२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

रुकुमपूर्वमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ८ गते २१:०७
रुकुमपूर्वमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते

रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिकामा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । शनिबार साँझ करिब साढे पाँच बजे भूमे–४ काँडाबगर नजिकै मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

प्रहरीका अनुसार रुकुमकोटतर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको कर्णाली प्रदेश ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालकसहित पाँच जना र मोटरसाइकलमा सवार दुई जना गरी सात जना घाइते भएका छन् । घाइतेमध्ये भूमे–२ खाबाङका ४५ वर्षीय सहिन पुनको बाँया आँखानजिक, ११ वर्षीय सुदीप पुनको शरीरको भित्री भागमा र ८ वर्षीय बचन बुढामगरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भूमे गाउँपालिकाकी २७ वर्षीया अस्मिता झाँक्री बुढामगरको बाँया गालामा चोट लागेको छ भने ४३ वर्षीया कर्मकुमारी पुनलाई जिल्ला अस्पताल रुकुमपूर्वमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

यस्तै, रुकुम पश्चिम आठबिसकोट–१० का १८ वर्षीय गणेश शाही र सल्यान बागचौर–६ का बसन्त भण्डारीको हात र खुट्टाको औलामा चोट लागेको छ । सबै घाइतेको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।

दुर्घटनामा संलग्न दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

घटनापछि तत्काल उद्धारमा भूमे–२ का वडाध्यक्ष तथा प्रवक्ता नारायण पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य रुपधन कामी, नेपाल पत्रकार महासंघ रुकुमपूर्व, समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीलगायतको टोली सक्रिय भएको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise