
रुकुम पश्चिम : रुकुम पश्चिममा मंगलबार बिहान ३ बजेदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षासँगै जनजीवन कष्टकर बनेको छ ।
विशेषगरी धान भित्र्याउने सिजनमा वर्षा हुँदा किसानहरू मर्कामा परेका छन् । बाँफिकोट गाउँपालिका–४ खोलीबडगाउँका स्थानीय डिलबहादुर केसीले भने, “धान भित्र्याउने बेलामा वर्षा भएपछि हामी समस्यामा छौं ।”
बाँफिकोट–३ डार्नेका किसान नित्तेदेव केसीले ६ महिनाको कमाइ खेतमै जाने हो कि भन्ने चिन्ता व्यक्त गरे । “अहिले रुकुम पश्चिमका धेरै स्थानमा धान भित्र्याउने चटारो छ,” उनले भने, “बिहान–साँझ नभनी काम गर्ने बेलामा वर्षा भएपछि किसानहरू घरभित्रै बसेर धानबारीमा टुलुटुलु हेरिरहेका छन् । कतिबेला पानी रोकिएला र धान भित्र्याउला भन्ने चिन्तामा छौं ।”
धान भित्र्याउने र गहुँ छर्ने सिजन चलिरहेका बेला मौसम पूर्वानुमानअनुसार केही दिन पानी पर्ने सम्भावना छ ।
यता, आठबिसकोट नगरपालिका–१ स्यालाखदीका भेडा र बाख्रा पालक किसानहरू पनि चिन्तित बनेका छन् । भेडा पालक किसान मनबहादुर बुढाले भने, “हामी केही दिनमा ठाउँ स्थानान्तरण गरेर गाउँमै जाने सोचमा थियौं, तर एक्कासी वर्षा भएपछि मर्कामा पर्यौं ।”