काठमाडौं : काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् ।
नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए । उनका अनुसार यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले यसवर्ष दसैंका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ ।
मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो संख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए । उनका अनुसार जेनजी प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायाता सञ्चालनमा आएपछि उपत्यका छोडेर गृहजिल्ला जानेको सङ्ख्या ६५ हजार भन्दा बढी पुगेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यसवर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको संख्यामा कमी आउनसक्ने धारणा राखे ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सरकारले दसैंको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको छ ।