२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन, सचेत बनौं : मुख्यमन्त्री कँडेल

shivam cement
कुलेन्द्र शाही
२०८२ असोज १ गते १९:४४
प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन, सचेत बनौं : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरू उल्टाउन लागिरहेकोले नागरिक सचेत हुनुपर्ने बताएका छन् । अहिलेको राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै सबै नागरिकस्तरबाटै सचेत हुनुपर्नेमा  मुख्यमन्त्री कडेलले जोड दिएका हुन् ।

मंगलबार वीरेन्द्रनगरमा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको दाबी गरे । “सात दशकको त्याग, बलिदान र संघर्षपछि ल्याइएको संविधान आज धरापमा परेको छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ,” उनले भने ।

उनले सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरू कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको टिप्पणी गरे । चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको ढालिएको हो उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र संगठनलाई बलियो बनाउन आह्वान गरे ।

उनले भने, “व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ । अभिलेख र रेकर्ड जिल्ला पार्टी कार्यालयमा उपलब्ध गराउनुपर्छ । सबै वडामा बैठक, भेलामार्फत संगठनलाई सुदृढ पार्नुपर्छ ।”

उनले संविधान दिवसलाई विशेष अर्थका साथ मनाउनुपर्ने भन्दै आवश्यक परे सडक आन्दोलनको तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनका अनुसार संगठन बलियो हुँदा मात्र संघर्ष जित्न सकिन्छ, कमजोर हुँदा भने समाजमा विकृति र वेथिती मौलाउने अवस्था आउँछ ।

युवालाई आन्दोलनमा अगाडि ल्याउन र महिलाको सहभागिता बढाउन सकेमात्र जनमत परिवर्तनमा निर्णायक सफलता हासिल गर्न सकिने उनको विश्वास थियो । “७० वर्षको संघर्षबाट ल्याइएको गणतन्त्र जोगाउन संगठनात्मक शक्ति, जनविश्वास र निरन्तर अभियान अपरिहार्य छ,” मुख्यमन्त्री कँडेलले जोड दिए ।

बैठकमा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजग शाह, जिल्ला कमिटी अध्यक्षसहित विभिन्न नेताहरू सहभागी थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ वटै वडाका अध्यक्षहरूले आ-आफ्नो वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise