भदौ २३ र २४ को जेनजी आन्दोलनबाट मुलुकको खर्बाैंको अर्थतन्त्र ध्वस्त भएको छ । नेपालमा पर्यटन आगमन र चार्डपर्वको मुख्य समयमा भएको आन्दोलनले अर्थतन्त्र चलायमानलाई नै असर गर्ने देखिन्छ । आन्दोलनको क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको तोडफोडले निजी क्षेत्रको मनोबल कमजोर भएको छ । अर्थतन्त्रलाई लयमा ल्याउनका लागि अब अगाडि बढ्नु पर्ला भन्ने विषयमा अर्थविद् डा. चन्द्रमणि अधिकारीसँग मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् ।
जेनजी आन्दोलनबाट भएको क्षतिको अब कसरी पुनर्निर्माण हुन सक्छ ?
जेनजी आन्दोलनपछि नयाँ चुनावी सरकार बनेको छ । मुख्यतया यो सरकार चुनावकै लागि गठन भएको छ । चुनावको मिति घोषणा भइसकेकोले अबका दिनमा मुलुकमाम चुनावी माहोल बन्ने देखिन्छ । तर, खर्बौंको भौतिक संरचना नष्ट भएकोले चुनाव र पुनर्निर्माण सँगसँगै लैजानुपर्ने हुन्छ ।
दैनिक काम गर्नु पर्ने भौतिक संरचना तथा कार्यालयहरू ध्वस्त भएका छन् । प्रहरीका बिटदेखि सिंहदरबारसम्म क्षति भएको छ । प्रदेश तथा स्थानीय तहको केही भौतिक संरचना समेत नष्ट भएको छ । त्यसैले नयाँ सरकारले चुनावसँगै पुनर्निर्माण गर्नु पर्ने देखिन्छ ।
अब बजेटलाई रकमान्तर गरेर भए पनि भौतिक पुर्वाधार निमार्णमा काम गर्नु पर्ने देखिन्छ । पुनर्निर्माणको लागि एउटा रोड म्याप तयार गरेर भोलि आउँदो सरकारले फेरि थप कामहरू गर्नेगरी काम थाल्नुपर्छ ।
क्षतिको पुनर्निर्माण र निर्वाचन गर्न अहिलेको अर्थतन्त्रले धान्न सक्छ ?
अहिले बनेको सरकारले समयमै निर्वाचन गराउनु अहिलेको मुख्य दायित्व हो । निर्वाचन गर्नै पर्ने भएकाले स्रोत व्यवस्थापनमा चुनौती थपिएको छ । त्यसै पनि हाम्रो अर्थतन्त्र सुस्त नै थियो । उत्पादन र मागको आपूर्ति सहज नहुँदा अर्थतन्त्र मन्दीमा नै थियो । रोजगारी सिर्जना हुने उद्योगहरू छैनन् । रोजगारको लागि विदेश जानेक्रम रोकिएको थिएन । चालु खर्च राजस्वले धान्न सकेको छैन । सार्वजनिक ऋण बढीरहेको छ ।
अहिले जसरी आन्दोलन भएको छ थप लगानीको वातावरण तत्काल बन्न सक्ने देखिँदैन । निर्वाचनपछि आउने सरकारलाई सबैले कुर्नेछन । यो बीचमा के हुन्छ अझै अन्योल नै छ ।
त्यसैले अर्थतन्त्रमा थप चाप बढ्ने देखिन्छ । राजस्व कम उठ्ने देखिन्छ । उत्पादन नभएकोले आर्थिक वृद्धि न्यून हुने देखिन्छ । तर, बढ्दै गएको प्रशासनिक खर्च धान्नलाई पनि ऋण लिनु परेको र ऋणको साँवा र ब्याज तिर्न फेरि ऋण लिनु पर्ने अवस्था अझै बढ्ने देखिन्छ । क्षतिको तथ्यांक हेर्दा दुई वर्षको बजेट बराबरको नोक्सानी भएको छ । यसले राजस्वमा असाध्यै धेरै दबाब पर्ने अवस्था छ ।
निजी क्षेत्रमा जति क्षति भएको छ त्यसलाई फेरि लयमा कसरी ल्याउन सकिएला ?
सबै भन्दा धेरै क्षति निजी क्षेत्रको काठमाडौंमै भएको छ । विशेषगरी ठूलो संख्यामा रोजगारी दिने भाटभटेनी, चौधरी गुप्र, होटललाई टार्गेट गरिएको छ । निजी क्षेत्रको क्षति भन्दा पनि सम्रग निजी क्षेत्रको आत्मबल कमजोर भएको छ । त्यसको असर दीर्घकालसम्म पर्ने देखिन्छ ।
यस्तै होटल क्षेत्रमा भएको लगानीमा जुन क्षति भएको छ त्यसले पर्यटन उद्योगमै समस्या आउन सक्छ । अहिले निजी क्षेत्रमा भएको क्षतिले बिमा क्षेत्र पनि प्रभावित भएको छ । हाम्रो बिमा क्षेत्र अत्यन्त सानो छ । अन्य क्षेत्रमा पनि त्यसको असर पर्छ । अब निजी क्षेत्रमा कन्फिडेन्स दिनका लागि शान्ति सुरक्षाको प्रत्याभूति गर्न सकिएन भने लगानीकर्ताले थप लगानी पनि गर्दैनन् । विदेशी लगानी पनि थपिँदैन ।
त्यसले हाम्रो अर्थतन्त्र थप नकारात्मक दिशातर्फ जान सक्ने सम्भावना धेरै छ । अबको राज्य प्रशासनले लगानीको लागि उपयुक्त वातावरण बनाउन सक्यो, लगानीको सुरक्षा, जिउधनको सुरक्षा गर्छ भन्ने खालको नीतिगत र कार्यगत र व्यवहार देखाउन सक्यो भने छिट्टै नै लयमा आउन पनि सक्छ । अर्थतन्त्र फेरि अगाडि बढ्छ ।
जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्यको एजेन्डा थियो । के अब भ्रष्टाचारमा कमि आउने अनुमान गर्न सकिन्छ ?
जेनजी पुस्ताको आन्दोलनको प्रमुख उदेश्य एवं लक्ष्य भ्रष्टाचार अन्त्य गर्ने नै थियो । अब त्यसतर्फ दलहरू नै लाग्नु पर्ने हुन्छ । भ्रष्टाचारलाई घटाउन सकियो भने आन्दोलनको औचित्य पुष्टि हुन्छ । स्रोतको प्रभावकारिता बढ्छ । मितव्ययिता र स्रोतको प्रभावकारिताको अभिवृद्धि गर्ने एक्सन प्लान बनाएर काम गर्ने हो भने आउँदा दिनमा भ्रष्टाचार कम हुन सक्छ । अब कमसेकम अहिले भएको भ्रष्टाचारमा ५० प्रतिशत कम गर्न सक्यौं भने पनि ठूलो उपलब्धि मान्नुपर्छ । जेनजीको आन्दोलनले सबैलाई के सबक चाहिँ सिकाएको छ भने कसैले भ्रष्टाचार गर्यो भने माफी पाउने छैनन् । तर, त्यसलाई अहिले नै कडा रूपमा अगाडि बढाउन आवश्यक छ ।