२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

नयाँ पिँढीको पुनर्जागरण

shivam cement
२०८२ असोज २ गते ०६:०५
नयाँ पिँढीको पुनर्जागरण

–रञ्जना बास्ताकोटी

हरेक बिहान, जब हामी आँखा खोल्छौं, हामी केवल घामसँगै होइन, समस्याको घन्टाघरसँगै पनि उठ्छौं । नेपाल अब त्यो देश हो, जहाँ हामी रोग पहिचान गर्न त सक्ने भयौं तर निको पार्न सक्ने औषधी कहिल्यै आफैं बनाइनौं । यो बिलौना मात्र होइन, हाम्रो पुस्ताको अन्तरदृष्टि हो, जसले अब ‘के बिग्रियो ?’ होइन, ‘अब के गर्ने ?’ भन्ने प्रश्न उठाउन थालिसकेको छ ।

हामी योजनाको भारी बोकेर हिँड्ने मुलुक भयौं । नीति लेख्ने पेनको स्याही कहिल्यै सुक्दैन तर त्यो कागज गाउँका आँसु सुकाउन कहिल्यै पुग्दैन । गरिबी, बेरोजगारी, असमानता– यी शब्द सरकारी प्रतिवेदनमा कम्तीमा तीनचोटि घुमाइन्छन् । तर ती शब्दहरू भोगिरहेका गाउँका अनुहारमा कहिल्यै रंग आउँदैन । 

शिशु मृत्यु घटेको छ, साक्षरता बढेको छ, प्रतिव्यक्ति आय उकालो लागेको छ– अन्तर्राष्ट्रिय प्रतिवेदन यिनै आँकडाले भरिन्छन् । तर प्रश्न के हो भने जब संख्या ठिक छ भने समाज अझै बिरामीजस्तो किन लाग्छ ? हामी रिपोर्ट लेख्ने, सम्मेलन गर्ने, कार्यशाला चलाउने उद्योगमा माहिर भयौं । तर बिरामीको ‘औषधी कहाँ छ ?’ भन्ने प्रश्नमा सबै चुप हुने अवस्था छ । यो विरोधाभास त्यतिबेला स्पष्ट हुन्छ, जब ‘स्प्रेडसिटमा स्वर्ग देखिन्छ,’ तर गाउँमा अझै गाग्री बोकेर पानीको खोजीमा डुल्नुपर्छ ।

कसैले चुपचाप भन्यो, ‘घुस त फटाहा खान्छ,’ तर यथार्थ त्यो होइन । आज नेपालमा भ्रष्टाचार सानो अपराध होइन, यो एउटा ‘समानान्तर सरकार’ बनिसकेको छ । यसको आफ्नै नियम छन्, आफ्नै मुद्रा र आफ्नै पदानुक्रम । तपाईं नागरिक होइन, ग्राहक बन्नुहुन्छ । सेवा पाउन घुस दिनुपर्छ भने त्यो तपाईंको गल्ती होइन ।

‘नुन खाएपछि प्यास लाग्छ’ भनेझैं, सानो भ्रष्टाचारले ठुला विश्वास गुमाउँछ । यो केवल पैसाको क्षति होइन, यो युवाको आत्मविश्वास चुस्ने बाघ हो । यहाँ योग्यताको होइन, चिनजानको दरबार चल्छ । ‘नाताले खाइदिन्छ, जातले बाँडिदिन्छ’ यही हो सिस्टम ।

दलहरू आन्दोलनबाट पार्टी बने, पार्टीबाट व्यापारी । नीतिभन्दा समीकरण, आदर्शभन्दा अवसर भारी हुन थाले । चुनाव देख्ने, भोट हाल्ने अनि फेरि चार वर्ष पर्खने हाम्रो भूमिकाले ‘जनता सर्वोच्च छन्’ भन्ने आदर्शलाई सजीव राख्न सकेन । जब प्रजातन्त्र मात्र नामको हुन्छ, तिनको परिणाम हुन्छ– निराशा । अनि निराशाले जन्माउँछ पलायन । यतिबेला युवा मन दुई बाटोको छेउमा छ, यहाँ केही हुन्छ भनेर आशा गर्ने वा देशबाहिर जान खोज्ने ।

अब उपचार रिपोर्टमा होइन, रवैयामा खोज्नुपर्छ । अब राष्ट्रलाई हेर्ने नजर फरक हुनुपर्छ । विकास अब ‘कागजको अंक’ होइन, ‘मानव अनुहार’मा देखिनुपर्छ । ससाना प्रयास, ससाना प्रतिकार नै अब ठुलो परिवर्तनका दियो हुन सक्छन् ।

‘हातको मैलो दल्दा मात्र धुँगोको पूजा हुन्छ,’ त्यस्तै आवाज नउठाई परिवर्तन आउँदैन । प्रश्न गर्नुहोस्– किन ? कसरी ? कहिले ? अब केवल भोट हालेर होइन, बोली हालेर, कलम चलाएर, आफ्नै ठाउँमा आवाज बुलन्द बनाएर यो मुलुक बदल्न सकिन्छ ।

नदीको पानी सधैं काठमाडौंतिर बग्नैपर्छ भन्ने छैन । परिवर्तन स्थानीय स्तरबाटै सुरु हुन्छ । टोलमा, विद्यालयमा, सामाजिक सञ्जालमा जहाँसुकै पनि । आफूले हेर्न चाहेको परिवर्तन आफैं बन्नुहोस् किनकि अब तपाईंको मौनता होइन, तपाईंकै मुखबाट निस्कने शब्दले यो यात्रालाई दिशा दिनेछ ।

विकासको विरोधाभासलाई हामीले शिर झुकाएर स्विकार्नुपर्ने समय सकिएको छ । अब हामीले शिर उचालेर भन्नुपर्छ, हामीसँग आँखा छन्, हामीसँग आवाज छ, हामीसँग विकल्प छन् । अबको यात्रामा हामी साक्षी होइन, हिस्सेदार बन्नुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise