
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ६४७ दशमलव ४४ अंकमा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अङ्कले बढेर ४५६ दशमलव १३ अंकमा पुगेको छ । नेप्से परिसुचकसँगै आज कारोबार रकमसमेत बढेको छ ।
कूल ३३० कम्पनीको एक करोड ४२ लाख चार हजार ३६२ कित्ता शेयर रु सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु २४ करोड ८१ लाख ५१ हजार ५४६ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । आज झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै सागर डिस्टिलरी लिमिटेड, बन्दीपुर केवलकार, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रोटेक इन्ड्रष्टी लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । आजको कारोबारमा मविलुङ इनर्जी लिमिटेडको लगानीकर्ताले चार दशमलव ४४ प्रतिशतले गुमाए ।