२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

सुस्त दसैं बजार, किन्ने भन्दा घुम्ने धेरै

shivam cement
छबि सापकोटा
२०८२ असोज २ गते ०६:३५
सुस्त दसैं बजार, किन्ने भन्दा घुम्ने धेरै

काठमाडौं : दसैं नजिकिएसँगै काठमाडौंमा मुख्य बजारमा चहलपहल सुरु भएको छ । दसैंमा किनमेल बढी हुने भएकाले बजारमा चहलपहल सधैं बढ्ने गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाको स्मरणमा शोक बिदा दिएपछि बुधबार काठमाडौंका मुख्य बजार न्युरोड, असन, भोटाहिटी, इन्द्रचोकलगायतको क्षेत्रमा दसैंका लागि किनमेल गर्नेको चाप बढेको हो । 

दसैं मनाउन गाउँ जानेहरूले छिटै किनमेल गर्ने गरेका छन् । बुधबार बजारमा भिड बढी देखिए पनि व्यापार भने कम भएको व्यवसायी बताउँछन् । इन्द्रचोकका कपडा व्यवयायी महेश अग्रवाल बजारमा चहलपहल भए पनि किनमेल गर्नेको संख्या निकै कम भएको बताउँछन् । उनी भन्छन्, ‘जेनजी आन्दोलनका कारण चार दिन बजार सुनसान नै बन्यो । सोमबारबाट चहलपहल त भएको छ तर व्यापार छैन ।’ दसैंअघि अझै दुईवटा शनिबार बाँकी रहेकाले अहिले आउने ग्राहक किन्नेभन्दा मूल्य सोधेर फर्केने धेरै रहेको उनी बताउँछन् । 

यस्तै, महाबौद्धका व्यवसायी तातोपानी नाकाबाट सामान कम आउँदा र जेनजी आन्दोलनका कारण व्यापारमा कमी आउन सक्ने बताउँछन् । महाबौद्ध होलसेल व्यवसायी ओमप्रकाश पौडलले चिनियाँ नाका बन्द हुँदा सामान ल्याउन नै कठिन भएको बताउँछन् । उनी भन्छन्, ‘बजारमा महँगी धेरै छ । बजारमा भिड त बढेकै देखिन्छ तर किन्ने भन्दा चहार्ने धेरै छन्, व्यापार कम छ ।’ दसैंको मुखमा खुद्रा व्यापारी पनि सामान लिन नआएको व्यवसायी उनी बताउँछन् । उनका अनुसार दसैंको टीका आउन अझै १५ दिन बाँकी रहेको हुनाले पनि ग्राहकले अति आवश्यक भए मात्र किन्ने गरेका छन् ।

यस्तै, महाबौद्धमा किनमेल गर्न आएकी रश्मि पाण्डेले सुनाउँछिन्, ‘बजारमा वस्तुको मूल्य बढेको छ । नयाँ डिजाइनका कपडासमेत निकै कम छन् । एकजोर कपडा किन्न धेरै पसलमा खोजी गरें तर सस्तो र मनपर्ने कपडा भेटिँदैन ।’ 

असनका खाद्यान्न व्यापारी दीपेन्द्र तुलाधर खाद्यान्न व्यापारसमेत ह्वात्तै घटेको बताउँछन् । उनी भन्छन्, ‘किनमेल कम गर्नेको संख्या कमै छ । यस्तै हो भने अब व्यापार गरेर टिक्ने धेरै गाह्रो छ ।’

प्रभावकारी अनुगमन नहुँदा बजार महँगिदै गएको किनमेल गर्न आएका रमेश क्षेत्री गुनासो छ । आन्दोलनपछि बजारमा सरकारी निकायको उपस्थिति छैन । भूकम्प, कोरोना महामारी, आर्थिक मन्दीलाई पार गर्दै बजार तंग्रिन खोजिरहेको अवस्था भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भएको क्षति र सरकार परिर्वतनको असर बजार देखिएको छ । व्यवसायीको वर्ष दिनमा कमाउने मुख्य सिजनअघि भएको आन्दोलनको प्रवाह अहिले बजारमा देखिन्छ । 

ADV

सम्बन्धित खबर

Advertise