२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

रुकुम पश्चिममा परम्परागत पानीघट्ट लोप हुने अवस्थामा

shivam cement
प्रचण्ड खत्री
२०८२ कार्तिक १० गते १४:२५
रुकुम पश्चिममा परम्परागत पानीघट्ट लोप हुने अवस्थामा

रुकुम पश्चिम : एक समय थियो, रुकुम पश्चिमका गाउँहरूमा पानीघट्टमा पीठो पिस्न स्थानीयको भीड लाग्थ्यो । विशेषगरी शनिबारको बिदाको दिन गाउँका पानीघट्टहरू ‘जाम’ हुन्थे । बिहानदेखि साँझसम्म जौ, फापर, गहुँ, मकैजस्ता रैथाने बाली पिसेर पीठो बनाउने र घर फर्कने चलन थियो । तर अहिले आधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचले यी परम्परागत पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् ।

बाँफिकोट गाउँपालिकाका स्थानीय बमबहादुर केसीका अनुसार, खोला र सिँचाइ कुलोको पानीबाट चल्ने यी घट्टहरूले गाउँको परम्परागत जीवनशैलीलाई जीवन्त राखेका थिए । पानीघट्टबाट पिसिएको पीठोले खानामा विशेष स्वाद थप्ने गरेको स्थानीयको अनुभव छ । तर विद्युतीय घट्टको सहज उपलब्धता र प्रविधिको तीव्र विकासले यी परम्परागत पानीघट्ट विस्थापित हुँदै गएका छन् ।

“पहिला पानीघट्टमा पीठो पिस्नु गाउँको संस्कृति नै थियो, तर अहिले बिजुलीबाट चल्ने घट्टले गर्दा पानीघट्ट बन्द हुन थालेका छन्,” मुसिकोट नगरपालिका-१ का हरिबहादुर खड्काले भने । उनले स्थानीय सरकारसँग पानीघट्ट संरक्षणका लागि पहल गर्न अनुरोध गरे ।

रुकुम पश्चिमका गाउँहरूमा उत्पादन हुने रैथाने बालीको पीठो बनाउन पानीघट्ट उपयुक्त मानिन्छ । तर, स्थानीय तहले विद्युतीय घट्टलाई प्रोत्साहन गर्दै सौलियतमा वितरण गरिरहँदा परम्परागत पानीघट्टप्रति कसैको ध्यान गएको छैन । परम्परागत संस्कृतिको हिस्साका रूपमा रहेका यी पानीघट्ट संरक्षणको अभावमा क्रमशः हराउँदै गएका छन् ।

स्थानीय संस्कृति र रैथाने बालीको प्रवर्द्धनका लागि पानीघट्टको संरक्षण आवश्यक रहेको स्थानीयको भनाइ छ । प्रविधिको विकाससँगै आधुनिकतातर्फ अघि बढे पनि यस्ता परम्परागत प्रविधिको जगेर्ना गर्न स्थानीय सरकार र समुदायले चासो दिनुपर्ने देखिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise