सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुटुमा रहेको नापी कार्यालय अहिले धुवाँ र खरानीको गन्धले भरिएको छ । गत मंगलबार जेन–जी प्रदर्शनका क्रममा यहाँका सरकारी कार्यालयलाई मुख्य निसानामा पारिँदा यस कार्यालयले ठुलो क्षति बेहोरेको छ । करोडौं खर्चेर बनेको भवनमा अहिले कालो रित्तो पर्खाल मात्र बाँकी छ । कार्यालयमा भएका महत्वपूर्ण दस्ताबेज जलेर खरानी भएपछि नापीका सम्पूर्ण सेवा ठप्प छन् ।
आन्दोलनकारीले नापी कार्यालयमा रहेका नक्सासम्बन्धी सम्पूर्ण स्रेस्ता र जिन्सी सामग्री जलाएपछि सेवा अवरुद्ध बनेको हो । अराजक समूहको आगजनीमा नक्सा र कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएपछि कर्मचारी कामविहीन छन् । ‘अफिस त आइरहेका छौं तर स्रेस्ता, नक्सा र कम्प्युटर केही नभएपछि त्यसै फर्किने गरेका छौं,’ एक कर्मचारीले भने, ‘जलेर खरानी भएका दस्ताबेज हेर्नेबाहेक अरू काम छैन ।’
अहिले आगजनीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । क्षतिको मूल्यांकन भएपछि सरसफाइ गरेर सम्भव सेवा सुरु गर्ने तयारी छ । नापी कार्यालयले मुख्यतः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)सम्बन्धी सेवा, नाप–नक्सा उपलब्ध गराउने, नामसारी गर्ने, विवाद समाधान गर्ने र अभिलेख सुरक्षित राख्ने कार्य गर्छ । जग्गाको खरिद–बिक्री, उपहार, वंश परम्परा, दान वा अन्य कारणले जग्गाधनी नामसारी गरिदिन्छ । यस्तै, हराएको वा बिग्रिएको लालपुर्जा पुनः प्राप्त गर्न पनि नापी कार्यालय नै जानुपर्छ । यससँगै, जग्गा टुक्र्याउँदा वा जोड्दा नक्सा सच्याउने, अतिक्रमण वा सिमाना विवाद हुँदा नापजाँच गरी प्रतिवेदन तयार गर्ने काम पनि नापी कार्यालयकै जिम्मेवारीभित्र पर्ने अमिन निराजन भण्डारी बताउँछन् । अदालतमा मुद्दा परेको अवस्थामा प्रमाणका लागि प्राविधिक प्रतिवेदन उपलब्ध गराउने, सरकारी निकायलाई जग्गासम्बन्धी सूचना दिने तथा आवश्यक राजस्व संकलन गर्ने कार्यसमेत यसै कार्यालयले गर्छ । तर आन्दोलन भड्किएर आगजनी भएपछि नापी कार्यालयले दिने यी सबै सेवा ठप्प छन् ।
आन्दोलनकारीले कार्यालयभित्र पसेर गरेको तोडफोड र आगजनीका कारण महत्वपूर्ण दस्ताबेज र सर्भर जलेर नष्ट भएको नापी प्रमुख दिनेशकुमार भण्डारीले बताए । उनका अनुसार, कार्यालयका २२ वटा कम्प्युटर र प्रिन्टर जलेर नष्ट भएका छन् । कार्यालयमा भएको मोटरसाइकल र कारसमेत जलाइए । भवनसँगै सम्पूर्ण स्रेस्ता र जिन्सी सामग्री जलेर नष्ट भएकाले तत्कालै सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भण्डारी बताउँछन् । ‘अहिले क्षति मूल्यांकन हुँदै छ । त्यसपछि सरसफाइ गरेर कसरी सेवा सुरु गर्ने छलफलमा छौं । दसैंअघि सेवा दिन मुस्किल छ,’ उनले भने । नापी कार्यालयमा हाल २५ जना कर्मचारी कार्यरत छन् ।
जग्गा नापजाँचसम्बन्धी अधिकांश प्राविधिक काम कागजमै हुने भएकाले कागज पूर्ण रूपमा जलेर नष्ट हुँदा कसरी सेवा सुचारु गर्ने अन्योल कायमै छ । कार्यालयका विवरण नापी विभागसँग रेकर्ड नभए जग्गासम्बन्धी कार्य शून्यबाट सुरु गर्नुपर्ने स्थिति आउने भण्डारी बताउँछन् ।
नापीमा रहेका २०२९ सालयताका सबै कागजात जलेर नष्ट भएको हुँदा पुनः शून्यबाट काम सुरु गर्नुपर्ने अवस्था आएको उनले बताए । पुराना नक्साका कागजात बनाउन वर्षांै लाग्ने उल्लेख गर्दै नापी प्रमुख भण्डारीले भने, ‘नक्सा र कागजात तयार गर्न जनताले निकै सास्ती खेप्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘२०२८/२९ सालयताका नक्सासम्बन्धी भएका सबै स्रेस्ता जलेर खरानी बनेका छन् । अब ती कागजात तयार गर्न २०/२५ वर्ष लाग्छ । त्यतिबेलासम्म जनताले दुःख पाउने भए ।’ विभागमा डाटाहरू सुरक्षित भेटिएमा भने अहिलेको स्थितिबाट उठ्न सहज हुने भण्डारीले बताए ।
साढे २ करोड क्षति
आन्दोलनबाट भएको क्षतिको विवरणको मूल्यांकन गर्न गत बुधबारदेखि कर्मचारी सक्रिय थिए । उनीहरूले पाँच दिन बढी लगाएर क्षतिको अनुमानित विवरण निकालेका छन् । जसअनुसार आगजनीबाट साढे २ करोड क्षति पुगेको अनुमान छ । स्रेस्ता जलेका कारण वास्तविक नोक्सानी अझ बढी हुन सक्ने प्रमुख भण्डारी बताउँछन् । ‘जलेका गाडीको मूल्य नै खुलेको छैन, कागजातको त मूल्यांकन सम्भव छैन,’ उनले भने, ‘भवनलगायतको क्षति मूल्यांकन गर्दा २ करोड ६५ लाख बढी क्षति भएको छ ।’
यति ठुलो क्षति भए पनि तत्काल सेवा सुचारु गर्न आवश्यक बजेट भने आफूहरूसँग नभएको उनले बताए । भण्डारीले भने, ‘हामीसँग कुनै बजेट छैन । सेवा सुचारु गर्न विभागसँग बजेटको माग गरेका छौं ।’