
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ का लागि आवश्यक पीपीई सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार २०७८/०७९ मा विनियोजित २ करोड बजेटबाट १३ प्रकारका सामग्री खरिद गर्दा कम मूल्य कबोल गर्ने फर्महरूलाई बिना कारण अस्वीकृत गरी बढी मूल्य प्रस्ताव गर्ने जनमुक्ति हेल्थ इन्टरप्राइजेजलाई १ करोड २४ लाख ४४ हजारमा ठेक्का दिइएको थियो । यसरी मिलेमतोमार्फत राज्यकोषलाई ३१ लाख १७ हजार रुपैयाँ हानि पुगेको आयोगको भनाइ छ ।
मूल्यांकन समितिले अनिवार्य कागजातको परीक्षण नगरी दोहोरो मापदण्ड अपनाएको र योग्य बोलपत्रदातालाई गैरकानूनी रूपमा हटाएको उल्लेख छ ।
तत्कालीन निमित्त निर्देशक डा.अर्जुनप्रसाद सापकोटासहित कर्मचारी, मूल्याङ्कन समिति सदस्य र जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सञ्चालक नवराज श्रेष्ठसहित ९ जनामाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत कैद, जरिवाना तथा बिगो असूलको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।