२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष

shivam cement
२०८२ मंसिर ४ गते ०९:४४
Shares
देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष

काठमाडौँ :
नजरबाट कोही पस्यो दिल उघारी
चुमी यी अधरमा बस्यो दिल उघारी

गजलकार देवेन्द्र के. सी. 'देवु'का यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठ गुञ्जिँदा बुधबार सर्वनाम थिएटर मुग्ध बन्यो । लगत्तै 'बोकेर फूलपाती स्यूँदोभरी सजाई/को धाउँदै छ दिलमा छम्‌छम् चुरा बजाई ?' गाउँदा ताली र 'वाह ! वाह !! को वर्षा भइरहेको थियो ।

यस्तै बान्कीका स्वादिला गजल शेरहरू करिब २ घन्टा गाए सन्तोषले । तबलामा शम्भु श्रेष्ठको बेजोड प्रस्तुति रह्यो भने बाँसुरीमा निर्मल सिंहले श्रोताको मन जिते । कार्यक्रमको सुरुवातमा देवुको भिडियो प्रोफाइल प्रस्तुत गरिएको थियो ।

गजल अभियन्ता घनेन्द्र ओझाले गजलकार देवु र सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठका बारेमा परिचय प्रस्तुत गर्दै विक्रमको २०८० देखि २०९० सम्मको १० वर्षलाई 'नेपाली गजल गायनको स्वर्ण दशक' मनाइरहेको उल्लेख गरे ।

ओझाले गजल गायन अभियान सातै प्रदेश तथा सम्भव भए विदेशसम्म लैजाने पनि बताए । गजलकार एवं सङ्गीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा आउने क्रम तीव्र बनेकामा खुसी व्यक्त गरे ।

प्रमुख अतिथि कवि एवं समालोचक प्रा. डा. देवी नेपालले शास्त्रीय बहरमा रचना गरिएका गजलहरूलाई लोक रङ दिएर पनि सुन्दर ढङ्गले गाउन सकिन्छ भनेर सन्तोषले उदाहरण दिएका धारणा राखे । प्रा. डा. नेपालले नेपाली गजल गायनको स्वर्ण दशक यसरी नै अगाडि बढोस् भनेर शुभकामना पनि दिए । उनले गजलकार देवु प्रेम प्रणयका विषयसँगै समसामयिक विषयमा पनि उत्तिकै सशक्त कलम चलाउने स्रष्टा भएका प्रस्तुत गजलले पुष्टि गरेका बताए ।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गजलकार ज्ञानु विद्रोहीले गरेका थिए । नेपाली गजलको विकास, विस्तार र परिष्कारमा २ दशकदेखि सक्रिय 'अनाममण्डली'को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

ADV

सम्बन्धित खबर