नेपाल आउने पर्यटकको नेपालमा बिमा नहुने तर, विदेशमा बिमा गर्दा चर्काे मूल्य तिर्नु पर्ने अवस्थामा पर्यटक आगमनमा नै समस्या आउने गरेको छ । ‘ट्राभल इन्स्योरेन्स’ नहुँदा
पदयात्रा, आरोहण तथा साहसिक यात्रा गर्दा पर्यटकले आफ्नै देशमा मोटो रकमको बिमा गर्नुपर्ने बाध्यता छ ।
बिमाको रकम आर्जन गर्नलाई पर्यटकलाई जबर्जस्ती बिरामी बनाएर फर्जी उद्धार र उपचारको नाममा समेत बिमा असुल्ने धन्दा नै चल्दा नेपालमा आउने पर्यटकको कम्पनी बिमा गर्न नमान्ने जस्तो अवस्थाले नेपालको पर्यटन क्षेत्र बदनाम समेत गराएको पर्यटन व्यवसायी बताउँछन् । तर, यस्ता समस्यालाई न्युनिकरण गर्न नेपाल पर्यटन बोर्डका पूर्व सिइओ एवं पर्यटन व्यवसायी डा. धनञ्जय रेग्मीले नेपाल आउने पर्यटकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले पर्यटक हिमालयन गार्जियन नेपाल (एचजीएन) अन्तरगत बिमा योजना सञ्चालन गरेका छन् ।
प्रस्तुत छ, नेपाल भ्रमणका लागि आउने विदेशी नागरिकलाई सस्तो तथा प्रभावकारी बिमा योजनाका साथ स्थापना भएको हिमालयन गार्जियन नेपाल तथा नेपालको पर्यटन क्षेत्रको विषयका जानकार डा. धनञ्जय रेग्मीसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
हिमालयन गार्जियन नेपाल (एचजीएन) ले पर्यटकको बिमामा के काम गर्छ ?
हिमालयन गार्जियन नेपाल (एचजीएन) ले नेपाल भ्रमणका लागि आउने विदेशी नागरिकलाई लक्षित गरेर बिमा योजना ल्याएको हो । हामीले यस बिमा योजनामा विश्वकै सस्तो तथा प्रभावकारी बिमा दिने गरी काम गरेका छौं ।
यो नेपाल आउने पर्यटक जो घुम्न, साहसिक पदयात्रा, हिमाल आरोहणमा आउने सबैको लागि बिमा योजना हो । परम्परागत बिमा प्रणालीले पर्यटकहरूलाई आफ्नै मुलुकमै महँगो बिमा लिन बाध्य भएको अवस्थामा हामीले हिमालयन गार्जियन नेपालबाटै बिमा सुविधा प्रदान गरेका छौं ।
पर्यटकको बिमा कसरी हुन्छ ?
नेपाल आउने पर्यटकले नेपालका दर्ता भएका ट्रेकिङ तथा टुर एजेन्सीबाट बिमा योजना लिन सक्छन् । पर्यटन बिमा, पदयात्रा बिमा, हिमाल आरोहण बिमागरी तीन प्रकारको बिमा गर्न सकिन्छ । सबै बिमा योजनाहरू नेपालका दर्ता भएका ट्रेकिङ तथा टुर एजेन्सीबाट हुन्छ ।
सरकारले ट्रेकिङ र आरोहणका लागि गाइड र एजेन्सी अनिवार्य गरेको हुँदा विदेशी पर्यटकले आफ्ना ट्रेकिङ वा टुर प्रदायकमार्फत सजिलै बिमा गर्न सक्छन् । उनीहरूले ती मार्फत सजिलै प्राविधिक सहयोग पनि प्राप्त गर्न सक्छन् । जसले हिमालय तथा दुर्गम क्षेत्रमा पनि निरन्तर सञ्चार गर्न मद्दत गर्छ ।
उपकरण साधारण देखिए पनि जीवनरक्षक बन्ने छ । यसमा रहेको एसओएस बटन आपतकालीन अवस्थामा यात्रुको उद्धार गर्न सक्नेछ । बटन थिच्नेबित्तिकै बिमितको अवस्थाबारे कम्पनीसम्म जानकारी पुग्ने व्यवस्था छ ।
पर्यटकको उद्धार कसरी हुन्छ ?
प्रविधिबाट पर्यटक बिरामी भएको जानकारी प्राप्त हुन साथ हामीले उद्धार टोली तथा स्वास्थ्यकर्मी उपलब्ध गराउने र आवश्यकताको आधारमा तत्काल हेलिकप्टर, शेर्पा वा चिकित्सकसम्मको व्यवस्था कम्पनीले गर्छ । अस्वस्थ पर्यटकको समयमै उद्धार हुन्छ भने नक्कली उद्धार तथा अस्पतालहरूको अनावश्यक बढी बिलिङ गरेर फर्जी कामको अन्त्य हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रलाई अझै विस्तार गर्न मद्दत पुग्नेछ ।
यसले नेपालमा फेक रेस्क्यूको अन्त्य समेत हुनेछ । फेक रेस्क्यूको नाममा हस्पिटल, हेलिकप्टरको कमाउने धन्दाले नेपालकै छबि बिग्रिएको अवस्थामा हिमालयन गार्जियन नेपालले सो कार्यलाई रोक्नेछ । इन्स्योरेन्स पोलिसी नेपालको नपाइने अन्तर्राष्ट्रिय बजारमा साह्रै महँगो पर्ने हुँदा इच्छा शक्त्ति हुदाँहुँदै पनि नेपाल आउने पर्यटकको संख्यामा कमि भइरहको थियो ।
बिमा योजनाले नेपालको पर्यटन उद्यमलाई कसरी सहयोग गर्छ ?
अब नेपाल आउने विदेशी पर्यटकले सस्तोमा बिमा योजना लिन सक्नेछन् । नेपालकै बिमा भएपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको छबि पनि राम्रो भएर जानेछ । नेपालबाटै बिमा पोलिसी भएकोले अब नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभर जान्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकलाई कुनै डर हुनेछैन ।
अन्त्यमा, जेनजी आन्दोलनपछि पर्यटकहरूले नेपालको बुकिङ रद्द गरिहरेका छन्, अब पर्यटक नेपाल आउने वातावरण कसरी बनाउने ?
आन्दोलनको विषयमा जसरी विश्वभरमै समाचार बन्यो त्यसले नेपाल आउने पर्यटक आत्तिएकै देखिन्छ । प्रि बुकिङ क्यान्सिल हुँदा दुई दिनको आन्दोलनले पर्यटन उद्योगलाई धेरै नै घाटा लगाइदिएको छ । तर, यस्तो बेला हामीले विश्वभरका पर्यटकलाई सकारात्मक म्यासेज दिन आवश्यक छ ।
ग्लोबल मार्केटमा जेनजीको आन्दोलन दुई दिनमै सकियो । अब नेपाल पुरानै लयमा आयो भन्ने सन्देश जान आवश्यक छ । आन्दोलनको क्रममा कुनै पनि विदेशी पर्यटक, पर्यटक गाडीदेखि कुनै पनि विदेशीलाई समस्या नपरेको भन्ने सन्देश सरकार र पर्यटन बोर्डमार्फत दिन आवश्यक छ । नेपाल इज ब्याक, नेपाल इज सेफ भन्ने म्यासेज दिन आवश्यक छ ।
त्यसका लागि पर्यटन बोर्डमा लिस्ट भएका ८ हजार भन्दा ट्राभल एजेन्सीमार्फत सन्देश पठाउने काम गर्न सकिन्छ । जेनजी आन्दोलनले नेपालको नाम अझै विवश्वभर फैलिएको छ अब हामीले यसलाई ट्रयाकमा गएको सामाजिक सञ्जाल, मिडिया तथा ट्राभल एजेन्सीमार्फत गर्ने हो भने पर्यटन क्षेत्रले छिटो लय समाउँछ ।
पर्यटन क्षेत्रमा उतारचढाव आउँछ तर, नेपालमा द्वन्द्व कालमा समेत पर्यटक आगमन भइरहको हुँदा अहिलेको आन्दोलनबाट हामी छिट्टै अगाडि आउँछौं ।