काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड मंगलबार पार्टीको काममा फर्किएको घोषणासँगै नेता शर्माले उनको राजीनामा माग गरेका हुन् ।
पुराना पार्टीका शीर्ष नेताहरूको कार्यशैलीप्रति असन्तुष्ट बनेको जेनजी पुस्ताको आन्दोलनले पार्टी संरचनासमेत परिवर्तनको माग गरेको शर्माको निष्कर्ष छ । पार्टीभित्र केही समयदेखि रूपान्तरणको कुरा गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य सकिएको बताएका छन् । ‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ शर्माको भने ।
पछिल्लो विकसित घटनाक्रमले सबै राजनीतिक दलमा पुर्नसंरचनाको बहस चलेको छ । यस अघिदेखि नै माओवादीमा पार्टी नेतृत्वको विकल्प खोज्दै आएका प्रभाकरका लागि यो आन्दोलनले सहयोग पु¥याएको देखिन्छ । माओवादी अध्यक्ष प्रचण्ड जेनजीको आन्दोलनपछि मंगलबार सार्वजनिक भएका छन् । उनले पार्टीको भग्नावशेषको अवलोकन गर्दै पार्टी कार्यालय चाँडै भव्य बनाउने बताएका छन् । उनको यो अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा आलोचना भइरहेको छ । यो अवस्थामा मुलुक बनाउनेभन्दा पनि पार्टीको भवन बनाउने विषयलाई प्राथमिकता दिनुले सकारात्मक सन्देश नदिएको नेताहरूले बताएका छन् ।
पार्टी शीर्ष नेताहरूको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै आएका जनार्दनले जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको जनाएका छन् । त्यसैले वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् । जेनजी आन्दोलनपछिको परिवेशमा पार्टीको वर्तमान संरचना भंग गरेर महाधिवेशन गर्नतिर लाग्नुपर्ने नेताहरूको भनाइ छ । जनार्दनले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने मागसमेत गरेका छन् ।