२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

ब्यारेकबाट निस्किए शीर्ष नेताहरू

shivam cement
जानकी पाठक
२०८२ असोज ३ गते ०६:४०
ब्यारेकबाट निस्किए शीर्ष नेताहरू

काठमाडौं : जेनजीको आन्दोलनपछि सेनाको संरक्षणमा रहेका शीर्ष नेताहरू ब्यारेकबाट निस्किएका छन् । 

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सेनाको संरक्षणबाट बाहिर निस्किए । उनी भक्तपुरमा नयाँ डेरा लिएर बसेका छन् । उनी बस्दै आएको भक्तपुरकै बालकोटस्थित निवास जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको छ । यसकारण ओलीले नयाँ डेरा लिएका हुन् । 

जेनजीको आन्दोलनकै कारण ओली प्रधानमन्त्री पदबाट पदच्युत भएका थिए । उनले गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा दिए लगत्तै सेनाको संरक्षणमा रहँदै आएका उनी १० दिनपछि बाहिर निस्किएका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचाररत रहेका छन् । उनी जेनजीको प्रदर्शनका क्रममा आफ्नै निवास बुढानिलकण्ठमा थिए । देउवा र उनका पत्नी आरजु देउवा राणा प्रर्दशनकारीबाट लछारपछारमा समेत परेका थिए । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सेनाको संरक्षणबाट बाहिर आइसकेका छन् । दुवै जना पूर्वप्रधानमन्त्री हुन् । उनीहरू गत मंगलबार आ–आफ्ना पार्टी कार्यालय पुगेका थिए ।

प्रचण्डले त यसबीचमा आफ्ना धारणा समेत निरन्तर जसो सार्वजनिक गरिरहेका छन् । मंगलबार पार्टी कार्यालय पुगेर सरसफाइमा समेत सहभागी भएका उनले नयाँ र भव्य पार्टी भवन बनाउने भन्दै कार्यकर्तालाई उत्साहित बनाउने प्रयास गरे । तर आम रुपमा देशमा भएको क्षति एकातिर रहेको देख्दा देख्दै पार्टी कार्यालयकै चिन्ता गरेको भनेर आलोचना खेपे ।

बिहीबार फेरि प्रचण्डले भिडियो सन्देश जारी गरेका छन् । संविधान दिवसको अवसरमा गरेको सम्बोधनका क्रममा उनले जेनजीको मागहरूमा समर्थन जनाएका छन् । 

उनले भनेका छन्, ‘जेनजीले उठाएका माग माओवादीले उठाउँदै आएका माग र एजेण्डा हुन् । हामीले यो विषय निरन्तर उठाइरह्यौं । सरकारमा पनि गयौं तर संख्याको कारणले सम्बोधन गराउन सकेनौं ।’

नियत सफा हुँदा हुँदै गठबन्धन सरकारमा रहनु परेको र जनताको चाहना अनुसार काम गर्नमा व्यवहारिक रुपमा चुकेको उल्लेख गर्दै उनले आफूहरूबाट कमजोरी हुन पुगेको समेत स्वीकारेका छन् । 

‘एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन। गठबन्धनको बाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो,’ उनले भनेका छन् ।

माओवादी केन्द्र संसदीय राजनीतिमा आएको २० वर्ष भयो । पहिलो संविधानसभामा झन्डै दुई तिहाई बहुमत नजिक मत ल्याएको थियो । संविधानसभाबाट नयाँ संविधान बनाउने भन्दै भोट मागेको तत्कालीन माओवादीबाट गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड बनेका थिए । तर, उनले नै नेतृत्व गरेको पार्टीको पालुङटार बैठकले विद्रोहको नीति लिएको थियो । माओवादी नेतृत्वमा भएको सात दिने काठमाडौं केन्द्रित विद्रोह असफल भएको थियो ।

दोस्रो संविधानसभामा माओवादी पहिलो र विशाल पार्टीबाट तेस्रो पार्टीमा खुम्चिएको थियो । प्रचण्डले सम्बोधनको क्रममा सानो आकार हुनुलाई कारण देखाए पनि आफ्नो नेतृत्वमा भएका कमजोरीबारे जिम्मा लिएका छैनन् । पहिलो संविधानसभादेखि यता माओवादी सबैभन्दा बढी समय सरकारमा सहभागी रहँदै आएको छ ।

‘तर, हामीले देशविरुद्ध कुनै राष्ट्रघाती सम्झौता गरेनौं। कुनै काण्डमा मुछिएनौं । कुनै कलंकको टीका लगाएनौं । भ्रष्टाचार विरुद्ध जुधिरह्यौं तर, जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा भने हामी कमजोर देखियौं,’ उनले भनेका छन्, ‘तपाईंहरूले देखिरहनुभएको छ– हामीले आफूलाई सच्याइरहेका छौं र अझै सच्याउने छौं।’

सम्बोधनको क्रममा प्रचण्डले निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्ने भने पनि कहिले र कसरी भन्ने बारे स्पष्ट पारेका छैनन् । ‘हामीले निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरणबारे छलफल अगाडि बढाइरहेका छौं,’ उनले भनेका छन् ।

जेन–जी आन्दोलनपछि प्रमुख दलहरूको शीर्ष नेतृत्वलाई बिदा गर्नुपर्ने माग र दबाब बढिरहेको छ । यस्तो बेला सेनाको संरक्षणबाट बाहिर निस्केर सबै दलका शीर्ष नेताहरूले प्रतिक्रिया समेत सार्वजनिक गर्न थालेका छन् । तर, नेतृत्व छाड्ने विषयमा बोलिरहेका छैनन् । 

प्रचण्डले त आफ्नो आवश्यकता अझै रहेको भनेर नेतृत्व नछाड्ने संकेत गरेका छन् । 

‘२४ गते राष्ट्रकै गौरव र धरोहरका रूपमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगायतका संरचना र देशव्यापी रूपमा भएका तोडफोड, लुटपाट र आगजनीबाट जसरी विध्वंश गरियो, ती जेनन्जीका काम थिएनन्,’ उनले भनेका छन्, ‘ती प्रतिगमनकारी र अपराधी तत्वहरूको नेपाल र नेपाली जनता विरुद्ध गरिएका प्रहार थिए। यसबाट आज देश इतिहासकै गम्भीर संकटमा परेको छ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise