काठमाडौं : पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र पछिल्लोपटक युवा पुस्ताका नेताहरूले पार्टी पुनर्गठनको एजेन्डा धारिलो बनाएका छन् । विधानतः पार्टीको सभापतिपछिका कार्यकारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई पुर्नसंरचना गर्न विभिन्न विकल्पसहितको छलफल चलाएका हुन् । तर महामन्त्रीहरू पार्टीभित्र अल्पमतमा रहेकाले उनीहरूको प्रस्ताव नेतृत्वले अझै स्वीकार गरेको छैन ।
जेनजी आन्दोलनपश्चात् उत्पन्न पछिल्लो राजनीतिक अवस्थालाई विश्लेषण गर्दै कांग्रेस सुधार्न महामन्त्री थापाले पार्टीमा पुनर्गठनको विकल्प नरहेको बताउँदै आएका छन् । महामन्त्री थापाले शनिबार एक वक्तव्य जारी गर्दै भनेका थिए, ‘समयको मागअनुसार पार्टी नेतृत्वमा युवाहरू आउनुपर्ने र त्यसमा पार्टीका नेता कार्यकर्ताले आफूलाई फिट नदेखे साधारण सदस्य मात्रै भएर बस्न तयार छु ।’ उनले पार्टीको रूपान्तरण र पुनर्गठन आवश्यक भएको भन्दै पार्टीमा सुधार र नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाका लागि विशेष महाधिवेशन अपरिहार्य भएको उनले बताए । यसले पार्टीको नीति, नियम र कमजोरी सुधार्ने अवसर दिने थापाको भनाइ छ । पार्टीलाई पूर्णरूपमा रूपान्तरण जरुरी देखेका नेताहरूले सकेसम्म विधि र विधान सम्बत तरिकाबाट पार्टीलाई पुनर्संरचित गरेर जाने योजनामा छन् ।
पार्टी पुनर्गठनका लागि महामन्त्री थापाले तीन विकल्पसहितको तयारी थालेका छन् । नियमित महाधिवेशनका लागि तयारी थाल्नुपर्ने पहिलो विकल्प अघि सारेका थापाले यो विकल्पमा प्रतिनिधिमूलक नभई खुला मतदानबाट नेतृत्व चयन गर्नुपर्ने बताए । ‘कांग्रेसलाई सबैको अपनत्व फिल गराउन सबै क्रियाशील सदस्यले केन्द्रदेखि जिल्लासम्मको नेतृत्व चयनमा भाग लिन पाउनुपर्छ,’ उनले भनेका छन् ।
त्यस्तै, दोस्रो विकल्पमा उनले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । यसका लागि १४औं महाधिवेशनका प्रतिनिधि अथवा त्यसबेलाका क्षेत्रीय प्रतिनिधिहरूले केन्द्रदेखि भूगोल सम्मकै नेतृत्व चयन गर्नेगरी बाटो खोलेर जानुपर्ने योजना ल्याएका छन् । सो विकल्पका लागि विधानबमोजिम विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलनको तयारीसमेत भइरहेको थापाको सचिवालयले जनाएको छ ।
जेनजी पुस्ताको आन्दोलनपश्चात् सरकार ढलेर संसद् बाहिरबाट बनाइएको सरकारले प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेर आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । फागुन २१ मा हुने निर्वाचनको पूर्वतयारी गर्नुअघि पार्टीमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने र पुराना नेताहरूले विश्राम लिनुपर्ने युवा नेताहरूले दबाब बढाइरहेका छन् । यस अवस्थामा पार्टीलाई बढी चन्दा बढी जनताको साथ दिलाउन बदलिँदो परिवेश र युवा पुस्ताको मागलाई समेत सम्बोधन गरेर जानुपर्ने आवश्यकता नेताहरूले औंल्याएका छन् । थापाले अघि सारेका दुईवटै विकल्पमा सहमति नजुटेको खण्डमा कसरी अघि बढ्ने भन्ने छलफलसमेत चलाइएको सचिवालयले जनाएको छ । तेस्रो विकल्पका रूपमा पार्टीमा विद्रोहसम्मको योजना भइरहेको थापको सचिवालयका एक नेताले मध्यान्हसँग भने । तर त्यो अवस्था आउन नदिन पार्टीका सबै तहका नेताहरूसँग सघन छलफल चलाउने कार्य जारी रहेको उनको भनाइ छ । गत १४औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महामन्त्री बनेका थापा र कोइरालाबीच पछिल्लो केही समययता छुट्टाछुट्टै अभियान चलाएका छन् ।
नयाँ समूह बनाएर आगामी नेतृत्वको तयारी गरेका थापा र एकपटक सभापति बनेरै छाड्ने योजनासहित देश दौडाहमा निस्किएका कोइरालाले आ–आफ्नै समूहलाई बलियो बनाउन लागेका थिए । तर पछिल्लो घटनाले दुई नेताबीच पुनर्मिलनको ढोका खुला गरेको कतिपयले बताएका छन् । पार्टीको विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणका विषयमा नेता डा. शेखर कोइराला र उनको समूहका नेताहरूसँग समेत छलफल अघि बढाइएको थापानिकट केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् । ‘लोकतान्त्रिक व्यवस्थालाई बचाउने र पार्टीलाई नागरिकको भरोशायोग्य बनाउन कांग्रेसमा पुनर्संरचना आवश्यक छ,’ उनले मध्यान्हसँग भनिन्, ‘त्यसका लागि विशेष महाधिवेशन गर्न विधानमा भएको व्यवस्थाअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन अभियान सुरु गर्ने तयारीमा छौं ।’
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिले दलहरूमा पुनर्संरचना अनिवार्य गर्नुपर्ने सन्देश दिएको छ । सो सन्देशलाई समयमै उपयोग गर्न नसके दल र दलभित्रका युवा पुस्ताको राजनीतिक भविष्य नै धरापमा पर्ने मात्र नभई मुलुकको लोकतान्त्रिक शासन व्यवस्था नै अप्ठ्यारोमा पर्ने राजनीतिक विश्लेषक बताउँछन् । पार्टी नेतृत्वको कमजोरीकै कारण आजको दिन बेहोर्नुपरेको विश्लेषक शंकर तिवारीले बताए । ‘सभापति शेरबहादुर देउवाले सुरुकै दिन दोस्रो तहको नेतृत्वलाई कार्यवाहक दिएर पार्टीमा छलफल चलाउने अधिकार दिएको भए पनि महामन्त्रीले बोल्ने ठाउँ रहँदैनथ्यो,’ तिवारीले मध्यान्हसँग भने, ‘देश र पार्टीको अवस्था यहाँ पुग्दासमेत उहाँले अस्पतालको शय्याबाटै पार्टी चलाउने नियत राखेपछि पार्टीमा महामन्त्रीले हस्तक्षेप गर्नुको विकल्प नभएरै सार्वजनिक रूपमा आफ्ना मत प्रकट गर्नुपरेको छ ।’
कांग्रेस पुनर्गठन गर्न नसके महामन्त्री थापासहित युवा नेताहरूले विद्रोह गर्ने उनको दाबी छ । तिवारीले पार्टी पुनर्गठन गर्न सक्दा कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउने प्रयास गर्ने केही सिप नलागे महामन्त्रीहरूसहित युवा नेताहरूले नयाँ पार्टीको विकल्पमा समेत छलफल प्रारम्भ गरेको बताए । सो विकल्पबारेमा दसैंलगत्तै बृहत् छलफल हुने उनी दाबी गर्छन् ।
नेतृत्वको उत्तराधिकार र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठ्दा विशेष महाधिवेशन आवश्यक हुने नेता गुरुराज घिमिरेले बताए । सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि दलभित्र र बाहिरबाट प्रश्न उठिरहेको उल्लेख गर्दै उनले भने, ‘देउवाको नेतृत्वमा दलले अपेक्षित सफलता हासिल गर्न सकेन । गठबन्धन राजनीतिमा प्रभावकारी भूमिका खेल्न पनि सकेन । विशेष महाधिवेशनले नेतृत्व चयन प्रक्रियालाई पारदर्शी बनाउन र नयाँ नेतृत्वलाई अवसर प्रदान गर्न सक्छ । र कहिलेकाहीँ यसलाई समय तथा राष्ट्रिय आवश्यकता मान्नुपर्नेहुन्छ ।’