
रुकुमपूर्व : हिमाली जिल्ला रुकुमपूर्वमा यो वर्षको हिउँदको पहिलो हिमपात सुरु भएको छ । सोमबार रातिदेखि परेको वर्षासँगै जिल्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेपछि डाँडाकाँडा सेताम्य बनेका छन् ।
पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीमा हिउँ जमेको छ । विशेषगरी सिस्ने–१, भूमे–१ र पुथा क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन् । पुथा उत्तरगंगा–१० का मैत्या घर्तीमगरका अनुसार, तकसेरा लगायत ४ हजार मिटरभन्दा माथिका बस्तीमा हिउँ परेपछि चिसो तीव्र बढेको छ ।
सिस्ने–१ का वडाध्यक्ष रजबहादुर बुढामगरले भेडीगोठालाहरूलाई पशुचरणमा समस्या भएको बताए । “चरन क्षेत्र हिउँले ढाकिएकाले भेडा–बाख्रा गोठमै राख्नुपरेको छ,” उनले भने । सिस्ने हिमालको काखमा रहेको ठूलो सिस्ने गाउँमा चिसो असह्य बन्दै गएको छ ।
यद्यपि, हिमपातले खेतीपातीमा फाइदा पुग्ने किसानहरूको भनाइ छ । माटो भिज्दा अन्नबाली उत्पादनमा सुधार हुने अपेक्षा छ । हिउँले हिमाली दृश्य मनमोहक बनेका छन् । सिस्ने र पुथा हिमाल आसपास हिउँ हेर्न आन्तरिक पर्यटक पुग्ने अनुमान छ ।