
काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले प्राविधिक व्यावसायिक शिक्षा र तालिम शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) कार्यक्रम अन्तर्गत प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई औपचारिक शिक्षामा रूपान्तरण गर्न जोड दिँदै प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन(कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम अन्तर्गत शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आईल्याव)सँग सम्बन्धित रहेर गोकर्णेश्वरले विद्युतीय सवारी मर्मत सम्भारको लागि छोटोे अवधिको तीन महिने तालिम प्रदान गर्ने भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपालमा विद्युतीय सवारीहरूको प्रयोग बढ्दै गएको र अहिलेको समयसामयिक परिवेशमा विद्युतीय सवारीहरूको मर्मत सम्भारका लागि नेपालमै दक्ष जनशक्ति आवश्यक भएकोले यो तालिम सञ्चालन गर्दै औपचारिक रूपमा प्रविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिन लागिएको बताए ।
‘हाम्रा स्थानीय युवाहरु बेरोजगारीको समस्या झेलिरहेका छन्, उनीहरूलाई तालिम र सीप प्रदान गरेर स्वरोजगार र उद्यमशील बनाउन सकिन्छ, यस विषयमा स्थानीय युवाहरू पनि सकरात्मक छन्, हामीले पहल गर्दा समाज र देशले राम्रो लाभ हासिल गर्छ, यो अहिलेको अवस्था पनि हो, नगरपालिकाका १८ देखि ४० वर्षसम्मका बेरोजगार स्थानीयहरूलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्ने र यसका लागि प्रक्रिया अगाडि बढेको छ, क्रमिक रुपमा ओैपचारिकता दिनेछौं,’ उनले भने ।
काठमाडौं विश्वविद्यालयले समन्वय गरेको शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) २०२५ मा मधेस प्रदेश बाहेक हरेक प्रदेशमा एक एक वटा समूह छन् भने बागमती प्रदेशभित्र ललितपुरमा एउटा र काठमाडौंमा एउटा दुई वटा समूह छन् ।
शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) अन्तर्गत हरेक समूहले फरकफरक क्षेत्रमा प्राविधिक तथा व्यवसायिक कार्यक्रमहरु गरिरहेका छन् । सबै समूहमध्ये गोकर्णेश्वरले अनौपचारिक रुपमा भइरहेको प्राविधिक, व्यवसायिक शिक्षा र तालिमलाई औपचारिक शैक्षिक कार्यक्रमको रूपमा विकास गर्दै जाने गरि कार्ययोजना तयार गरेको काठमाडौं विश्वविद्यालयका पूर्वडिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले जानकारी गराए ।
प्राविधिक व्यवसायिक शिक्षा र तालिमका लागि गोकर्णेश्वर नगरपालिकाको पहलमा बागमती प्रदेश प्राविधिक व्यवसायिक शिक्षा र तालिमसहित संघीय तहको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसंग समन्वयमा कार्यक्रमहरू सञ्चालन हुने उनले बताए ।
आइल्याव अन्तर्गत गोकर्णेश्वर नगरपालिकाले विद्युतीय सवारी मर्मतमा स्थानीयहरूको रुचि कस्तो छ भनेर सर्वेक्षण समेत गर्ने भएको जानकारी गराइएको छ ।
प्रविधिक व्यवसायिक शिक्षा अन्तर्गत तीन महिनाको विद्युतीय सवारी मर्मत तथा सम्भार तालिम सामान्य भएकोले यसलाई दीर्घकालीन बनाउन र दुई वर्षसम्मको अवधिको पाठ्यक्रम अनुसारको ओपचारिक शिक्षामा जोड्न सर्वेक्षण गर्न लागिएको जनाइएको छ । बागमती प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषदका प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले स्थानीय र प्रदेश तहको समन्वय अनौपचारिक प्राविधिक व्यवसायिक तालिमलाई औपचारिक शिक्षाका रूपमा विकास गर्ने प्रयास यो नेपालमा नै पहिलो हो भएको बताए ।
नेपालमा व्याप्त बेरोजगारी समस्या न्युनिकरण गर्दै जानका लागि यो प्रक्रिया महत्त्वपूर्ण भएको आइल्याव काठमाडौंका संयोजक रमेश दुलालले जानकारी गराए ।
निजी क्षेत्रकातर्फबाट नेपाल उद्योग परिसंघले विद्युतीय सवारी मर्मतको क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्तिलाई रोजगार दिलाउनका लागि समन्वय र सहकार्यको भूमिका निर्वाह गर्दै शिक्षालाई उद्योग र उद्यमशीलतासंग जोड्न प्रयत्न गर्ने उद्योग परिसंघका सीप निर्देशक प्रयाशा केसीले जानकारी गराए । यसका लागि बागमती प्रदेश, गोकर्णेश्वर नगरपालिका र उद्योग परिसंघबीच त्रिपक्षीय सम्झौता भएको बताए ।
विद्युतीय सवारीको मर्मतका लागि उद्योग र बजारको माग अनुरुप दक्ष जनशक्ति विकास गरी रोजगारमा जोड्न उद्योग परिसंघले भूमिका खेल्ने जानकारी गराइएको छ ।