काठमाडौं : जेनजी आन्दोलनपछि विघटित संसद्का तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रभित्र पार्टी संरचना र नेतृत्व पुर्नगठनको दबाब बढ्दैगएको छ । पार्टीका संस्थापनइतर मात्र हैन, नेतृत्वनिकटहरुसमेत मुख खोल्दैछन् । तर, ती दलहरुमा नेतृत्वको बहस कसरी अघि बढ्छ अझै टुंगो लागेको छैन ।
युवा नेताहरूले आन्तरिक लोकतन्त्र र पार्टी पुर्नसंरचनाको आवाज उठाइरहेका छन् । त्यस्तो आवाज यसअघि पनि उठ्दैआए पनि कतै सुनुवाई भइरहेको थिएन् । कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनको मितिसमेत नतोकेर कार्यकाल २०८४ सम्मै लम्ब्याउने दाउमा थिए । एमाले अध्यक्ष केपी ओली भर्खरै विधान महाधिवेशन गरेर नेतृत्वमा तेहेरिने रणनीतिमा थिए । अनि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै चार दशकदेखि आफूलाई निर्बिकल्प ठानिरहेका थिए । नेतृत्व छाड्नुपर्ने दबाब बढेपछि ती पार्टीहरुमा सुरक्षित अवतरणको बाटो खोजी हुन थालेको छ ।
सत्ता उलटफेरको गम्भीर परिस्थिति आउँदासमेत तीन पार्टीहरुले औपचारिक बैठकसमेत डाँक्न सकेका छैनन । ती बैठकले बर्हिगमन गराउने भय उनीहरुमा देखिन्छ । यहीबेला दोस्रो र तेस्रो तहका नेताहरु नेतृत्व र संगठन पुर्नगठनको बहस छेडेका छन् । कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू डा शेखर कोइराला, चन्द्र भण्डारी, प्रदीप पौडेल, सहमहामन्त्री जीवन परियारलगायत नेताहरू जनभावनालाई समेटेर पार्टीमा पुर्नसंरचनामा लैजानुपर्ने बताउँदै आएका छ । पार्टीलाई समयानुकुल बनाउन विगतको समीक्षा गर्दै संस्थागतरूप निर्णय लिनुपर्ने सहमहामन्त्री परियारले बताए ।
‘पछिल्लो घटनापछि पार्टीभित्र विभिन्न तहका नेता कार्यकर्ताको स्वस्फुर्त रूपमा विभिन्न विचारहरू आएका छन्’, परियारले मध्यान्हसँग भने ‘हामीले व्यक्ति केन्द्रीतभन्दा पनि एजेण्डाकेन्द्रीत भएर पार्टीलाई समयानुकुल बनाउन विगतको समीक्षा गर्दै संस्थागतरूपमै जानुपर्दछ । पार्टीको पुर्नसंरचना अधिवेशनबाट मात्रै हुने कुरा हो ।’ पार्टीका पदाधिकारी र सदस्यहरूले के नगरेका कारण यो अवस्था आयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने उनले बताए ।
‘आम जनताको भावना अनुसार केन्द्रीय समितिले संस्थागत निर्णय गरेर जानुपर्छ । त्यसका लागी हामी चाँडै पार्टीको बैठक बस्छौं’ परियार भन्छन् । कांग्रेसमा ‘अर्लि’ महाधिवेशन गरेर वर्तमान नेतृत्वलाई विदा गर्ने युवा नेताहरूको योजना छ ।
आन्दोलनकारीले पार्टी कार्यालय र नेताहरूका निवाससमेत ध्वस्त पारेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय मात्र हैन, शीर्ष नेताका घर पनि जलाइएका छन् । घाइते देउवा र घरबारविहीन बनेका ओली तथा प्रचण्डलाई तत्कालै पद छाड् भन्न धेरै नेताले अप्ठेरो मानिरहेका छन् । तर, पार्टीको भौतिक संरचना पुर्ननिर्माणसँगै पुराना नेताहरूलाई अवकाश गराएर नयाँ नेतृत्वमा चुनावमा जानुपर्ने मत दलहरुमा बलियो बन्दै गएको छ ।
एमालेभित्र पनि पार्टी पुनर्गठनको बहसले भित्रभित्रै तिब्रता पाएको छ । पार्टी अध्यक्ष ओलीको एकलौटी चल्दै आएको एमालेमा फरक मत राख्नेहरू पार्टीबाटै निस्कासनमा परेका उदाहरणसमेत छन् । तर, प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटारबाट भागेका ओली बाहिर नआउँदै दोस्रो तहका नेताहरूले नेतृत्व परिवर्तनको आवाज उठाउन थालेका छन् । एमाले सचिव योगेश भट्टराई बदलिएको परिस्थितिबारे पार्टीमा छलफल गरेर आगामी योजना तय गर्ने बताउँछन् । उनले भने, ‘यो घटनापछि एमालेमा पनि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै समयको प्रवाह र युवा पुस्ताको मागलाई समेत आत्मसात् गरी पार्टी पुनर्गठन र पुनर्संचनाका लागि छलफल आवश्यक ठानेका छौं ।’ के कसरी जाने भन्ने पार्टी बैठकबाटै निर्णय गरेर जाने उनले बताए ।
कांग्रेस र एमालेमा पार्टीको महाधिवेशन नजिकिँदै छन् । एमालेको गत भदौं २०–२२ मा विधान अधिवेशन गरेर ६ महिनाभित्रै राष्ट्रिय महाधिवेशनको तयारी गरेको थियो । त्यस्तै, मिति नतोकिए पनि कांग्रेसको १५ औं महाधिवेशन आउँदो मंसिरमा हुनुपर्ने थियो । तर, एक वर्षको म्याद थप गरी २०८३ मंसिरभित्र गरिसक्ने गरी आवश्यक तयारी गरिरहेको थियो । यो घटनाले पार्टीको महाधिवेशन २०८३ सम्म कुर्न नसक्ने अवस्था आएको छ ।
दलहरुले बिस्तारै आफ्ना गतिविधि सुरु गर्न थालेका छन् । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल छलफल गरेका छन् । सोमबार पार्टी कार्यालयमा गएर ठूलो झण्डा लगाएर ‘एमाले फेरि उठ्ने’ सन्देश दिएर फर्किए । माओवादी केन्द्रले भर्चुअल बैठक गरिसकेको छ । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा पार्टी कार्यालय पुगेर नेता–कार्यकर्तालाई संयम अपनाउन आव्हान गरेका छन् । तर, पार्टीहरु छिट्टै बैठक बसेर नेतृत्व परिवर्तन गर्ने संकेत भने देखिएको छैन ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीलाई पेवा ठान्ने नेताहरूका कारण यो अवस्था आएको टिप्पणी गरिरहेका छन् । पार्टीको पूर्नसंरचना गरी जनतामा जानसक्नु पर्ने उनको भनाइ छ । उनी अध्यक्ष प्रचण्डको विकल्प खोज्न हिम्मत जुटाइरहेको उनीनिकट नेताहरु बताउँछन् । तर, केही अघिका पार्टी बैठकमा एक्लिएका शर्मालाई अरु कसले साथ देलान् अहिल्यै भन्न सकिने स्थिति छैन ।
जेनजी आन्दोलनले राजनीतिक दलहरूले भ्रष्टाचारको अत्यका लागी अभियान चलाउने र नागरिकका पक्षमा सच्चिएर काम गर्ने अवसरका रूपमा लिन सकिने विश्लेषकहरू बताउँछन् । तर दलहरू अझै सुधार भएर जाने कुरामा शंका कायमै रहेको विश्लेषक लोकेश ढकालको टिप्पणी छ । ‘मुलुकको रोग नै भ्रष्टाचार हो । दलका नेतादेखि कार्यकर्तासमेत भ्रष्टाचारमा डुबेका कारण यो अवस्था आएको हो’, ढकालले मध्यान्हसँग भने ‘तर दलहरू अझै सुध्रिने पक्षमा देखिएका छैनन । घटनाको एक हप्ता सम्म पार्टीहरूले आधिकारीक धारणा सार्वजनिक गर्न सकेका छैनन् । नेताहरूले व्यक्तिगत रूपमा दिएका अभिव्यक्तिले पार्टीहरूमा केही प्रभाव पर्दैन । यसअघिदेखिनै धेरै पटक हामी सुध्रिन्छौ भनेर जनतामाझ वाचा कमस खाएका दलका शीर्ष नेताहरूको एकाधिकारवादी चरित्र सुधान नहुँदाको परिणाम अहिले भोगेका हुन् ।’