
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेपालको इतिहासमा सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको बताएका छन् ।
काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएका भन्ने कुरा ओलीसामु आत्मसमर्पण गर्नुबाहेक अरु केही नभएको समेत बताए ।
एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीकोसामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही हुन नसक्ने उल्लेख गर्दै उनले त्यसै कारण आफूहरूले नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको बताए ।
उहाँले भन्नुभयो,‘सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम भयो । उनको शासनको बारेमा धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता छैन । पार्टी सञ्चालनको उनको तरिकाको बारेमा पनि हामी सबै भुक्तभोगी पनि भएका छौं । त्यसो हुनाले हामीले तिनका विरुद्धमा, एमालेको नेतृत्वको विरुद्धमा हामीले विद्रोहको कुनै औचित्य छैन भन्ने कुराको कुनै तर्क, दम पनि छैन । यी सबै घटनाले त्यसलाई पुष्टि गरेको छ । र अहिले पनि हामीले ठिक गरेका थियौं भनेर यो प्रतिवेदनमा पनि अनेकौ कारणहरू उल्लेख गरिएको छ । यस भन्दा पहिले पनि हामीले महाधिवेशनमा पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ भन्ने अनुमोदन गरेका छौं । केन्दिय कमिटी बैठकमा पनि हामीले पास गरेका छौं । र अहिलेको घटनाक्रमले झन प्रष्ट पारेको छ । त्यसो हुनाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्नेकुरा बाहेक अरु केही हुन सक्दैन । त्यो हामीलाई मन्जुर भएन, स्वीकार्य भएन । त्यसो भएको हुनाले देशभरका कार्यकर्ताहरूको त्यो प्रवृत्तिका विरुद्ध जुध्नका लागि तयार भए । र, हामीले आफैं पार्टी नयाँ पार्टी निर्माण गर्यौं ।’
अध्यक्ष नेपालले ओली प्रवृत्ति मञ्जुर नभएपछि पार्टी कार्यकर्ताहरूकै बलमा नेकपा एस निर्माण गर्नुपरेको समेत बताए ।