२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

नौ दिनसम्म आएन क्षतिको यकिन तथ्यांक

shivam cement
दिवाकर अधिकारी
२०८२ असोज १ गते ०६:३५
नौ दिनसम्म आएन क्षतिको यकिन तथ्यांक

काठमाडौं : मंगलबार निवर्तमान सांसदहरू सिंहदरबार निरीक्षणमा पुगे । तीमध्ये एक हुन्– नेकपा एमालेका निवर्तमान सांसद गोकर्ण विष्ट । सिंहदरबारभित्र जलेका संरचनाहरूको अवलोकन गरेपछि उनले भने, ‘अधिकांश ठाउँमा संरचना ध्वस्त भएका छन् ।’ 

उनका अनुसार सिंहदरबार जल्दा एतिहासिक दस्ताबेजसमेत जलेका छन् । एतिहासिक दस्ताबेजहरू रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ध्वस्त भएको छ । गृहमन्त्रालय ध्वस्त भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहिलो तलामा रहेका डकुमेन्ट जलेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा समेत आगलागीले क्षति भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय पुरै ध्वस्त भएको छ । त्यहाँ रहेका डकुमेन्ट नष्ट भएका छन् ।

सिंहदरबारबाहिर रहेका सर्वोच्च अदालत, संघीय संसद् भवन, देशभरका प्रहरी बिट जलेका छन् । प्रदेश र स्थानीय तहका सरकारी संरचनामा समेत धेरै ठुलो क्षति पुगेको छ ।

एमाले नेता विष्ट भन्छन्, ‘देशका महत्वपूर्ण सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । यो अत्यन्त दुःखदायी अवस्था हो । यसबाट उठ्न ठोस योजनाको आवश्यकता पर्दछ ।’ 

विष्टसहितका एमाले नेताहरूले मंगलबार सिंहदरबारस्थित क्षतिग्रस्त संरचनाको अवलोकन गरेका छन् । सो टोलीमा एमालेका सचिव योगेश भट्टराई, नेता सुनिता बराल, सुहाङ नेम्वाङ, ठाकुर गैरेलगायत रहेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साबिकको ठाउँमा बस्न नसक्ने भएपछि नजिकै गृह मन्त्रालयका लागि तयार पारिएको भवनमा सरेको छ । गृह मन्त्रालय पनि साबिकको ठाउँमा बस्न सक्ने छैन । यसकारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पुरानो भवनमा सरेको छ । 

नेपाल प्रहरी भने देशभर भएको सार्वजनिक र निजी क्षतिको तथ्यांक संकलनको काम भइरहेको बताउँछ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार क्षतिको विवरण संकलन गर्न समिति नै बनेको छ । 

उनले भनेका छन्, ‘देशभरको क्षति आँकलन गर्न अध्यन समिति बनाइएको छ । त्यसको प्रतिवेदन केही दिनमा आउँछ ।’ 

देशभर भएको क्षतिको विवरण संकलन गरिसकेपछि तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने काम छुट्याइनेछ । यसका लागि सरकारले नीति बनाउनसमेत समिति बनाएको हो । तर कसको नेतृत्वमा समिति बनेको र त्यस्तो समितिको म्याद कति रहेको केही खुलाइएको छैन ।

तथापि भदौ २३ गते र २४ गते प्रदर्शन क्रममा भएको क्षतिको विवरण संकलन गर्न राज्य जुटेको प्रहरीको जवाफ छ । तर नौ दिनसम्म देशभर के कति क्षति भएको यकिन तथ्यांक आउन सकेको छैन । यसले पुनर्निर्माणबारे नीति तय गर्न सरकारलाई नै अप्ठ्यारो परेको छ ।

ADV

सम्बन्धित खबर

Advertise