
काठमाडौं : इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण हवाइ क्षेत्र प्रभावित हुँदा नेपालबाट आज कतार जाने कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।
आज बिहान १० बजे एउटा र ११ बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।
उनले भने, ‘ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँका कारण कतार एयरलाइन्सका दुईवटा वाइडबडी जहाज उडेका छैनन् । अहिले नेपालमै रोकिएका छन् । राति २ बजेसम्म उड्न सक्ने खबर छ । ज्वालामुखी विस्फोटको प्रभाव नेपालको अन्य हवाई उडानमा परेको छैन ।’
यसैगरी उक्त ज्वालामुखी विस्फोटका कारण कोरिया एयरलाइन्सको जहाज पनि आज नेपाल आउन नसकेको र भोलि बुधबार साँझ मात्रै नेपाल आउने खबर प्राप्त भएको महाप्रबन्धक पाण्डेले बताए ।
कतार एयरलाइन्सको काठमाडौं–दोहा एवं दोहा–काठमाडौंको उडान तालिकामा असर पर्दा सयौँ यात्रुहरू मारमा परेका छन् । हाल सयौँ यात्रुहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रुकक्षमा रहेका छन् ।