२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

कविता : के म नेपाली होइन र ?

shivam cement
टहल दाहाल
२०८२ मंसिर ६ गते ०६:०५
Shares
कविता : के म नेपाली होइन र ?

बग्दै बग्दै ‘हिन्द’ पुग्छ कर्णाली
सिमाना नाघे पनि छालले
कहिल्यै भुल्दैन कर्णालीले ‘कर्णाली’
जसरी भुल्दैन वृक्षले पवन
जसरी भुल्दैन माटोले पृथ्वी
भुल्दिनन् माताले मातृत्व !

पखेटा बनेर आकाशमा
भुलेर भूगोलका सीमा–रेखा
निस्फिक्री विचरण गर्छे कोइली
पुग्छे ल्हासा त आसामसम्म पनि
तर, भुल्दिन आफ्ना बचेराहरू
र, त घाम नडुब्दै क्षितिज पारी
फर्किन्छे आफ्नै रनबन ! 

थोरै रहर त धेरै बाध्यताका पर्खालहरू नाघेर
छोडेर आमाको न्यानो माया
छोडेर बाबुको कर्तव्य बोध
छोडेर प्रियसीको अँगालो
आइपुगेको छु विदेशी भूमिमा
डायस्पोराको साँघुरो आँगनबाट
नियालिरहेछु लुम्बिनीको शान्ति चोक !

थुनिएर ट्रम्पको साँघुरो पिँजडाभित्र
रोबोट समयको परिधिभित्र
एका बिहानै मिचेर नयनहरू
म सुस्ता पढिरहेछु
लिम्पियाधुरा सम्झिरहेछु
आमा,
भौतिक हिसाबले यता रहे पनि
मन त्यतै पोखिएको छ
सम्झना त्यतै दौडिएको छ
सुनामी छाल बनेर ।

म आफ्नो गर्वका साथ,
सगरमाथालाई आफ्नो शिर बनाएर
सधैं ! विश्वभरि चम्किरहने
पिरमा पनि÷भिरमा पनि
अटल रहने म नेपाली ! 

हाम्रा महान् विद्वान् विदुषी, कलाकार, साहित्यकार 
र, नेता नेतृत्वहरूको जन्म लिएर
योग्य, सक्षम र स्वावलम्बीको
दिग्दर्शन सिकाउँदै
देशकै उँचो ओहोदामा पुग्न सक्ने
कुशल वीर सन्तानको जन्म दिइरहने
त्यही म नेपाली !

षडानन्द, बुद्ध, भृकुटीलाई छातीमा बोकेर
शेर्पा, गुरुङ, राई, मगर, श्रेष्ठ, विक, मोते
जिरेल, रम्तेल, ब्राह्मण, क्षेत्री आदि
सबैलाई वरिपरि साक्षी राखी
जहाँ सदैव मिठो स्वरमा ‘गीत’ गाइरहने
त्यही म नेपाली !

हाम्रा बाजेले खाँबो गाडेका तपो भूमिमा उभिएर
आँप, चाँप, गुराँस, सुनाखरी, बुकी फुलहरूको
आफ्नो÷आफ्नो सुन्दरता एकरूपता देखाएर
जीवन्त सजिएको देखिने
हो, त्यही म नेपाली ! 

ADV

सम्बन्धित खबर