
काठमाडौं : पार्टीका प्रभावशाली नेताहरूको विकल्प खोज्दै पलायन हुँदा वैकल्पिक राजनीतिक धारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमजोर बन्दै गएको छ । पुराना दललाई पाखा लगाउने योजनासहित स्थापित रास्वपाका केन्द्रीयदेखि जिल्ला तहका नेताहरूले धमाधम पार्टी छाड्ने अभियान नै चलाएका छन् ।
रास्वपा छाडेका नेताहरू विकल्पको खोजिमा लागेका छन् । विघटित प्रतिनिधि सभामा प्रमुख सचेतक सन्तोष परियारले रास्वपा छाडेर गएको दुई सातामै काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा दिए । उनले आइतबार सभापतिबाट राजीनामा दिएको बताए । यीबाहेक रास्वपाका दर्जन बढी स्थापित नेताहरूले पार्टी छाडिसकेका छन् । समानुपातिक सांसद हुँदै प्रमुख सचेतकको भूमिकामा पुगेका सन्तोष पछिल्लो समय भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि रास्वपामा नेतृत्व परिवर्तन र रूपान्तरणको मुद्दा उठाउनेमध्येका एक थिए । ‘नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाको पुनःपरिभाषा र संगठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर फरक अभियानमा सक्रिय भएको हुँ,’ उनले भने ।
पार्टी छाडेलगत्तै उनी डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सुदन किरातीलगायत नेताहरूसँगको सहकार्यमा नयाँ पार्टी खडा गरेर नयाँ अभियानमा लागेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले आइतबार नै घोषण सभा गरेको छ । यससँगै पाँच जना अध्यक्ष मण्डलको टुंगो लगाएको छ । राष्ट्रिय सभा गृहमा पार्टी एकता घोषणापश्चात् साबिक नेसपा (नयाँ शक्ति)का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजक सुदन किराती, रास्वपाबाट विद्रोह गरेका सन्तोष परियार, पूर्वमाओवादीका नेता अशोक जैसवाल र जेनजी अगुवा ओजस्वी भट्टराईको अध्यक्ष मण्डल बनाएका छन् । केही समयअघि रास्वपा छाडेका परियारले पार्टीभित्र भविष्य नदेखेपछि विकल्प खोजेको बताएका थिए ।
उनले नख्खु कारागारबाट सभापति लामिछानेलाई र्यालीसहित बाहिर निकालेकामा पार्टीलाई क्षति पुगेको असन्तुष्टि राखे पनि नेताहरूले उनीमाथि फरक दृष्टिकोणले हेर्ने गरेका थिए । यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने भएकाले मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वको चयनको पक्षमा उभिएका परियार अन्तत पार्टीनै छाड्नुपर्ने अवस्थामा पुगेका हुन् । ‘सभापति लामिछाने र उनको पक्षको दबदबा रहेको पार्टीमा आफ्नो मतप्रति चर्को आलोचना हुन थालेपछि पार्टी छाड्नुपरेको हो,’ परियारले भनेका छन् ।
परियार मात्रै होइन रास्वपाका अधिकांश नेताहरू रवि र उनको पक्षबाट कडा पेलानमा परेका छन् । डिपी अर्याल, स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटीसहितका नेताहरूले पार्टीमा पुनर्संरचित गर्ने विषय उठान गर्नेमाथि दबाब दिने गरेको नेताहरूले बताएका छन् । परियार निस्कँदै गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले समेत पार्टी नेतृत्व र उनको वरिपरिका नेताहरूमाथि टिप्पणी गरेका थिए । ‘रास्वपाले निरन्तर बेहोर्दै आएको क्षतिको जिम्मेवारी कसले लिने,’ नेतृत्वमाथि उनको प्रश्न छ । एकपछि अर्को नेताहरू बहिर्गमित हुनुमा पार्टीभित्र नै समस्या भएको र यसको पहिचान र समाधान खोज्नुपर्ने कार्कीको भनाइ छ । ‘समस्या छन्, समाधान खोजौं । जानेलाई लगाउने आरोप होइन, छाड्नुको कारण खोजौं । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौं,’ उनले भनेका छन् ।
परियारभन्दा अघि पार्टी सहमहामन्त्रीबाट राजीनामा दिएकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले जेनजी आन्दोलनसँगै पार्टी परित्याग गरिन् । समानुपातिक सांसद श्रेष्ठले पार्टी छोडेको जानकारी दिँदै लेखेकी छन्, ‘अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडें ।’ पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनले बताएकी छन् । पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको गुनासो छ । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने ?,’ उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ? जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ,’ उनले भनेकी थिइन् । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री पनि भएकी थिइन् । परियार र श्रेष्ठ सभापति लामिछानेको सहकारी काण्डमा सबैभन्दा बढी बचाउमा उत्रिएका नेता हुन् ।
गत २०७९ को आमनिर्वाचन ६ महिनाअघि मात्रै गठन भएको रास्वपाप्रति आमनागरिकको अपेक्षा विस्तारै ह्रास आउँदै गएको छ । सो दलले पहिलो निर्वाचनमा सात प्रत्यक्षसहित ११ लाखभन्दा बढी मत ल्याएर प्रतिनिधि सभाका चौथो दलको हैसियत बनाएको थियो । संसद्मा २० रहेको रास्वपाले उपनिर्वाचनका तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेले चुनाव जितेसँगै २१ सिट पुगेको थियो । पार्टी बनाएको छोटो समयमै संसद्मा राम्रो हैसियत बनाएको रास्वपा पछिल्लोपटक आन्तरिक विवादमा अल्झिएको छ । खासगरी सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा पूर्पक्षका लागि थुनामा छन् । उनलाई पुराना दलहरूले प्रतिशोध साँधेर थुनिएको भन्दै रविको रिहाइको माग गर्दै आएका नेताहरूले नै पछिल्लोपटक पार्टी छाडेका हुन् । यसअघि पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाल, सांसद ढाकाकुमार श्रेष्ठसहितका नेताहरू पार्टीले कारबाही गरेर निष्कासन गरेको थियो । पूर्वमहामन्त्री ढकालले दुई वर्षअघि पार्टी रूपान्तरणको अभियान चलाएका थिए ।
पार्टीको वास्तविक अवस्था बुझ्न जिल्लास्तरमा पुगेर महामन्त्रीले ल्याएको प्रतिवेदन नेतृत्वले अस्वीकार गर्दै उनीमाथि कारबाहीको डन्डा चलाएको थियो । सभापति लामिछानेका दाहिना हात बनेर पार्टी स्थापना गर्ने ढकालको निष्कासनपछि रास्वापाभित्रको उकुसमुकुस छताछुल्ल भएको छ । सुमना पार्टीबाट बाहिरिँदा सभापति रविले कारागारबाटै ‘रेलगाडीबाट झर्ने झर्छन, छुट्ने छुट्छन् तर गन्तव्यमा नपुगी रोकिँदैन,’ भन्ने सन्देश दिएका थिए । उनको हुँकारले पार्टीमा थप वितृष्ण थपिएको नेताहरूले टिप्पणी गरेका छन् । केन्द्रीय सदस्य तथा पूर्वशिक्षा राज्यमन्त्री तोसिमा कार्कीले पार्टीमा रिफर्मको आवश्यकता औंल्याउँदा पार्टीभित्र आफूमाथि घेराबन्दी भएको टिप्पणी गर्दै आएकी छन् । पार्टी पुनर्गठनको मुद्दा उठाइरहेकी तोसिमाले पछिल्लो विस्तारित बैठकमा लिखित असहमति राखे पनि सुनुवाइ नभइरहेको उनको गुनासो छ । केन्द्रीय सदस्य गणेश कार्की पार्टीभित्रको समस्या पहिचान र समाधानतर्फ कसैको ध्यान नगएकोप्रति अहिले पनि रुष्ट छन् । यद्यपि पार्टी प्रवक्ता मनीष झाले पार्टी छोडेर जाँदैमा कसैको खेदो खन्ने पक्षमा नरहेको टिप्पणी गरे । उनले भने, ‘पार्टीमा विभिन्न व्यक्ति आउनेजाने भइरहन्छ । त्यसलाई वैरभावका रूपमा हेर्नुहुँदैन । रास्वपाबाट जानेभन्दा आउनेहरू नै बढी रहेकाले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा छौं ।’
केही समयअघि केन्द्रीय सदस्यहरू हरि भट्ट र डा. प्रभाव अधिकारीले राजीनामा दिएका थिए । त्यसअघि पार्टी स्थापनाको दुई महिनामै संस्थापक केन्द्रीय सदस्य गीता रेग्मीले पार्टीको विचार र नेतृत्वको गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन् । २०८० वैशाख १० को उपनिर्वाचनमा बारा–२ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्वएआईजी रमेश खरेल पनि पहिल्यै पार्टीबाट बाहिरिएका थिए । स्वार्थ बाझिनेगरी पार्टीले गृह मन्त्रालयको जिम्मेवारी लिन नहुने अडान राखेर टिप्पणी गर्दै आएका खरेललाई पार्टीले स्पष्टीकरण सोधेको थियो । त्यस्तै, केन्द्रीय सदस्य महेश्वर घिमिरे पनि पार्टीबाट बाहिरिएका थिए भने पूर्वअनुशासन आयोग प्रमुख डा. भरतमणि देवकोटाले पार्टी त्यागेका हुन् । त्यसअघि कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडेका थिए । पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकाल्न थालेपछि विवाद बढ्दै जाँदा उनले पार्टी छाडेका हुन् ।
त्यसअघि २०७९ कात्तिकमै पार्टी छोड्ने कोशी प्रदेश समिति सदस्य सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश समिति सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ता थिए । २०८० पुस १४ मा रास्वपा सुदूरपश्चिमका उपसभापति र महामन्त्रीले पदबाट राजीनामा दिएका थिए । उपसभापति सृष्टि महरा र महामन्त्री भोजराज जोशीले पार्टीलाई समय दिन नसक्ने भन्दै बाहिरिएका थिए । यसैगरी, २०८१ असार १२ मा प्यूठान जिल्ला सभापति सुमन सुवेदीले पार्टी परित्याग गरे भने चितवनका जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पनि २०७९ माघमै पार्टी छाडेका थिए । २०८० माघमा बर्दिया जिल्लाका २१ जनाले पार्टी परित्याग गरेका थिए । त्यस्तै, मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहितका नेताहरूले पार्टी परित्याग गरिसकेका छन् । २०८१ भदौमा दाङका १ सयभन्दा बढी युवाले एकसाथ रास्वपा परित्याग गरेका थिए ।