२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

नागरिकको सहयोगमा ४३६ प्रहरी चौकी पुनर्स्थापित

shivam cement
दिवाकर अधिकारी
२०८२ कार्तिक १४ गते ०६:३५
नागरिकको सहयोगमा ४३६ प्रहरी चौकी पुनर्स्थापित
हास्य कलाकार सजन श्रेष्ठको नेतृत्वमा स्थानीय नागरिकको सहयोगमा काठमाडौंको बलम्बु प्रहरी चौकी पुनर्स्थापित भएपछि सामूहिक फोटो खिचाउँदै । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं : नागरिकसँग नजिक हुन नेपाल प्रहरीले चलाएको अभियान हो– प्रहरी मेरो साथी । तत्कालीन सरकारको आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियान सुरु गरेको थियो । जसको अवधारणा मुलुकमा शान्ति सुरक्षा कायम गर्न नागरिकको समेत साथ लिने हो । यो अभियान कति सफल भयो वा भएन भन्ने विषय समय र घटनाअनुसार फरक कोणबाट व्याख्या हुन सक्छ । तर जेनजी आन्दोलनका क्रममा तिनै प्रहरीका बिट जले ।

गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो । २३ गते काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा प्रहरीकै गोली लागेर २० जनाको ज्यान गयो । स्कुलबाट प्रदर्शनमा आएका विद्यार्थीले समेत गोली लागेर मृत्युवरण गर्नुपरेपछि २४ गतेको प्रदर्शन थप उग्र बन्न पुग्यो । परिणाममा नेपाल प्रहरीका ४ सय ६५ कार्यालयमा क्षति हुन पुग्यो । जेनजी आन्दोलन भएको ५३ दिन पार हुँदासम्म ४ सय ३६ वटा प्रहरी कार्यालय पुनर्स्थापना भएका छन् । विभिन्न २८ वटा कार्यालय पुनर्स्थापनाको प्रक्रियामा छ । एउटा कार्यालयको विषयमा भने प्रहरी मौन बसेको छ । 

१ सय १८ वटा प्रहरीका संरचनामा पूर्णरूपमा नष्ट भएका थिए । ३ सय ४७ वटा कार्यालयमा आंशिक क्षति पुगेको थियो । काठमाडौं उपत्यकामा मात्रै २ सय १० वटा संरचनामा क्षति पुगेको थियो । 

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मधेशमा ९०, कोशी प्रदेशमा ५७, बागमतीमा ४५, गण्डकीमा ३३, लुम्बिनीमा १४ र सुदूरपश्चिममा १६ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो । सबै प्रदेशका गरेर ४ सय ३६ वटा कार्यालय पुनर्स्थापना भएका हुन् । 

प्रहरी अधिकारीहरूका अनुसार क्षतिग्रस्त प्रहरी कार्यालयको पुनर्स्थापना गर्न सरकारले राज्यकोषबाट कुनै रकम खर्च गरेको छैन । कारण– नागरिक समाज, संघसंस्था र स्थानीय नै प्रहरी बिट पुनर्स्थापनाको कार्यमा जुटे । प्रहरीको मनोबल बढाउन र मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नागरिकहरू आफैं अग्रसर हुँदा ठुलो संख्यामा क्षतिग्रस्त प्रहरी संरचना पुनर्स्थापित हुन सकेको हो । 

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे नागरिक समाज, स्थानीय बासिन्दा र  विभिन्न संघसंस्थालगायतको भूमिकाको प्रशंसा गर्छन् । एउटा टेलिभिजनसँग उनले भनेका छन्, ‘प्रहरी बिट पुनर्स्थापना गर्नमा नागरिक समाजबाट जुन किसिमको सम्मान र वेलकम भएको छ त्यसले प्रहरीको मनोबल बढाएको छ ।’ 

प्रहरी अधिकारी प्रहरी बिट पुनर्स्थापनाको कार्यमा भएको नागरिक सहभागिता र सहकार्यले दुवैका बीचमा विश्वासको वातावरण थप बलियो बनाउनसमेत मद्दत पुगेको बताउँछन् । सहकार्यले एकातिर नागरिक र प्रहरीबीच विश्वासको वातावरण थप बलियो बनाएको छ भने अर्कोतिर प्रहरीको मनोबल बढाउन सकेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर