२०८२ असोज ६ गते सोमवार / Sep 22 , 2025 , Monday
२०८२ असोज ६ गते सोमवार
Ads

विद्रोहपछि अन्तर्राष्ट्रिय ध्यान : बेरोजगारी र वैदेशिक रोजगारीमा अडिएको नेपाल

shivam cement
२०८२ असोज ६ गते ०६:१५
विद्रोहपछि अन्तर्राष्ट्रिय ध्यान : बेरोजगारी र वैदेशिक रोजगारीमा अडिएको नेपाल

काठमाडौं : जेनजी पुस्ताले गरेकोे विद्रोह र छोटो समयमा भएको सरकार परिवर्तन पछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाली समाजमा रहेकोे बेरोजगारी र वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरतामा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् ।

फ्रान्सेली समाचार संस्था एएफपीले श्रीमतीलाई वैदेशिक रोजगारमा पठाएका फर्पिङका ३१ वर्षीय बेरोजगार सन्तोष सुनुवार र वैदेशिक रोजगारमा निर्भर फर्पिङवासीको पीडा समेटेर लामो समाचार प्रकाशित गरेको छ । समाचारमा श्रीमान् वा श्रीमती वैदेशिक रोजगारमा जाँदा भएको पारिवारिक विखण्डन, आर्थिक विपन्नता र एक्लोपनको पीडादायी अवस्थाको चित्रण गरिएको छ ।

‘वैदेशिक रोजगारबाट रेमिट्यान्स भित्रिँदा अर्थतन्त्र चलायमान भएपनि परिवारभित्रको पीडा डरलाग्दो छ,’ समाचारमा उल्लेख छ ।

विश्व बैंकका अनुसार नेपालको ८२ प्रतिशत जनशक्ति अनौपचारिक रोजगारीमा छ । ‘१५ देखि २४ वर्ष उमेरका पाँच जना नेपालीमध्ये एक जना बेरोजगार छन् । जीविकाका धेरै सम्भावनाहरू पनि छैनन्,’ समाचारमा उल्लेख छ, ‘प्रतिव्यक्ति जिडिपी वार्षिक १ हजार ४ सय ४७ मात्रै छ, लाखौं नेपालीहरू जीविकाका लागि विदेश जान बाध्य छन् । असन्तुष्टिका कारण यो पनि हुनसक्छ ।’

२२ वर्षीया श्रीमती अमृतालाई दुबईमा वेट्रेसको काममा पठाएका सन्तोष एएफपीका जेनिस ल्याटभेल्स, निकोलस सियरम्यानलाई भन्छन्, ‘हामी श्रीमान् श्रीमती एकअर्कालाई साँच्चै सम्झन्छौं, श्रीमतीबाट टाढा रहनु गाह्रो छ, तर हामी के गर्न सक्छौं ?’ 

३ करोड जनसंख्या भएको नेपालबाट गत वर्ष मात्रै ८ लाख ३९ हजार भन्दा बढी वैदेशिक रोजगारीमा जान बाध्य भएको समाचारमा उल्लेख छ ।

समाचारमा अघिल्लो हप्ता अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले स्थानीय भ्रष्टाचार र बेरोजगारी समस्यालाई सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ । नवनियुक्त प्रधानमन्त्री कार्कीले आफ्नो एजेन्डाको शीर्ष स्थानमा भ्रष्टाचार र बेरोजगारी समस्यालाई राखेको भन्दै समाचारमा भनिएको छ, ‘नेपाली युवायुवतीको खानाकै लागि परिवार छोड्नुपर्ने बाध्यता अन्त्य होस् भन्ने आकांक्षा यस पटक परिवर्तनमा पनि देखिन्छ ।’

सन्तोषकी ४८ वर्षीया आमा मैया सुनारले परिवारसँग बस्ने रहर भएपनि अधिकांश नेपाली युवाहरूसँग कुनै विकल्प नभएर बिदेसिने गरेकोे बताउँछिन् । स्थानीय ६९ वर्षीय श्यामबहादुर खत्री वैदेशिक रोजगारले वृद्ध गाउँहरू सिर्जना गरिरहेको र मृत्यु भएकाहरूको शव बोक्नसमेत कोही युवा गाउँमा बाँकी नरहने बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise