
रौतहट : रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै परिवारका सदस्यहरूले हत्या गरेको घटना बाहिरिएको छ । भुसाहा निवासी शेख आदिलकी पत्नी तरीमा खातुनको सोमबार राति हत्या गरी घरमै भुस राख्ने स्थानमा खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली घटनास्थल पुगेको थियो । प्रहरी उपरीक्षक रविन कार्कीले खातुनको शव पुरिएको अवस्थामा भेटिएको पुष्टि गरेका छन् । मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्यहरू फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेहरूले मृतककी डेढ वर्षीया छोरी मोहम्मद आरिफलाई समेत साथमा लगेका छन्, र उनीहरूको खोजी तीव्र पारिएको छ ।
मृतक खातुनको माइती घर गुजरा नगरपालिका–७ पल्टुवामा पर्दछ । वृन्दावन–९ का वडाध्यक्ष प्रवेज आलमका अनुसार गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्धमा रहेको अवस्थामा भेटिएकी थिइन् । त्यसपछि दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो । मृतकका बुबा ताज मोहम्मदका अनुसार दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको थियो ।
हत्या हुनुअघिको रात खातुनका भाइ शेख आस मोहम्मद(जसको ससुराली दिदीकै घरमा पर्छ) दिदीको घरमा रहेका थिए । उनका बुबा ताज मोहम्मदका अनुसार सोमबार राति आसले दिदीमाथि हिंसात्मक व्यवहार भइरहेको देखेका थिए । विरोध गर्न खोज्दा परिवारका सदस्यहरूले ‘हल्ला गरे तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि आस मोहम्मद घरबाट भागेका थिए । भाग्दै गर्दा दिदीमाथि भएको घटनाको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको र त्यसकै आधारमा घटना बाहिर आएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान र घटनास्थलको मुचुल्काअनुसार खातुनको दाहिने खुट्टामा चोट लागेको छ भने टाउकोमा हतियार प्रयोग भएको चोट देखिएको छ ।
प्रहरीले घटनास्थलबाट एक थान चक्कु समेत बरामद गरेको छ । मृतक खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनामा संलग्न फरारको खोजी तीव्र पार्नुका साथै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।