२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

प्रधानमन्त्रीलाई जेनजी बुवाको पत्र : जनअपेक्षामा ध्यान दिनुहोला

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते ०६:००
प्रधानमन्त्रीलाई जेनजी बुवाको पत्र : जनअपेक्षामा ध्यान दिनुहोला

सम्माननीय प्रधानमन्त्री ज्यू, 

यसपटक हाम्रा युवा छोराछोरी (जेनजी)हरूले सरकारले बन्द गरेको सामाजिक सञ्जाल खोल्न, देशको शासकीय व्यवस्था सुधार गर्न र भ्रष्टाचार अन्त्य गर्न भदौ २३ गते काठमाडौंमा आन्दोलन गरेका थिए । यस आन्दोलनका क्रममा मेरा छोराछोरीसँगैका जेनजी बाबुहरू केही प्रहरीको गोली लागेर मृत्युवरण गर्न पुगे । अर्को दिन, भदौ २४ गते, म र देशभरका जेनजी र अभिभावक पनि आन्दोलनको समर्थनमा आयौं । आक्रोशले उग्र रूप लियो र यसका कारण देशमा ठुलो धनजनको क्षति भयो । 

घटनाको समीक्षा गर्दा, यो सबै परिस्थितिको परिणाम हो । सरकार र दलप्रति वितृष्णा पनि यसै समय पोखिएको हो । जब जेनजीको विद्रोह उग्र रूप लियो, राज्य संयन्त्रले भिड नियन्त्रण गर्न असफल भयो । जेनजीहरूले राज्यको घाँटी निमोठिदिए र केही घण्टामा देशको व्यवस्था पराजित गरे । जेनजीका मागअनुसार, तपाईंलाई नेपालको अन्तरिम प्रधानमन्त्रीको पदमा नियुक्ति प्राप्त भएको छ । यस अवसरमा तपाईंलाई बधाई र खुसी व्यक्त गर्न चाहन्छु । तपाईंका विचार हामीले गाउँमा बसेर सुनेका छौं ।

साथै, यस घटनाले हामीलाई यो पनि सिकाएको छ कि जब विद्रोही समूहले विजय प्राप्त गर्छ, तब देशको शासन त्यसैको इच्छाअनुसार चल्नुपर्छ । युद्धका नियमलाई आधार मानेर, जेनजी युवाहरूको भावना सेनाले पनि बुझ्यो । यसले ठुलो मानवीय क्षति रोक्यो र देशलाई जोगायो । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको लोकहित हो ।

तपाईं हाम्रा लागि बजै आमा जस्तो हुनुहुन्छ । तपाईंले यसपटक नेपालमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा पद सम्हालेको अवसरमा हामी तपाईंको सफलताको शुभकामना व्यक्त गर्दछौं । तपाईंले देशको शासन व्यवस्थामा सुधार गरेर, राम्रो रीतिथिति स्थापित गर्ने अवसर पाउनुभएको छ । तपाईंको नेतृत्वले देशको समस्या समाधान गर्ने ठुलो अवसर दिएको छ । तपाईंले संविधान र कानुनी सुधारका माध्यमबाट, दलका शक्ति भागबन्डामा सुधार ल्याउने प्रयास गर्नुहुनेछ भन्ने विश्वास छ ।

तपाईंले यसअघि पनि निकै महत्वपूर्ण जिम्मेवारी सम्हानुभएको थियो । साथै, न्यायपालिकाका प्रमुख प्रधानन्यायधीशका रूपमा पनि तपाईंको अनुभव रहेको छ । तपाईंको जेनजी नातिजस्तै, हामीलाई विश्वास छ कि तपाईं शहीद जेनजीहरूको रगत र जीवित जेनजीहरूको भावना बुझेर काम गर्नुहुनेछ ।

नेपालका सबै सरकारी निकायहरू भ्रष्टाचार र दलालहरूको हातमा छन् । संविधानले सरकारलाई समाजवादतिर डोर्‍याउन भनेको भए तापनि अहिलेका नेताहरूले पुँजीवादलाई प्रोत्साहन दिएको देखिन्छ । यसले जनतालाई उचित सेवा दिने पद्धतिमा ठुलो समस्या सिर्जना गरेको छ ।

देशका लाखौं जेनजीहरूको आशा र भरोसा तपाईंमाथि छ । यदि शीर्ष नेताहरूले अकुत सम्पत्ति प्राप्त गरेका छन् भने त्यसको छानबिन गर्नुपर्छ । यदि उनीहरूले भ्रष्टाचार नगरेका हुन् भने हामी माफी माग्नेछौं ।

जेनजीको विद्रोहको छानबिन गर्न र गैरराजनीतिक, इमानदार र दक्ष मन्त्री नियुक्त गर्न आवश्यकता छ । नयाँ नीति र दृष्टिकोण ल्याउन आवश्यक छ । देशका अग्रगामी नेताहरू र कर्मचारीहरूको आचरण पनि सुधार गर्नुपर्नेछ ।

हाम्रो देशमा कतिपय कानुनी र नीतिगत समस्या छन् । संविधानको संशोधन गरेर दलहरूको शक्ति भागबन्डा कम गर्नुपर्ने आवश्यकता छ । केही नेताहरूको इच्छाशक्तिमा कमजोरी छ, जसका कारण इमानदारी र नैतिकता कमजोर हुँदै गइरहेको छ ।

जनताको वास्तविक आवश्यकता र मागलाई बुझ्न सरकारी निकायलाई व्यापक सुधार गर्नु आवश्यक छ । विशेषगरी, वडास्तरमा नागरिकहरूको सेवासुविधाका लागि व्यवस्था गर्नुपर्ने देखिन्छ । काठमाडौंबाट घर आएका मेरा जेनजी छोराहरूका विचारअनुसार, प्रदेश खारेजी गर्ने, संसद घटाउने, समानुपातिक प्रतिनिधित्व नराख्ने, जनप्रतिनिधिका सेवासुविधा घटाउनेजस्ता सुधारको आवश्यकता छ ।

जेनजी विद्रोह जसरी भयो, यसको कुनै बाह्य कारण छैन, विगतका शासकहरूले थुपारेको कुशासनको असर नै युवा तथा विद्यार्थी सडकमा उत्रिएका हुन् । जेनजीले कुशासनको सत्ता मात्रै ढलाएका छैनन्, अब फेरि उठ्ने अवस्था नआओस् भन्ने पनि चाहेका छन् । प्रधानमन्त्रीले यो भावनालाई भित्रैदेखि बुझेर व्यवहार गर्नु आवश्यक छ ।

अन्ततः तपाईंको कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

जगदीश रोकाया
बझाङ

ADV

सम्बन्धित खबर

Advertise