोपालीले औद्योगिक विकासबिना देशको आर्थिक समृद्धि सम्भव नहुने बताउँदै उद्योगी–उद्यमीका समस्या समाधानमा संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए । उनले स्थानीय सरकार र सम्बन्धित निकायबीच सहकार्य बढाएर लगानीको वातावरण सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला न्यायाधिवक्ता मोहम्मद मुन्नाले औद्योगिक क्षेत्रमा कानुनी स्पष्टता र नियमनको पालना अत्यावश्यक रहेको बताएका थिए । उनले व्यवसाय दर्ता, कर भुक्तानी र श्रम कानुनको पालना उद्योगी स्वयंले जिम्मेवारीपूर्वक गर्नुपर्ने उल्लेख गर्दै सरकारी संयन्त्रले चाहिने कानुनी सहयोग उपलब्ध गराउने बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरूले आगामी दिनमा साना उद्योगका लागि प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि तालिम र बजार पहुँच विस्तारमा सहयोग गर्ने योजनाको जानकारी दिए ।

उद्योग अधिकृत जयसवालका अनुसार कार्यक्रमले जिल्लाका उद्योगी–उद्यमीलाई एउटै मञ्चमा ल्याई औद्योगिक समस्या, सम्भावना र सुधारका एजेन्डामा गहन छलफल गर्ने अवसर दिएको छ । उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय औद्योगिक क्षेत्रमा सकारात्मक ऊर्जा र सहकार्यको वातावरण निर्माण गर्छ ।

ADV

सम्बन्धित खबर