
रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकालाई जेनजी समूहले १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । मंगलबार जेनजी समूहले गाउँपालिकाभित्र रहेका विभिन्न समस्याहरूको समाधानको मागसहित १६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
परिवर्तन गाउँपालिका जेनजी समूह संयोजक चुडामणि केसी र जेनजी प्रतिनिधि खुम रिजालको नेतृत्वमा करिब २२ जनाको टोली पुतलाचौरस्थित गाउँपालिका कार्यालय पुगेको थियो । गाउँपालिका अध्यक्षको कार्यकक्षमै अध्यक्ष सुकबहादुर बुढा मगर, उपाध्यक्ष कलादेवी खत्रेनी, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी र प्रवक्ता हरिप्रसाद बुढा मगरको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा गाउँपालिकाको स्वामित्वमा रहेका सम्पूर्ण जग्गा तथा भवन नामसारी गरी सार्वजनिकिकरण गर्नुपर्ने, गाउँपालिकामा रहेका सरकारी सवारी साधनको विवरण सार्वजनिक गर्नुपर्ने, सामुदायिक विद्यालयमा लिइने रजिस्ट्रेशन शुल्क तथा चारित्रिक प्रमाणपत्र शुल्क नियमन गरी चर्को शुल्क बन्द गर्नुपर्ने माग राखिएको छ ।
त्यसैगरी गाउँपालिकाबाट सञ्चालित योजनाहरू टेन्डर प्रक्रिया मार्फत पारदर्शी, प्रतिस्पर्धी र मितव्ययी ढंगले सञ्चालन गर्नुपर्ने, गाउँपालिकाबाट गठित खेलकुद विकास समिति र युवा सञ्जाल खारेज गरी सम्पूर्ण युवाको सहभागितामा पुनर्गठन गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत वालविकास शिक्षक, कार्यालय सहयोगी तथा विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको तलब–सुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
शिक्षा तथा मानव संशाधन विकास केन्द्रद्वारा जारी प्रधानाध्यापक नियुक्तिसम्बन्धी पत्र लागू गर्नुपर्ने, प्रदेश लोकसेवा आयोगद्वारा तोकिएको दरबन्दी अनुसार कर्मचारी माग गरी स्वास्थ्यकर्मीलगायतलाई स्वास्थ्य संस्थामा फिर्ता गर्नुपर्ने, युवा स्वरोजगार कार्यक्रमअन्तर्गत वितरण गरिएको सापटी–अनुदानको सर्वपक्षीय अनुगमन गरी अवस्था सार्वजनिक गर्नुपर्ने माग समेटिएको छ ।
नगर प्रहरी गठन र यसको प्रभावबारे स्पष्ट जानकारी दिनुपर्ने, कृषि उत्पादनको बजार सुनिश्चितता तथा न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने, अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउनुपर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउँदै त्रैमासिक रूपमा निरन्तर सञ्चालन गर्नुपर्ने माग पनि उठाइएको छ ।
मा.वि. कोल्वोट नाफेसम्बन्धी आर्थिक अनियमिततामा प्रश्न उठिरहे पनि गाउँपालिका मौन बसेको आरोप गर्दै सर्वपक्षीय छानबिन समिति गठन गर्नुपर्ने, गाउँपालिकाबाट हुने शिक्षक नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने र भत्ता प्रक्रियालाई बैंकिङ प्रणालीमा जोडेर आर्थिक अनियमितता रोक्नुपर्ने, शिक्षा, स्वास्थ्य, प्रशासनलगायतका कार्यालयमा देखिएका अनियमितताहरू तत्काल सम्बोधन गर्नुपर्ने मागहरू पनि ज्ञापनपत्रमा समेटिएका छन् ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले जेनजी समूहले उठाएका मागहरू जायज रहेको टिप्पणी गरे । उनले भने, ‘तपाईंहरूले उठाएको मुद्दा जायज छ । तपाईंहरूको माग मंसिर २१ गतेसम्मको डेटलाइनमा छ, यो अवधिभित्र अफिसियल रूपमा भहभचअष्कभ गर्छौं र तपाईंहरूलाई वार्तामा बोलाउँछौं ।’ अध्यक्षले कुनै पार्टीबाट हाइज्याक नभई निष्पक्ष रूपमा अघि बढ्न आग्रह पनि गरे ।