२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

रुकुमपूर्वमा स्वास्थ्य सेवा सुधारका लागि वार्षिक समीक्षा

shivam cement
बालाराम शेर्पाली
२०८२ असोज ३० गते १४:३८
रुकुमपूर्वमा स्वास्थ्य सेवा सुधारका लागि वार्षिक समीक्षा

रुकुमपूर्व : स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउने उद्देश्यले स्वास्थ्य कार्यालय रुकुमपूर्वले असोज २९ र ३० गते दुई दिने वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाभरका स्वास्थ्य गतिविधि, नागरिकले प्राप्त गरेका सेवाहरू र आगामी वर्षका प्राथमिकताहरूको विस्तृत छलफल भएको छ ।

भूमे, पुथा, उत्तरगंगा र सिस्ने गाउँपालिकाका स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, युवा बुद्धिजीवी, समाजसेवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले भौगोलिक विकटता र अशिक्षाले स्वास्थ्य सेवा विस्तारलाई चुनौतीपूर्ण बनाएको बताए । यद्यपि, स्वास्थ्यकर्मी र सरोकारवालाको सक्रियताले सेवा सहज बनेको भन्दै उनले सबैलाई धन्यवाद दिए । गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच र जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिँदै संस्थागत समन्वयमा जोड दिए ।

नेकपा (एस) का केन्द्रीय सल्लाहकार तिकाराम उपाध्यायले हिमाली जिल्लामा नियमित स्वास्थ्य सेवा सञ्चालन भएकोमा स्वास्थ्यकर्मीहरूलाई बधाई दिए । गुणस्तरीय सेवामा अझ सुधार आवश्यक रहेको उल्लेख गर्दै निरन्तर प्रयासको माग गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सन्देश पौडेलले नेपाल सरकारका कार्यक्रमलाई लुम्बिनी प्रदेशले मातृ मृत्युदर घटाउने प्राथमिकतामा विस्तार गरेको जानकारी दिए । विकट हिमाली जिल्ला रुकुमपूर्वलाई विशेष ध्यान दिइएको भन्दै मन्त्रालयबाट समस्या समाधानका पहल भइरहेको बताए । "भाषण र प्रतिबद्धता पर्याप्त छन्, तर व्यवहारिक सुधार अपेक्षित छैन," भन्दै भरपर्दो सेवा पुग्न समय लाग्ने जनाए ।

रुकुमपूर्व अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. कृष्ण खरालले गल्ती सच्याउँदै गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताए । संघ, संस्था र सरकारसँग सहकार्य गरी नागरिकका गुनासो सम्बोधन गर्ने योजना छ ।

नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बशन्त बाँठा मगरले सक्रिय मिडियाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । सरकारी निकायको फरक दृष्टिकोण हटाई राज्य–मिडिया सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिँदै मिडियाले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको औंल्याए ।

कार्यक्रममा तीनवटै गाउँपालिकाका उत्कृष्ट स्वास्थ्यकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरियो । स्वास्थ्य सेवामा योगदान पुर्‍याउने कर्मचारीहरूलाई यो सम्मान दिइएको हो ।

समापनमा स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा सुनिश्चित गर्न कार्यालय सक्रिय रहेको बताए । आगामी वर्ष योजनाबद्ध रूपमा गाउँ–गाउँमा कार्यक्रम पुर्‍याइने जानकारी दिए ।

यो समीक्षाले जिल्लाको स्वास्थ्य क्षेत्रका सफलता र कमजोरी उजागर गर्दै सेवा सुधारको आधार तयार पारेको छ ।

ADV

सम्बन्धित खबर

Advertise