२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

एकताको तयारीले नेकपा एसमा भाँडभौलो

shivam cement
जानकी पाठक
२०८२ कार्तिक १४ गते ०६:३०
एकताको तयारीले नेकपा एसमा भाँडभौलो

काठमाडौं : नेकपा एमालेसँग विद्रोह गरेर २०७८ सालमा गठन भएको नेकपा एकीकृत समाजवादीभित्र भाँडभौलो भएको छ । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयलाई लिएर नेताहरूबीच विवाद चर्किएको हो । 

पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहँदा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालले त्यसको विरोध गरेका हुन् । एकताका पक्षमा अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसालसहित बहुमत केन्द्रीय सदस्य  छन् ।  

तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीलगायत पार्टी पुनर्गठन वा एमालेसँग एकता गर्नुपर्छ भन्नेमा पक्षमा उभिएका छन् । उनीहरूबीच आन्तरिक छलफल भइरहेको छ । सम्मानित नेता खनालले अध्यक्ष नेपाललाई माओवादीसँग मिल्नकै लागि एमाले फुटाको हो ? भन्ने प्रश्न गरेका छन् । ‘हामीले विद्रोह किन र के कारणले गरियो भन्ने कुरा खोज्नुपर्छ,’ सम्मानित नेता खनालले भने, ‘दुईवटा वामपन्थी मात्रै एक भएर हुँदैन । सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमा छु । अहिले कार्यगत एकता गर्नुपर्छ । विचार, सिद्धान्त, नीति कार्यक्रम र संगठनमा एकरूपता भयो भने मात्रै एकता हुन्छ ।’

३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा खनाल भुसालसँग करिब सयभन्दा बढी केन्द्रीय सदस्य रहेको सो समूहका नेताहरूले दाबी गरेका छन् । बुधबार सुरु भएको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी भएको बताएका थिए ।  तर इतर समूहका नेताहरूले भने एकताको आधार तय भइनसकेको भन्दै नेतृत्वको निर्णयप्रति कडा प्रतिवाद गरेका हुन् । तर माधव नेपाल पक्षका नेताहरूले भने एकताबाट पछि नहट्ने तयारीमा छन् । एकतामा जान चाहने जान्छन्, नजाने छुट्छन् भन्ने ढंगले प्रस्तुत भएकाले नेकपा एसको आन्तरिक कलह फुटसम्म पुग्ने नेताहरूले स्वीकार गरेका छन् । 

समाजवादीले विचार मिल्ने पार्टीहरूसँग एकताका लागि वार्ता गर्न नेता बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । संयोजक भुसालले बुधबारको बैठकमा पार्टी एकताका लागि पाँचवटा दलसँग छलफल भएको भन्दै प्रगति विवरण सुनाएपछि माओवादीसँगको एकता अघि बढ्ने निश्चित देखिएको हो । माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) वा नेकपा समाजवादीमध्ये एक नाम राख्ने सहमति भइसकेको भुसालले बताए । त्यस्तै, पार्टीको चुनाव चिह्न तारा वा कलममध्ये एक रहने उनको भनाइ छ । नेपालमाथि प्रश्न उठाउँदै आएका खनाललगायतका नेताहरूले बिहीबारको बैठकमा नेतृत्वलाई प्रश्नैप्रश्नको घेरामा पारेका थिए । पोलिटब्युरो सदस्य कुलबहादुर कुँवरले माधव नेपालको मार्गदर्शनबाट अगाडि बढ्नु र एकतामा जानु सर्वोत्तम बाटो भएको बताएका थिए । ‘एकताको विरोध गर्नेहरू प्रतिक्रान्तिकारी हुन्,’ उनले भनेका छन् ।

ADV

सम्बन्धित खबर