२०८२ असोज ६ गते सोमवार / Sep 22 , 2025 , Monday
२०८२ असोज ६ गते सोमवार
Ads

जेनजीको उभार र सत्ता परिवर्तन

shivam cement
२०८२ असोज ६ गते ०६:००
जेनजीको उभार र सत्ता परिवर्तन

–बसन्त उपाध्याय

स्ट्याण्डर्ड स्कलर रोबरट कार्जले सन् २०१७ को सेरोफेरोमा गरेको एक अध्ययन पछि सन् २०२१ मा प्रकाशित ‘जेनजी एक्सप्लेन्डः द आर्ट अफ लिभिङ इन अ डिजिटल एज’ पुस्तकमा जेनजीका विषयमा गहकिला विचार उजागर भएका छन् । उक्त अध्ययनमा १८ देखि २५ वर्ष उमेरका करीब २ हजार जेनजीको धारणा बुझ्ने प्रयास गरिएको थियो । विश्वमानचित्रमा जेनजी पुस्ताले कुल जनसंख्याको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

जेनजीलाई एक अत्यन्तै प्रतिक्रियावादी पुस्ता मानिन्छ । आफ्ना आवश्यकताको उच्चतम प्रयोग गर्ने पुस्ताका रूपमा जेनजी संसारभर परिचित छ । राजनीतिक रूपमा भएका उपलब्धिहरूभन्दा पनि व्यक्तिगत स्वतन्त्रतामा जेनजी विश्वास गर्छ भन्ने कुरा विश्वमानचित्रमा जेनजीले पुष्टि गरेको देखिन्छ । जेनजीको नाममा भएका वैश्विक आन्दोलनमा विभिन्न शक्तिको अदृश्य भूमिका रहेको चर्चा पनि व्यापक छ । खासगरी जेनजी आन्दोलनमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र डिप स्टेटले भूमिका खेलेका समाचारहरू आइरहेका छन् ।

इन्टरनेट, ग्याजेट र विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग नै जेनजीको मुख्य शक्तिका रूपमा स्थापित भएको छ । मिलेनियल्स अर्थात् वाई पुस्ता जेनजीको भावना र आवश्यकतालाई बुझ्नको स्तरमा चुनौतीपूर्ण स्थिति पाउन सक्छ, किनकि त्यसको दायरा फराकिलो छ । त्यसमाथि निरन्तर सत्तामा रहेको एक्स पुस्ताले जेनजीको आवश्यकतालाई स्विकार्न असहज महशुस गरेको देखिन्छ । सरल भाषामा भन्नुपर्दा, असमानता, सामाजिक न्याय, व्यथिति र भ्रष्टाचारका विरुद्ध जेनजी पुस्ता खरो रूपमा उत्रन सक्छ । भौतिक उपस्थितिलाई इण्टरनेट सञ्जालका माध्यमबाट जेनजी पुस्ता सडकमा उतार्न समय लिंदैनन् । जो एक आपसमा परिचित नभएका समूहका सदस्यहरूको ठूलो मास मुभमेन्ट बन्न सक्छ । ती एक आपसमा अपरिचित हुने भनेको एक मात्र पहिचान उमेर समूह मात्र हो ।

संसारभर जेनजीको आवरणमा भएका मास मुभमेन्टहरू के साँच्चिकै स्वतन्त्रता र व्यक्तिगत अभिव्यक्तिका अभियानहरू हुन् ? यो प्रश्न पेचिलो छ । पुराना सत्ताहरू एक पछि अर्को गर्दै संसारभर लडखडाइरहेका छन् । खासगरी गरिबी, अशिक्षा, अवसरको खोजी, भ्रष्टाचार र राजनीतिक अस्थिरता भएका देशहरूमा जेनजीको प्रभाव विस्तार भएको घटनाक्रमले देखाएका छन् । अपवादका रूपमा अन्य देशहरू पनि पर्छन् । के जेनजी पुस्ता अघिल्ला राजनीतिक शक्तिहरूबाट उपलब्ध व्यवस्था प्रति नकारात्मक छन् ? यो सवालको जवाफ आगामी दिनहरूमा विश्वमानचित्रमा खुल्दै जानेछ । तर जेनजी पुस्ता वर्तमानको देशको व्यवस्था प्रति सन्तुष्ट नभएको भने पक्का हो ।

नेपालमा भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा सहभागीहरू सबै जेनजी पुस्ताका थिएनन् । यद्यपि आन्दोलनको अग्र मोर्चामा जेनजी नै थिए । अहिलेको आन्दोलनलाई हेर्दा, जेनजीहरुले नेपालको न्यायालयलाई विश्वास गर्न नसकेको देखाउँछ । यद्यपि न्यायसेवाबाट निवृत्त भएकी पूर्व प्रधानन्यायधिश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन जेनजी सहमत हुनुले न्याय सेवा र महिलामाथि भरोसा गर्न सक्ने अवस्था देखायो । तथापि, कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न विश्वका पर्दा पछाडी रहेका शक्तिको हात छ भन्ने तर्क पनि सतहमा आइसकेका छन् ।

जेनजी पुस्ताको मुख्य तारो राजनीतिक दलहरू भएका छन् । के जेनजी पुस्ता दलविहीन व्यवस्था चाहन्छ ? यो एउटा धारिलो प्रश्न बनिरहेको छ । लोकतन्त्रको उपभोग गर्दै विरोधमा उत्रिएको जेनजी पुस्ता के दलविहीन शासन चाहन्छ ? यसको जवाफ स्पष्ट रूपमा देखिँदैन । तर जेनजी पुस्ता व्यवस्थाभन्दा बढी सेवा प्रवाहमा विश्वास गर्छ भन्ने देखिन्छ । नेपालमा झन्डै २ दिनमा सरकार परिवर्तन हुने गरी भएको जेनजी आन्दोलनको मुख्य लक्ष्य के थियो भन्ने कोणबाट बुझ्न जरुरी छ । जेनजी आन्दोलनपछि सत्ता हस्तान्तरणको बाटो गोलमटोल भएको छ । परम्परागत शक्ति सेना र पर्दा पछाडीका शक्तिहरूसँग जेनजीका तर्फबाट छलफल गर्ने नेतृत्व स्पष्ट रूपमा अघि नआउँदा जेनजी आन्दोलनको भावनाको पूर्ण प्रतिनिधित्व हुन नसकेको देखिन्छ ।

जेनजीको आन्दोलनको अर्को मुख्य विषय भ्रष्टाचारसँग सम्बन्धित छ, जुन सुशासनका नाममा अघि बढ्ने विषय हो । जेनजी आन्दोलनको मर्मअनुसार स्थायी सरकारका रूपमा रहने कर्मचारीतन्त्रको कार्यशैलीमा बदलाव आउला त ? राजनीतिक नेतृत्वलाई प्रश्न गर्न र विस्थापित गर्न लोकतान्त्रिक अधिकार छ । तर, के कर्मचारीतन्त्र यो विषयमा अछुतो छन् ? यो महत्वपूर्ण प्रश्न हो । यसअघि कर्मचारीको कुलिङ अवधिका विषयमा भएको असन्तुष्टिलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

जेनजी पुस्ताको आन्दोलन भए पनि ती आन्दोलनका मुद्दामा आम नागरिक सहमत भएपछि नेपालमा यो स्तरको तत्काल सरकार परिवर्तन भएको देखिन्छ । तर, राजनीतिक दल र तिनका प्रशिक्षित कार्यकर्ताहरू जेनजी आन्दोलनलाई आत्मसात नगरेको अवस्थामा रहेको देखिन्छ । अन्तरिम सरकारले घोषणा गरेको चुनावमा ती राजनीतिक दलहरूले सहभागीता जनाउँछन् वा जनाउँदैनन् ? यो विषय अझै अन्यौलमा छ । यदि सहभागिता जनाए भने निकास सहजता उन्मुख होला र कथमकदाचित मुख्य राजनीतिक दलहरूले संसद पुनस्र्थापनाको मुद्दा अघि बढाएमा परिस्थिति थप जटिलता तर्फ धकेलिन सक्ने सम्भावना रहला । 

संसारभर नै जेनजी आन्दोलन उत्कर्षमा छ । सत्ता परिवर्तन शान्तिपूर्वक भएका घटनाहरू विरलै हुन्छन् । आन्दोलनपछि देशको पर्यटन व्यवसाय, वैदेशिक लगानी जस्ता महत्वपूर्ण पक्षहरू समग्रमा अर्थतन्त्र कसरी अघि बढ्ला ?

ADV

सम्बन्धित खबर

Advertise