
लहान : विवाह पञ्चमीको अवसरमा सिरहामा परम्परागत गोरुदौड प्रतियोगिता सम्पन्न भएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित इटहर्वा बलान नदीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्साहपूर्वक गोरुदौड प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सिराहा र सप्तरीका दर्जनौँ प्रतियोगीहरू आफ्ना गोरु–बैलगाडीसहित सहभागी भएका थिए ।
नेपाली कांग्रेसका नेता सूर्य नारायण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव विशिष्ट अतिथि थिए । त्यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय महेश्वरीका इन्चार्जसहितको सुरक्षाटोली पनि उपस्थित थियो ।
प्रतियोगितामा सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेलहीका विजय यादवको गोरु (बैल) प्रथम भएको छ । सप्तरीकै बलान बिहुल वडा नं.२ दिघियाका राम नारायण यादवको गोरु दोस्रो र सप्तरी बोदेबर्साईनका महेन्द्र यादवको गोरु तेस्रो भएको छ । प्रथम हुनेलाई २ तोला चाँदी, १ थान बाल्टी, १ बोरा खली, २ थान घुँघरू र गोरु धनीलाई गम्छाले सम्मानित गरिएको आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुनेलाई १ तोला चाँदी, १ थान बाल्टी, १ बोरा खली, २ थान घुँघरू र गम्छा, तथा तेस्रो पुरस्कार स्वरूप १ थान बाल्टी, १ बोरा खली, २ थान घुँघरू र गम्छाले सम्मान गरिएको आयोजकले जनाएको छ ।